खेलकुद

‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्न सन्दीप बेलायत जाँदै

काठमाडौँ । ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्न नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बेलायत जाँदै छन् । सो प्रतियोगिता खेल्न सन्दीप आजराति टर्कीस एयरबाट त्यसतर्फ जान लागेका हुन् ।

बेलायत पुगेपछि लामिछानेले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने रमन सिवाकोटीले जानकारी दिएका छन् । सो अवधिमा दुई पटकका पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्र लामिछानेले सो प्रतियोगितामा खेल्न पाउने छन् । ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता उनले ओभलबाट खेल्दै छन् ।

द हन्ड्रेड प्रतियोगिता आगामी साउन ७ गतेदेखि शुरु हुँदैछ । लामिछाने सम्मिलित टोली ओभलले उद्घाटन खेल म्यानचेस्टर आर्जिनल्ससँग खेल्नेछ । सो प्रतियोगिता बेलायत र वेल्स क्रिकेटको आयोजनामा पहिलो पटक हुन लागेको हो ।

गत वर्ष हुने भनिएको सो प्रतियोगिता कोरोना भाइरसको महामारीका कारण स्थगन भएको थियो । द हन्ड्रेड क्रिकेट प्रतियोगिताका लागि २० वर्षीय लामिछाने एक लाख पाउण्डमा अनुबन्धित भएका हुन् । द हन्ड्रेड प्रतियोगितापछि उनले क्यारेबीयन प्रिमियर लिग (सिपिएल) खेल्ने तय भएको व्यवस्थापक सिवाकोटीले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *