समाचार

बाढी प्रभावित मेलम्चीमा पानीजन्य रोगको संक्रमण देखिन थाल्यो

काठमाडौं । बाढी पहिरो प्रभावित क्षेत्र सिन्धुपाल्चोकको मेलम्चीमा पानीजन्य रोगको संक्रमण देखिन थालेको छ। बाढी पहिरोबाट विस्थापित भएका मेलम्चीमा एकै परिवारका पाँच जनामा झाडापखालाको समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दुर्गादत्त चापागाईंले बताए।

उपचारपछि हाल उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए। उनीहरु मेलम्चीको इन्द्रेश्वरी माध्यमिक विद्यालयमा स्थापना गरिएको शिविरमा बसेका थिए। झाडापखाला बाहेक अहिलेसम्म अन्य स्वास्थ्य समस्या नदेखिएको उनले बताए।

उनले भने, ‘एकै परिवारका पाँच जनामा झाडापखाला देखिएको थियो। तर औषधिपछि उहाँहरुको अवस्था अहिले ठिक छ। यो बाहेक सिन्धुपाल्चोकमा अहिलेसम्म अन्य स्वास्थ्य समस्या देखिएको छैन।’

बाढीपछि मेलम्चीमा करिब ६ सय र हेलम्बुमा करिब ५ सय जना विस्थापित भएको कार्यालयले जनाएको छ। शिविरमा हाल आवश्यक पर्ने विभिन्न औषधि र स्वास्थ्यकर्मीहरु खटाइएको प्रमुख चापागाईंले बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *