खेलकुद

कोपा अमेरिकाको उपाधि भिडन्तः ब्राजिल र अर्जेन्टिना

काठमाडौँ । कोपा अमेरिकाको उपाधिका लागि चिरपरिचित दुई प्रतिद्वन्दी ब्राजिल र अर्जेन्टिना भिड्दैछन् । फाइनल खेल ब्राजिलको रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा आईतबार बिहान ५ः४५ बजे सुरु हुनेछ ।

कोपा कोरोना महामारीका कारण एक वर्ष सरेपछि प्रतियोगिता स्थल पनि ब्राजिल सरेको हो। प्रारम्भमा अर्जेन्टिना र कोलम्बिया आयोजक थिए। कोलम्बियामा चर्किएको प्रदर्शन र अर्जेन्टिनामा बढेको कोरोना सङ्क्रमणका कारण ब्राजिलमा प्रतियोगिता सरेको हो।

ब्राजिल र अर्जेन्टिना १४ वर्षपछि कोपा अमेरिकाको फाइनलमा आमने सामने हुने भएका हुन् । साविकको विजेता टोली ब्राजिल उपाधिलाई निरन्तर दिन चाहन्छ भने अर्जेन्टिना जित निकाल्दै उपाधिको खडेरी टार्ने दाउमा छ । जारी प्रतियोगितामा खुवै टोलीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन । पछिल्लो पटक यी दुई टोली २०१९ नोभेम्बरमा भिडेका थिए । २०१९ को कोपा अमेरिकाको सेमिफाइनलमा ब्राजिल विजयी बनेको थियो भने मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले जित हात पारेको थियो ।

दक्षिण अमेरिकाका दुई महारथी अहिलेसम्म १११ पटक आमनेसामने हुँदा अर्जेन्टिनाले ४६ खेल जितेको छ भने ब्राजिलले ४० खेल जितेको छ । बाँकी २५ खेल बराबरीमा सकिएको थियो ।तर, कोपाको फाइनल इतिहास हेर्दा भने अर्जेन्टिना हाबी देखिन्छ । ब्राजिल र अर्जेन्टिना कोपाको फाइनलमा अहिलेसम्म १० पटक भिड्दा आठपटक अर्जेन्टिनाले जितेको छ । ब्राजिलले अर्जेन्टिनाविरुद्ध दुई फाइनल मात्र जितेको छ । अहिलेसम्म २८ पटक फाइनल खेल्दा अर्जेन्टिना १४ पटक च्याम्पियन र १४ पटक नै उपविजेता बनेको छ । त्यस्तै, २० पटक फाइनल पुगेको ब्राजिलले नौपटक उपाधि जित्दा ११ पटक उपविजेता बनेको छ ।

कोपा अमेरिकाकै पछिल्लो ५ खेलमा भने ब्राजिल अर्जेन्टिनाविरुद्ध अपराजित छ । अर्जेन्टिनाले सन् १९९३ मा पछिल्लोपटक कोपा जितेको थियो । त्यसयता कुनै पनि ठूलो प्रतियोगिताको उपाधि जित्न सकेको छैन । २००४ यता अर्जेन्टिनाले चारपटक कोपाको फाइनल र एकपटक विश्वकपको फाइनल खेलिसकेको छ । ब्राजिलले भने सन् २००४ यता तीनपटक उपाधि जितेको छ । ब्राजिल २००४ र २००७ को फाइनलमा अर्जेन्टिनालाई हराएर उपाधि जितेको थियो । त्यस्तै, २०१९ मा भने पेरूलाई घरेलु भूमिमा ३–१ ले हराएर उपाधि जितेको थियो ।

अर्जेन्टिना २०१५ र २०१६ को फाइनलमा चिलीसँग पराजित भएको थियो । सन् २००७, २०१५ र २०१६ मा फाइनल हार्दा मेसी अर्जेन्टिनी टिमको सदस्य थिए । पछिल्लो दुई फाइनलमा मेसी नै कप्तान थिए । अर्कोतिर ब्राजिलियन स्टार नेयमारले भने २०१९ को कोपा चोटका कारण गुमाएका थिए ।

अझ रोचक कुरा के भने जारी प्रतियोगिता एवं अन्तर्राष्ट्रिय फुटबलमा सुपरस्टार मानिएका मेस्सी र नेयमारले कोपा अमेरिकाको उपाधि अहिलेसम्म उचाल्न पाएका छैनन् । दुईमध्ये एकले यस प्रतियोगिताबाट कोपा अमेरिकाको उपाधिमा खाता खोल्नेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *