फिचर

सतार समाज र संस्कृति

मेहनती तथा अत्यन्त सोझो सतार जाति नेपालको झापा, मोरङ र सुनसरी जिल्लामा फैलिएर बसेका छन् । नेपालमा सतारहरू भारतको पश्चिम बङ्गालबाट पसेका हुन सक्ने भनाइ सान्दर्भिक देखिन्छ । किन कि सतारहरू नेपालको आदिवासी होइनन् । यी जाति भारतको सिन्ध र सन्ताल परगाङ भन्ने ठाउँमा बसोबास गर्दै आएका छन् । अझ सतार जाति बङ्गलादेश, श्रीलङ्का र माल्दिभ्स देशहरूमा पनि स्थायी रूपमा बसोबास गर्दै आएका छन् ।


सतार जातिलाई भारतका विभिन्न क्षेत्रमा विभिन्न नामले पुकारिए पनि नेपालमा सतार नामले नै चिनिन्छन् । तर स्वयं सतारहरू आफूलाई सन्तान भन्ने गर्छन् । हिन्दीभाषीहरूले सन्थाल, बङ्गालीभाषी र आसामीयाले साउताल र सोतेल आदि नामकरण गरिएको पाइन्छ । पहिलेका अनुसन्धानले सोतेल लेखेको पाइन्छ । हिन्दु धर्मशास्त्रमा महाभारत तथा रामायणमा पनि निषाद जातिको उल्लेख भएको पाइन्छ । महाभारत भीष्मपर्व, भागवत तथा विष्णु पुराणमा निषाद जातिबारे उल्लेख गरेको भेटिन्छ र यो जातिलाई अनार्य जाति मानिएको छ । निषादहरूको एउट अलग्गै देश रहेको कुरा पनि ती ग्रन्थहरूमा उल्लेख भएको छ । आर्यहरूले निषाद नाम दिएका जातिहरूमा मुण्डा, सन्ताल, खासी, कोक आदि आष्ट्रिक समूहका जाति पर्दथे । मुण्डाको उपजातिलाई सन्थाल भनिन्छ । पन्जाबबाट सन्ताल प्रगन्नामा आएर बसेको यो जातिभन्दा पहिला त्यहाँ बस्ने अर्को जाति थियो, जसलाई सन्थाल भनिन्छ । त्यस जातिसँंग सम्मिश्रण भएकाले त्यस बेलादेखि यो जातिलाई पनि अरूले सन्ताल भन्न थाले भन्ने भनाइ छ ।


सतारहरू आफ्नो जातीय थलो छाडेर नेपाल आउनुपर्ने विभिन्न कारणका बारेमा मदनप्रसाद कटेलको भनाइ यस्ता छन् ः १) बस्ती एकै ठाउँमा गुजुमुज्ज परेको हुनु । यसले गर्दा एक बस्तीको एक परिवारमा सरुवा रोग लागे बस्ती नै सखाप हुने डर हुन्थ्यो । महामारी (दादुरा, हैजाबाट बच्नका लागि परिवारका परिवार बस्ती नै छाडेर हिँड्न थाले । २) अनिकालको कारणबाट पनि कतिपय परिवार आफ्नो जातीय थलो छाड्न थालेको पाइन्छ । यस्ता अनिकाल परेका वर्षहरू क्रमशः १८७१, १८७३ र १८८६ प्रमुख हुन् । ३) समाजमा प्रचलित नियमविपरीत विवाह र अन्य क्रियाकलाप गरेर सामाजिक बहिष्कार हुने डरले भागेका पनि पाइन्छन् । ४) परिवारमा बढ्दो सदस्यताले गर्दा पनि पुख्र्यौलीमा प्राप्त जमिन बटवारा हुँदै गई यसबाट जीवन यापन गर्न कठिन हुँदै गएको कारणबाट यिनीहरू बसाइँ सर्न बाध्य भए र ५) जातीय थलोबाट बसाइँ सर्ने क्रममा नेपालको पूर्वी तराईका मोरङ र झापा जिल्लाको जमिन उब्जाउ भएको र यिनीहरू पनि कृषिमा नै दक्ष भएकाले यस क्षेत्रमा आउन यिनीहरूको विशेष रुचि भएको पाइन्छ ।


सतारहरू नेपाल अधिराज्यका आदिवासी होइनन् भन्ने कुरा स्पष्ट नै भए तापनि यिनीहरू भारतमै पनि कहाँबाट आएका हुन् भन्ने कुरामा विवाद नै छ । कोही यिनीहरूलाई पूर्वतिरबाट आएका भनी मान्दछन् भने कोही यिनीहरू उत्तर–पश्चिम दिशाबाट भारत पसेका हुन् भन्ने ठान्दछन् । आजको भारतमा यिनीहरूको मूल थलो भनी उल्लेख गरिएको सन्याल परगना हाल मिदनापुर, जिल्लावरिपरिका क्षेत्रलाई सोओत भनिने गथ्र्यो र त्यसै सोओतबाट सोओतार सौतार, सतार र सन्याल भएका होलान् भन्ने सम्भावना पनि प्रस्तुत गरिएको पाइन्छ । तर सतारहरूको उद्गमस्थान र माउथलोबारेमा गलफती चलिरहेको भए तापनि सतारहरू स्वयंलाई चाहिँ यस विषयमा कुनै शङ्का छैन ।

सतार झट्ट हेर्दा हप्सी जस्ता देखिन्छन् । यिनीहरूका पालिसदार निकै टल्कने कालो शरीर हुन्छ । प्रायः घुँगुरिएका रौँ हुन्छन् । लोग्नेमानिसले पनि लामो रौँ पाल्दछन् । आदिम सम्झना हुने एउटा फित्ताले निधारबाट कपाल बाँधेको हुन्छन् । यो यिनीहरूको सुसज्जित अवस्था हो । झट्ट हेर्दा स्वास्नीमानिस र लोग्नेमानिसका रौँ उस्तैउस्तै देखिन्छन् । फरक यति हुन्छ कि लोग्नेमानिसले थोरैथोरै टुप्पा काटेको हुन्छन् । यिनीहरूले आफूलाई प्वाँख, फूल र गहनाले सजाउँदछन् । यिनीहरूको ज्यादै कसिलो शरीर र सुडोल बनावट हुन्छ । राजवंशीभन्दा यिनीहरू हट्टाकट्टा र सुडोल र सामूहिक रूपमा सुन्दर पनि हुन्छन् । यिनीहरूको शारीरिक बनावट पनि किञ्चित् ठूलो हुन्छ ।३ सतारहरू गर्मी ठाउँमा बसोबास गर्ने हुँदा हल्का किसिमका लुगाहरू लगाउँछन् । यी जातिले पनि तराई क्षेत्रमा बसोबास गर्ने अन्य जनजातिहरूको जस्तै लुगा लगाउँछन् । पहिरनको हकमा पुरुषहरू धोती, लँगौटी, कछाड, गन्जी र महिलाहरू सारी, चोलो, गरगहनाको हकमा मुन्दा, औँठी, चुरा, पाउजु आदि लगाउँछन् ।
सतारहरूको शारीरिक बनोटलाई झट्ट हेर्दा नेपालको थारू, कुमाल राई र दक्षिण अफ्रिकामा बसोबास गर्ने हब्सीहरूसँग मिल्दोजुल्दो देखिन्छ । शरीरमा कमै लुगा लगाउने, कपाल घुम्रिएको, छालाको रङ काला हुन्छ । यिनीहरू तराईका समथर भूभागमा भाटा, खर र बाँसले बारेर भुइँतले घर बनाएर बस्छन् । फुसको छाना भएका घरहरू झुरुप्प हुन्छ । लिस्याइलो माटोले लिउन हाल्नु, घरअगाडि बाबरीको फूलको बोटका साथै रूख, बयर रोपेका हुन्छन् । सतार जातिको मुख्य पेसा भनेको नै कृषि र सिकार गर्नु हो । सिकार गर्न सतारहरू औधी सिपालु हुन्छन् । जङ्गलमा रूखमाथि रहेका चराचुरुङ्गीहरूलाई वाणले हानेर मार्छन् । फुर्सदको समयमा महिलाहरू घरमा तानद्वारा कपडा बुन्छन् । यिनीहरूले घरमा सुँगुर, कुखुरा, बाख्रा, भेडा आदि घरपालुवा जनावर पाल्छन् । सतारहरू मुसा र बकुलाको सिकार गरी मासु खान मन पराउँछन् । नेपालको जनगणना २०५८ जनगणनाले यिनीहरूको सङ्ख्या ४२६९८ देखाइएको छ भने २०६८ जनगणनाले ५१७३५ देखाइएको छ ।


सतार जातिमा १२ थरहरू हुन्छन् । जस्तै : मुर्म, सेरेन, किस्कु, चोडे, ढुडु, मार्डी, बेसरा, हास्दा, बेधा, पौडियार, बास्ने, हेम्कने । सतार जातिको जातीय र सामाजिक गठन प्रक्रिया हेर्ने हो भने प्रजातान्त्रिक देखिन्छ । प्रत्येक गाउँको विवाद र सानातिना समस्या गाउँमै मिलाइन्छ । उनीहरूको सामाजिक सङ्गठनमा निम्नानुसारको व्यवस्था र पद हुन्छन् । जस्तो : १) माझी २) पाराणिक ३) जगमाझी ४) जग पाराणिक ५) नाइके ६) गोडेल । यिनीहरूलाई पदीय दायित्व पनि दिइएको हुन्छ भने सतार क्षेत्रको व्यवस्था गर्न विचार सभाको पनि व्यवस्था गरिएको हुन्छ । विचार सभा ३ प्रकारका हुन्छन्, जस्तै ः १) गाउँसभा, २) परगना (प्रगन्ना) सभा, ३) सिकार सभा । सबैभन्दा माथि रहेको सिकार सभाको काम र उद्देश्यका बारेमा हालमा सतारहरूले स्पष्ट भन्न सक्दैनन् किनभने यस्तो व्यवस्थाको प्रचलन हाल हराएको छ ।४ सतारहरूको गाउँसमाजमा अहिले पनि आफ्नै किसिमको व्यावहारिक कानुन हुन्छ । गाउँमा कुनै समस्या परेमा गाउँमा नै मिलाइन्छ । गाउँमा सर्वेसर्वा माझी हुन्छन् । माझीको सरसल्लाह र निर्देशनमा नै समाज चलेको हुन्छ ।


हालसम्म उनीहरूले सामाजिक न्यायव्यवस्थाको र सांस्कृतिक परिपाटीको अति राम्रो सुसङ्गठित परम्परा कायमै छ । गाउँभित्र कसैले कुनै प्रकारको नियम भङ्ग गरेमा जरिवाना तिर्ने वा जातसम्बन्धी कामकार्बाहीको सजाय भोग्नुपरेमा सबैलाई भोज खुवाउनुपर्ने चलन छ । कसैले बिहेको नियम भङ्ग गरी गैरजातसँग सम्बन्ध राखेमा वा लोग्नेमानिस –आइमाईका बीच गैरकानुनी सम्बन्ध भएमा सजाय भोग्नुपर्दा सय टपरी भात र सय रुपियाँ जरिवाना तिर्नुृपर्छ । यस्तै कुनै पनि मुद्दा, झगडाको फैसला गरी अपराधीलाई सजाय दिएपछि गाउँको माझमा एउटा ढुङ्गा गाडेर यस सम्बन्धमा कुरा उठ्न नसक्ने गरी फैसला भइसकेको भन्ने सङ्केत गरिन्छ ।


धार्मिक दृष्टिकोणले यिनीहरू साधारणतः हिन्दु भए तापनि यिनीहरूको धार्मिक परम्परा हिन्दुधर्मसँग मिल्ने खालको नभई आफ्नै जातीय परम्परामा आधारित छ । यिनीहरूले मान्ने सबभन्दा ठूलो ‘देवता’ ठाकुर हो । यिनीहरू मराङबुरुको पनि ठूलो आराधना गर्दछन् । मराङबुरुले सतारहरूको उत्पत्तिमा खेलेको भूमिका उल्लेखनीय छ । यसबाहेक यिनीहरू मारेको (अग्नि) भन्ने देवताको पनि पूजा गर्दछन् । आटो बाङ्गा भन्ने यिनीहरूको ग्राम देवता हो । यसको साथ हिन्दुधर्ममा पाइने दुर्गा कालीलाई पनि मान्दछन् । यिनीहरूले ‘मानस’ (पितृहरू) लाई पनि खुसी नै राख्ने प्रयत्न गर्दछन् ।


यिनीहरूको चाडपर्व मुख्य दुईवटा छन् । एउटा धान काटिसकेपछि पुस महिनामा मनाइने सोहराई भन्ने र अर्को वसन्त ऋतुमा मनाइने वहा भन्ने हुन् । योमध्ये सोहराई नै अझ महत्वपूर्ण हो र यस बेला आफ्नो पूर्वजलाई पुज्दछन् । यस बेला कुखुरा, सुँगुर, परेवा, बोका आदिको बलि चढाउँछन् । वहाको पर्वमा यिनीहरूले जङ्गलका देवताहरू पुज्दछन् र सिकार र जङ्गली कन्दमूल बटुल्ने काममा सफलता मिलोस् भनी आसिक माग्दछन् । यिनीहरू ‘छाता पोरब’, ‘कदम उत्सव’ भन्ने चाडहरू पनि मान्दछन् । यसबाहेक यिनीहरूको योरोक, दश र हरियाद भन्ने चाड पनि छन् ।


चाडपर्वमा गीत, बाँसुरी, झ्याली, ढोलकको साथ नाच, खेल र रमितामा मुक्तकण्ठले सबैले भाग लिन्छन् तापनि खास गरी बँैसालुहरूले यस्तो बेलामा बढी मज्जा लिने र रमाउने गर्छन् । यस्तो गीत मौसम र पर्व हेरी दिन र रातमा पनि हुने गर्छ तापनि जुनेली रातमा गीत र नाचविशेष जनप्रिय हुन्छ ।६ अझ धार्मिक र ऐतिहासिक विषयवस्तुलाई समेटेर उत्कृष्ट नाटकहरू प्रर्दशन गर्छन् । नाचहरूमा धामी नाच उत्कृष्ट मानिन्छ । समूहसमूहमा एकैसाथ गीत गाउँदै अघिपछि गर्दै नाच्छन् । विभिन्न चाडपर्व, मेला र उत्सवहरूमा सुख, दुःखका वेदना पोखी सुमधुर स्वरमा गीत गाउँछन् ।


सतारहरूको सङ्गीत र नृत्यप्रति अगाध प्रेम छ । नाचगानलाई देवी प्रसादका रूपमा मान्यता दिने हुनाले यिनीहरूको संस्कृतिमा यसको प्रमुख स्थान भएको हो । यसबारेमा एउटा कथा पनि उनीहरूमा प्रचलित छ । भनिन्छ, एक दिन दुई जना सतार ठिटाले जङ्गलमा एक मधुर गीत सुने । यो कहाँबाट आएको होला भनी रूख चढी हेर्दा उनीहरूले आफ्ना देवताहरू मारेको, जाहेर एडा, माराङबुरु र गोसाइएडा नाचिरहेको देखे । देवताहरूले पनि कुनै मानिसहरूले हेरिरहेको छ भन्ने चाल पाएपछि उनीहरूलाई बोलाएर रातभरि नाचगान सिकाएर भोलिपल्ट एउटा ढोलक दिए र नाचगान अरूलाई पनि सिकाउन भनी फिर्ता पठाइदिए । यसरी सतारहरूमा नाचगानको प्रचलन आएको हो भन्ने यिनीहरूको धारणा छ ।७ चाडपर्व हेरी लय र गीत गाउने भए पनि यिनीहरूका धुन र गीत सीमित छन् । बेला–बेलामा तोकिएका गीत र धुन तोकिएको व्यक्तिले नाच्ने गाउने गर्दछन् कुनै गीतमा सबैले नाच्ने गाउने गर्दछन् भने कुनैमा ठिटाठिटी मात्र । कुनैमा स्वास्नीमानिस मात्र हुन्छन् । त्यस्तै गरी कुनै नाचगान दिनमा हुन्छन् भने कुनै रातमा । नाचगान मुक्तकण्ठले सबैले भाग लिन्छन् । कसैको लाज, शङ्का वा हिचकिचाट हुँदैन । यी सबै अवसरमा बैँसालुहरूले विशेष मोजमज्जा लुट्छन् ।


यस जातिको मुख्य देवता ठाकुर हो । यद्यपि यिनीहरू हिन्दु देवदेवतालाई पनि पूजाआजा गर्छन् भने केही सतारहरू इसाई धर्म मान्ने पनि छन् । यी जातिले वर्षमा ‘सोहराई’ र ‘वहा’ गरी जम्मा दुई चाड धूमधामले मान्दछन् । सोहराई चाड खेतबारीमा धान काटिसकेपछि अर्थात् मङ्सिर महिनातिर मनाउँछन् । यस बेला राँगा, कुखुरा, सँुगुर, बोका आदि काटिन्छ । त्यस्तै वसन्त ऋतुको आगमनसँगै वहा पर्व मनाउँछन् । यो पर्व मनाउने खास उद्देश्य सिकारमा सफलता मिलोस् भन्ने हो ।


सतार जातिको उत्पत्ति कसरी भयो ? भन्ने सम्बन्धमा रोचक कथन छ – पृथ्वीमा कुनै समय पानी नै पानी थियो । जमिनको भाग कतै थिएन । एक दिन ठाकुर देवता र उनका चेला एकै ठाउँमा भेला भई सरसल्लाह गर्ने क्रममा मानवसृष्टिको कुरा चल्यो । त्यस बेला ठाकुर देवताले एक शिष्य चेलाहरूलाई पानी मुनि बस्ने मालिनी बूढीलाई मानवमूर्ति बनाउन निर्देशन दिए । निर्देशनबमोजिम मालिनी बूढीले मानवको मूर्ति बनाइरहेको बेलामा वायुपङ्खी घोडा आएर मूर्ति बिगारिदियो । भत्किएको मूर्ति मालिनी बूढीले पुनः बनाइन् । त्यस मूर्तिमा प्राणप्रतिष्ठा गर्न भनेको ठाउँमा जाँदा पक्षीका प्राण पाई मूर्तिमा उक्त प्राण राखियो । उक्त मूर्ति जोडी भई आकाशमा उड्न थाल्यो । चराहरू बस्ने ठाउँ कहीँ भएन । ती चराहरूले ठाकुर देवतालाई जमिन आवश्यक परेको कुरा निवेदन गरे । ठाकुर देवताले गँड्यौलालाई जमिन बनाउन निर्देशन दिए र ती गँड्यौलाले माटो थुपारी माटोमा रूख (बोटबिरुवा) उमारे । त्यही बोटबिरुवामा एक जोडी चराले गुँड बनाई बसोबास गर्न थाले । पोथी चराले दुईवटा फूल पा¥यो । त्यस फूलबाट दुईवटा मान्छेको जन्म भयो । तिनीहरूलाई खेती किसानी, खाना पकाउन सिकाइयो । जन्मिएका दाजुबहिनीबीच एक दिन जाँडरक्सी खाएको बेलामा मात्तिएर यौन सम्पर्क भयो । कालान्तरमा ७ छोरी र ७ छोरा जन्मियो । एक दिन ती जोडी (दाजु–बहिनी) झगडा भई दाजुपट्टि ७ छोरा र बहिनीपट्टि ७ बहिनी लिई छुट्टिए । एक दिन जङ्गलमा ती भाइ सिकार खेल्न जाँदा ती ७ बहिनी कन्दमूल टिपिरहेको बेलामा भेट भएछ । ती युवायुवतीहरूले आफ्नो नातासम्बन्ध बिर्सिसकेका थिए । एकआपसमा नाचगान गर्ने क्रममा एक÷एक जोडी आफ्नो बाटो लागे । त्यसपछिबाट मानवसृष्टिको सुरुवात भएको हो ।


सतारहरूको आफ्नै भाषा छ । आफ्नो परिवार र समाजमा बहुसङ्ख्यक आफ्नै भाषाको प्रयोग गर्दछन् । अन्य समाजका व्यक्तिहरूसँग बोलीचाली गर्दा सतारहरू नेपाली भाषाको प्रयोग गर्छन् । यस जातिमा पनि अन्य जातिहरूको जस्तो भाषालाई आगामी दिनमा पनि जीवन्त राख्न नसकिने अवस्थामा छ किनकि बहुसङ्ख्यक युवापुस्ता र बालबालिकाहरू नेपाली भाषामा नै बोलीचाली गर्ने भएको हुँदा सतार जातिको भाषालाई लिपि दिने कार्य पं.रघुनाथ मुर्मले गरेका हुन् । वि.सं.१९०५ सालमा भारतको उडिसा राज्यका महुरगन्ज जिल्लामा जन्मेका मुर्मले २५ वर्षको उमेरमा सन्थाल जातिको भाषालाई मौखिक रूपमा लिपि दिई वर्णहरू तयार पारेका थिए ।


जीवनाथ प्रसाईंका अनुसार यो भाषा विभिन्न ठाउँमा केही फरक गरेर बोलिन्छ । कोलरियन (अनार्य) भाषाबाट सन्ताल भाषा प्रभावित भएको हुँदा यसलाई अनार्य भाषा भन्न सकिँदैन । केही शब्दहरू अनार्य भाषासँग मिल्ने भए पनि समग्रमा यो भाषा फरक छ । सन्ताल भाषाको कुनै आफ्नो मौलिक लिपि छैन । सन्ताल भाषामा रोमन अक्षरहरूलाई नै तलमाथि बिन्दुहरू दिँदै केही फरक उच्चारण हुने अर्थमा प्रयोग गरिन्छ ।
नेपालमा बोलिने विभिन्न भाषाहरूमध्ये आग्नेय परिवारको भाषा पर्दछ । सतारहरूले बोलिने भाषा यसै परिवारको मुन्डा वर्गमा पर्दछ र यो भाषा बोल्ने मानिसहरू नेपालमा सतार मात्र हुन् । यिनीहरूको भाषालाई सन्थाल भाषा पनि भनिन्छ । यिनीहरूको आफ्नै भाषा भए पनि लिपि भने आफ्नै छैन । त्यस कारण यिनीहरू रोमन या देवनागरिक लिपि प्रयोग गर्दछन् । यिनीहरूको आफैँले तयार गरेको आफ्नो पुरानो कुनै लिखित साहित्य छैन तापनि सन् १८७१ मा प्रथम पटक प्रकाशित भएको हपडामपुथि उल्लेखनीय छ ।


यो ग्रन्थ जुगिया हडम र केरब साहेब भन्ने दुई जना व्यक्तिहरूले कोलियन बूढासँग (उनी सतार थिए) सोधपुछ गरेर तयार पारेका थिए । यस ग्रन्थमा सन्थाल (सतार) हरूको इतिहास र संस्कृतिको बयान गरिएको छ । यो कुनै धार्मिक ग्रन्थ होइन । तथापि सतारहरू यसलाई पवित्र ग्रन्थको रूपमा मान्छन् । यो ग्रन्थ सतार भाषामा नै लेखिएको छ । हपडामपुथिको शाब्दिक अर्थ भने ‘पूर्वजको किताब’ भन्ने हुन्छ । तसर्थ हपडामपुथि सतारहरूको पूर्वजहरूको इतिहास लेखिएको ग्रन्थ हो ।


सतारहरूको आर्थिक अवस्था ज्यादै नाजुक देखिन्छ । यिनीहरू जसरी आर्थिक विपन्न छन् उसै गरी मानसिक स्तरमा पनि निकै पिछडिएका छन् । यिनीहरू पिछडिनुमा उक्त दुवै कारणमध्ये एकले अर्कालाई मद्दत गर्न नसक्नु हो । एकदुई फाटफुट परिवारबाहेक प्रायः सबै सतार गरिब र अशिक्षित छन् । घर छाप्रो हाल्ने ठाउँमा २-४ कट्ठाबाहेक अरू धन कमाउने साधन हँुदैन । खेतीबाहेक अरू व्यवसाय जानेका पनि हुँदैनन् । यिनीहरूमध्ये कतिपयले अरूको अधिया ठेक्का कमाउने काम गर्दछन् भने कतिपय अरूको हली बसेका हुन्छन् ।

सतारहरूमा आधुनिकीकरणको नयाँ लहर पनि फैलिएको छ । भारतको विभिन्न मिसनरी स्कुलहरूमा यहाँका सतार केटाहरू अध्ययन गरिरहेका छन् । झापामा इसाई धर्म मान्ने सतारहरूको सङ्ख्या धेरै छ । प्रार्थनाको निमित्त देखिने गरी कुनै गिर्जाघर नभए तापनि कुनै निश्चित स्थापना जम्मा भई प्रार्थना गर्दछन् र भारतमा हुने इसाई धर्मसम्बन्धी सभाहरूमा प्रतिनिधिहरू पनि पठाउँछन् । २००७ सालको क्रान्तिपछि यिनीहरूमा निकै जागृति आएको छ । त्यति बेला यिनीहरूले सत्याग्रह र प्रदर्शनहरूमा पनि भाग लिएका थिए । यसरी सतारहरू क्रमशः नेपालको राष्ट्रियताको प्रवाहमा बिस्तारै–बिस्तारै सम्मिश्रण हुन लागेका छन् । २०१५ सालको चुनावमा यिनीहरूले आफ्नो मताधिकार पनि प्रयोग गरे । यिनीहरूको नाचगानको विशेषतालाई ग्राह्यता दिएर केही वर्षपहिले काठमाडौँमा प्रजातन्त्र दिवसको उपलक्ष्यमा प्रदर्शन गरिएको अधिराज्यभरिको सांस्कृतिक कार्यक्रममा पनि यिनीहरूको एक सांस्कृतिक मण्डलले सांस्कृतिक कार्यक्रम प्रदर्शन गरेको थियो ।


सतार जातिमा छोरा र छोरीमा खासै भेदभाव राख्दैनन् । महिलालाई सुत्केरी हुँदा गाह्रो परेमा पहिले–पहिले धामीझाँक्रीलाई देखाइन्छ । यदि सुत्केरी हुन नसकेमा मात्र नजिकको स्वास्थ्य चौकीमा लगिन्छ । सुत्केरी चोख्यान ७ देखि ११ दिनको बीचमा चोख्याइन्छ । जन्मिएको बच्चाको नाम जन्मिएको भोलिपल्ट राख्ने चलन छ । बच्चाको नाम बुबाले महिना, बार, दिन र आफ्नै परिवारका कुनै एक सदस्यको अगाडिको अक्षरबाट राखिन्छ । न्वारान गर्ने कार्यलाई निम्दामडी भनिन्छ र न्वारानको दिनमा इष्टमित्रहरूलाई डाकी भोज खान दिइन्छ ।


यस जातिमा एउटै थरभित्र बिहेबारी चल्दैन । सतारहरूमा विवाह विभिन्न किसिमबाट हुन्छ । यस जातिमा आपङ्गिर वाप्ला (प्रेमविवाह), इतुत वाप्ला (जबरजस्ती विवाह), भाउजू बेहोर्ने प्रथा, ज्वाइँ किपतोल वाप्ला (ज्वाइँ किन्ने विवाह) खाङया वाप्ला (विधवा विवाह), हिरोमा चेतान वाप्ला (बहुविवाह) आदि प्रचलित छन् ।


ज्वाइँ किपतोक वाप्लामा विवाह हुनुभन्दा पहिला केटीले भुँडी बोकेमा अर्थात् विवाह नै नगरी बच्चा जन्मिएमा गर्भ बोकाउने केटा भागेमा सो गर्भ रहेको अर्थात् बच्चा जन्माएको दुवैलाई स्वीकार गरी स्वास्नीका रूपमा राख्ने केटालाई केही चल–अचल सम्पत्ति दिइन्छ । समाजमा राखेर यस्तो कार्य गराउने भएको हुँदा सो विवाहले समाजमा वैधानिकता पाउँछ । दाजु मरेमा विधवा भाउजूलाई देवरले विवाह गर्ने चलन पनि छ । यस्तो विवाह गर्न विधवा भाउजूको स्वीकृत लिनुपर्दछ । अहिले भने यो विवाह खासै देखिँदैन ।


सतार जातिमा बहु–विवाह प्रचलनमा छैन तर यदि पहिलेकी स्वास्नी राजी भएमा अर्को विवाह मागी विवाह जस्तै गरेर गर्न पाइन्छ । विधवा विवाहको प्रचलन भने छ । यो समाजमा विधवा र विदुरलाई घृणा गरिँदैन बरु समाजको मान्यताअनुसार विवाह गर्ने–गराउने गरिन्छ । देवरले भाउजूलाई पनि स्वीकृति लिएर श्रीमती बनाउन पाउने प्रचलन रहेको छ । घरज्वाइँहरू पनि बसेका पाइन्छ । घरज्वाइँ बसेबापत कम्तीमा ५ वर्ष केटीको घरमा केटाले काम गर्नुपर्दछ । केटाले केटीलाई राम्रो मानेर जबरजस्ती सिन्दूर हालेको खण्डमा त्यो विवाह नै भएको मानिन्छ । यसलाई समाजले मान्यता दिएर विवाह गराएन भने त्यो केटी विधवासरह हुन्छे ।१२ केटाले जबरजस्ती गरी गरिने विवाह सबै जाति र समुदायमा पाइन्छ तर केटीले जबरजस्ती गरी विवाह कुनै–कुनै समुदायमा मात्र पाइन्छ । यो विवाह प्रथामा केटीले जबरजस्ती गर्ने भएकाले यसलाई निरवोलक वाप्ला भनिएको हो । यसमा कुनै केटीलाई केटो मन प¥यो भने जाँडको हन्डी बोकी साथीसँग मिली जबरजस्तीसँग केटाको घरमा पस्छिन् । केटीलाई धपाउन केटाकी आमाले फकाउँछन् । यसो गर्दा पनि केही नलागे झ्यालढोका थुनेर आगोमा खुर्सानी राखी धुवाँले कोठा भरिदिन्छन् । यसो गर्दा पनि निश्चित समयभित्र केटी निस्किनन् भने केटीको जित हुन्छ जबरजस्ती निकाल्न पाइँदैन र त्यही घरको बुहारी हुन्छे । उसले रोजेको केटासँग विवाह हुन्छ ।१३ यस प्रथाबाट सतार समुदायमा स्त्री जातिको पनि महत्व र भूमिका छ भन्ने देखिन्छ ।


किरिन बहुवाप्ला केटाका बुबाआमा अर्थात् लमीद्वारा विवाहको कुरा मिलाई विवाह गरिन्छ । विवाह गर्नुअघि विवाह गर्ने निश्चित भएपछि केटापक्षले केटीपक्षलाई चुमान र दुलही पक्षबाट दुलाहा पक्षलाई धोती दिने प्रथा छ । चुमान दिँदा आफूले सकेको रकम दिइन्छ । विवाह गर्ने टुङ्गो दुलाहा पक्ष र दुलही पक्षको भद्र–भलादमीबीच छलफल गरी समय र मिति निर्धारण गर्छन् । दुलाहा र दुलही पक्षबाट निमन्त्रणा पठाउँदा विवाह कुन मितिमा गर्ने हो धागोमा त्यतिवटा गाँठाँ पारेर पठाउँछन् ।

\
दुलाहा पक्षबाट दुलही पक्षको घरमा जन्ती जाँदा बाजागाजाको साथमा जान्छन् । जन्ती सरासर दुलहीको घरतर्फ जाँदैनन् । दुलहीको घरनजिकैको चौतारामुनि बसी बाजा जोड्ले बजाउँछन् । सो बाजाको आवाज सुनेपछि दुलही पक्षहरू आई जन्तीलाई स्वागतका साथ दुलहीको घरतर्फ लग्छन् । घरअगाडि एउटा विवाहको कार्य गर्न मण्डप बनाएका हुन्छन् । उक्त मण्डपमा दुलाहा र दुलहीलाई राखिन्छ र विवाह कार्य सकिएपछि दुलहीलाई डोलीमा राखी गाउँ घुमाउँछन् । गाउँलेहरूले दुलहीलाई आशीर्वाद दिन्छन् र दुलहीलाई पुनः दुलहीको घरमा ल्याई दुलाहा र दुलहीलाई एकै ठाउँमा राखी भोज खान दिन्छन् । त्यस बेला जन्ती र दुलही पक्षका महिलाहरू एकआपसमा मिली नाचगान गर्छन् । जन्तीहरूलाई सम्मानपूर्वक भोज खान दिन्छन् । भोज खाइसकिएपछि जन्तीले दुलाहा र दुलहीलाई लिई दुलाहाको घरतर्फ फर्कन्छन् ।


सतारहरूको मृत्युको संस्कार अन्य जनजातिको तुलनामा खासै फरक देखिँदैन । यस जातिमा लासलाई गाड्ने र पोल्ने दुवै चलन छ । गाउँमा कोही मर्नासाथ गाउँले र छरछिमेक मृतकको घरमा जम्मा हुन्छन् र मृतकको घरमा आउनेले साथमा कुखुराको भाले र खर लिएर आउँछन् । त्यस्तै गरी लोग्नेमान्छेले बन्चरो र स्वास्नीमानिसले साथमा धान लिएर आउने चलन पनि छ । मृत्यु भएको दिन गाउँमा सबैले जुठो बार्छ । लासलाई जलाउने अर्थात् गाड्न लानुअघि मृतकको शरीरमा तेल र टीका लगाइन्छ । लासलाई हरियो बाँसमा बोकेर लगिन्छ । लासको शुद्धिकार्य धामीले गर्छन् । लास जलाउँदा दक्षिण टाउको पारिन्छ मरेको भोलिपल्ट तेल नहाल गरिन्छ, जसले परिवार र गाउँलेहरू शुद्ध हुने विश्वास राखिन्छ । लास जलाइसकेपछि जाँड खाएर सबै आ–आफ्ना घर फर्कन्छन् ।१४ त्यसपछि श्राद्ध गरिन्छ । श्राद्धलाई उनीहरूको भाषामा ‘भाण्डान’ भनिन्छ । श्राद्ध गरेपछि मात्र मृतकको प्रायश्चित्त हुन्छ भन्ने विश्वास उनीहरूमा पाइन्छ । श्राद्धमा कुखुरा, राँगा, खसी, सुँगुर आदि चढाइन्छ र मासु बाँडिन्छ ।
श्राद्धमा रक्सी र मासु खाई आनन्द गरिन्छ तर नाच्न गाउन निषेध छ । मृतकको नाममा प्रत्येक वर्ष श्राद्ध गरिन्छ तर श्राद्ध जहिले पनि मङ्सिर महिनामा गरिन्छ ।१५ बालबालिकाको मृत्यु भएमा लासलाई जलाइँदैन । नदीको किनारमा लगी गाड्छन् । लासलाई जलाएर अर्थात् गाडेर आएपछि मलामीहरूलाई मासु खान दिन्छन् । मृतकको मृत्यु भएको १ वर्षभित्र जुनसुकै बेलामा श्राद्ध गर्ने चलन छ । श्राद्ध गर्दा राँगा, बोका, कुखुरा काटी मलामी जानेहरूलाई डाकी खान दिन्छन् ।

इसाई सतारहरूले इसाई धर्मअनुसार मृतकलाई गाड्दछन् र आत्माले शान्ति पाओस् भनेर भगवान् यिसुको प्रार्थना गर्दछन् । मृत्युसंस्कार सकेपछि घरमा आई भोज गरेपछि सकिन्छ । मृतकको छोराले वा नभए छोरा पर्नेले एक दिन बार्छ । सबै छोराले किरिया गर्नु पर्दैन । जोसुकै एउटाले गरे हुन्छ ।१६ सतार जातिमा ठाउँअनुसारको मृत्युसंस्कार भिन्न–भिन्न किसिमले गरिन्छ । जेजस्तो तरिकाले गरे तापनि एक दिनमा नै सक्याउँछन् ।

फुटनोट
१. दाहाल, चिन्तामणि, सांस्कृतिक विविध पक्षमा गनगाई र सतार जाति, शोधग्रन्थ (त्रि.वि.काठमाडौँ) २०४०, पृष्ठ ४८ ।
२. शर्मा, नगेन्द्र, नेपाली जनजीवन, साझा प्रकाशन काठमाडौँ, २०५२,
पृष्ठ १२० ।
३. पन्त शास्त्रदत्त, झापाका आदिवासी (सा.प्र.काठमाडौ) २०४१, पृष्ठ १३ ।
४. दाहाल, चिन्तामणि, सतार जातिको परिचय, ‘प्रज्ञा’ सोधमूलक अर्धवार्षिक (ने.प्र.प्र काठमाडौँ) २०५१–२०५२, असार–माघ पूर्णाङ्क ८२ (क) वर्ष २५–२६, पृष्ठ ८२ ।
५. क्जचभकतजब, म्द्य ७ यतजभचक (भ्तजलष्अ नचयगउक या ल्भउब िबलम तजभष्च धबथ या ीष्खष्लन प्बतजmबलमग।ज्ञढठद्दए।ज्ञठ (ज्ञड।
६. विष्ट, डोरबहादुर, सबै जातको फूलबारी (साझा प्रकाशन काठमाडौँ), पृष्ठ १०४, १०५ ।
७. शर्मा, पूर्ववत्, पृष्ठ १२३ ।
८. शास्त्रदत्त, पूर्ववत्, पृष्ठ ५५, ५६ ।
९. लम्साल, अपारकुमार, पूर्वी नेपालका सतारहरूको संस्कृति, गरिमा (साझा प्रकाशन ः काठमाडौँ) वर्ष ः२१, अङ्क–९, पूर्णाङ्क २०९, भदौ २०६०, पृष्ठ ७३ ।
१०. पन्त–पूर्ववत्, पृष्ठ ४८ ।
११. मेचीदेखि महाकाली भाग–१, सूचना विभाग, २०३१, पृष्ठ २९६ ।
१२. तिम्सिना, खेमराज– सोझा अति सतार जाति, राजधानी दैनिक उत्सर्ग प्रकाशन प्रा.लि.काठमाडौँ २०५८, माघ २३ गते, पृष्ठ पाँचौँ ।
१३. सूचना विभाग, पूर्ववत्, पृष्ठ २३४ ।
१४. तिम्सिना, पूर्ववत् ।
१५. सूचना विभाग, पूर्ववत् ।
१६. दाहाल, पूर्ववत् (प्रज्ञा), पृष्ठ ९६ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट