समाचार

एनआईसी बैंकको डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाईनबाटै नयाँ कार्ड आवेदन दिन सकिने

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाईनबाटै नयाँ कार्डको लागि आवेदन दिन सकिने सुविधा ल्याएको छ । यस सुविधामार्फत ग्राहकहरूले जुनसुकै स्थानबाट र जुनसुकै समयमा बैंकको iServe डिजिटल प्लेटफर्म (https://iserve.nicasiabank.com)मार्फत सहज रुपमा यो सुविधा उपभोग गर्न सक्नेछन् ।

समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रममा बैंकले ग्राहकहरूलाई कोरोना भाइरसको यस असहज परिस्थितिमा बैंकसम्म पुग्न नपरोस् भन्ने हेतुले अनलाईनमार्फत यस प्रकारको सुविधा ल्याएको हो ।

यसका लागि ग्राहकले ‘Debit Card Replacement’मा ट्याप गरी आफ्नो नाम, खाता नम्बर र मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ । त्यस लगत्तै आफ्नो बैंकमा दर्ता रहेको मोबाइल नम्बरमा ग्राहकले प्राप्त गरेको ओटीपी राखेर भेरिफिकेसन गर्नुपर्छ । सफलतापूर्वक भेरिफिकेसन भइसकेपछि ग्राहकले कार्ड लिन जाने शाखा छनौट गरी बैंकको नियम एवं शर्तहरूलाई स्वीकार गर्ने र क्याप्चा भरेर अगाडीको प्रक्रियामा प्रवेश गर्नुपर्छ ।

आवेदन सफल भएपछि बैंकले एसएमएसमार्फत खातावालालाई जानकारी गराउनेछ र कार्ड तयार भएपश्चात् बैंकले पुनः एसएमएसबाट छनौट गरेको शाखाबाट डेबिट कार्ड लिनका लागि ग्राहक महानुभावलाई जानकारी गराउँनेछ । यस अनलाईन सुविधाले ग्राहक महानुभावहरूलाई बैंकसम्म पुग्दा लाग्ने समयको बचत हुनुका साथै कोभिड–१९ महामारीको बेला भौतिक दुरी बनाइराख्नुपर्ने आजको टड्कारो आवश्यकतालाई समेत सघाउ पुग्ने विश्वास बैंकले लिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट