अर्थ

कोरोनाले निरस बन्यो असारे पन्ध्र

महोत्तरी । हिलाम्य खेतमा छुपुछुपु धान रोपेर मनाइने असारे–१५ पर्व महोत्तरीवासीका लागि यसपालि निरस भएको छ । कोभिड–१९ महाव्याधि सन्त्रासका बीच परेको पर्व बीउ, पानी र जनशक्तिको तारतम्य नमिल्दा निरस बनेको हो ।

बीउको अभावले समयमा ब्याड राख्न नपाएको, पानीको तारतम्य नमिलेको र मुख्य कुरा महाव्याधिले रोपाइँको जनशक्ति व्यवस्थापन गर्न नसकिँदा पर्व निरस बनेको किसान बताउँछन् । “महाव्याधिको चपेटा थियो, समयमा बीउ नपाएर ढिलो भयो, अहिले पानी छैन, रोपाइँका लागि जन(मजदुर) पनि चाहिएका बेला पाइँदैनन्”, बर्दिबास नगरपालिका–९ पशुपतिनगरका किसान रामचन्द्र थापा मगरले भने, “पर्व मनाउने कुरा त उही घरमा बसेर आँप, चिउरा खानुमै रहने भयो ।” पछिल्लोपटक असार–१५ उत्सवमय मनाउने पर्वते परम्पराको यो पर्व यसपालि निरस बनेको थापाको भनाइ छ ।

“हिल्याइएको खेतमा असारे गीतको लयमा रोपाइँको उत्सव मनाउने कुरा त अब पहिलेका कथा भनेर पछिल्लो पुस्तालाई सुनाउनेसम्म मात्र रह्यो”, बर्दिबास–६ किसाननगरका ७५ वर्षीय केदारनाथ पोखरेलले भने, “अब त न रहर देखिन्छ, न रउस नै ।” आपू तन्नेरी हुँदा असारे १५ मनाउन केही दिन पहिलेदेखि नै तयारी हुने गरेको पोखरेल सम्झन्छन् ।

यसअघिका वर्षमा असार १५ भित्र धानखेती गरिने जिल्लाको कूल क्षेत्रफलमध्ये एकचौथाइ जतिमा रोपाइँ भइसक्ने गरेको भए पनि यसपालि भने धान रोपाइँले गति लिनसकेको छैन । जिल्लामा खेतीलाई मुख्य व्यवसाय बनाएका पर्वते (पहाडी) मूलको बसोबास बाहुल्यका बर्दिबास, गौशाला र भङ्गाहा नगर क्षेत्रमा असारे १५ पर्व मनाउने परम्परा छ तर पछिल्लाकालमा नयाँपुस्ता खेती छाड्दै कामका लागि विदेशिने क्रम बाक्लिएपछि पर्व परम्परा हराउँदै गएको भङ्गाहा–४ का ७६ वर्षीय किसान दीपबहादुर फुँयालले बताए ।

चुरे पहाड र नदी क्षेत्रमा अनियन्त्रित उत्खनन बढ्नु र वन मासिँदै गएर सन्तुलित वर्षा हुन छाडेको, जलाधार क्षेत्र मासिँदै गएका र पानीका स्रोतका मुहान मासिने, सुक्ने क्रम बर्सेनि बढ्दै गएपछि समयमा खेती लगाउन पाइने कुरा हराउँदै गएको गौशाला–१० भरतपुरका मनु अधिकारीले बताए । यो प्रतिकूलताले बर्सेनि धानखेतीको क्षेत्रफल घट्दै गएको ६५ वर्षीय अधिकारीको भनाइ छ ।

जिल्लामा ५० हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आइएको भए पनि पछिल्ला केही वर्षयता बर्सेनि यो क्षेत्रफल घट्दो छ । सर्वसाधारण किसानले समयमा बीउ, मल नपाउनु, सिँचाइको भरपर्दो प्रबन्ध हुन नसक्नु, किसानले फसलको उचित मूल्य नपाउनु र कृषि जनशक्ति क्रमशः बाहिरिँदै जानुले यो अवस्था बनेको ग्रामीण किसान बताउँछन् । “भन्न त केन्द्रदेखि स्थानीय तहसम्मका सबै ९तीनै तह० सरकार कृषि प्राथमिकताको पहिलो क्षेत्र रहेको बताउने गरेका सुन्ने गरिएको छ”, भङ्गाहा–५ सीतापुरका ९० वर्षीय किसान मानबहादुर भुजेलले भने, “तर कृषिका नाममा सरकारले दिने सहुलियतचाहिँ टाठाबाठाकै हात पर्छ, सोझा किसान त सधैँ हिस्स १” यही बेथितिले खेतीको आकर्षण घटेको कृषि विज्ञसमेत स्वीकार्छन् । मुख्य मेहनत गर्ने किसानसम्म सहुलियत नपुगेपछि निराशा बढेको लामो समय कृषि क्षेत्रको सरकारी सेवाबाट हाल निवृत्त हुनुभएका भङ्गाहा–६ सग्रामपुरका बासिन्दा कृषिविज्ञ राजकिशोर यादवको भनाइ छ ।

महोत्सवकै रूपमा मनाइने असारे १५ को जीवन्तता हराउँदै गएको पाका किसान बताउँछन् । पछिल्ला केही वर्षयता जनमनको भन्दा पनि असारे १५ कर्मकाण्डी पर्व बन्ने गरेको बर्दिबास–५ गणन्ताका ८० वर्षीय किसान धनबहादुर स्याङ्बा व्यङ्ग्यभावमा बताउछन् । “ठूलाबडा हाकिम जम्मा भएर बीउ हातमा लिएर फुटा फोटो लिएपछि असारे १५ भयो”, स्याङ्बाले भने, “किसानको मन रोओस् कि हाँसोस् १”

जिल्लाकै मुख्य अन्नबाली मानिएको धान रोपाइँ पर्याप्त हुन नसकेपछि यसपालि अन्नको हाहाकार पर्ने छाँट देखिएको बूढापाका लख काट्दै गरेका भेटिन्छन् । कृषि विज्ञहरु भने धान रोपाइँका लागि अहिले निकै समय बाँकी रहेकाले आत्तिने बेला भइनसकेको बताउँछन् । साउन निगल्दोसम्म रोपिएको धान राम्रै फल्ने भएकाले अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको कृषि क्षेत्रको सहसचिव पदको सरकारी सेवाबाट निवृत्त हुनुभएका बर्दिबास–५ चेरुका वाणिकराज काफ्लेले बता । साउन पहिलो सातासम्म रोपाइँ गर्न नसकिँदा भने अन्य बाली लगाउने तयारी भने गर्न विज्ञले किसानलाई सुझाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *