विचार

देउवालाई शुभकामना !

एक सय पैसठी निर्वाचन क्षेत्रमध्ये जम्माजम्मी तेइस (२३) निर्वाचन क्षेत्रमा विजय हासिल गरेको पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँचौं पटक प्रधानमन्त्री बन्ने सौभाग्य र अवसर प्राप्त गरेका छन् । यो अवसर त्यस्तो बेलामा प्राप्त भएको छ, कि एकीकृत भएको दुई पार्टी एमाले र माओवादी केन्द्र विभाजित भएका तथा एमालेभित्रका २६–२७ प्रतिनिधिसभा सदस्यले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीका विरुद्ध विपक्षी दलका नेता शेरबहादुर देउवालाई आफ्नो समर्थन रहेको निवेदन सम्मानित सर्वोच्च अदालतमा गरेका थिए । ओलीले भनेजस्तै देउवा जनादेश होइन परमादेशबाट देशको प्रधानमन्त्री नियुक्त भएका हुन् । अब ओलीले के गरे, के गरेनन्, किन यो स्थिति आयो ? यो विगत भएको छ । पचास वर्ष हामी शासन गछौं भन्ने ओलीको दम्भ र अहंकार गल्यामगुर्लम्म भएको मात्र होइन, देउवा कांग्रेसका अन्तिम प्रधानमन्त्री हुन भन्ने अभिव्यक्ति मिथ्या साबित भएको छ । इतिहासले नयाँ कोर्ष लिएको छ, यसको राजनीतिक निकास र भविष्य कस्तो हुन्छ के कस्तो दुष्परिणाम आउँछन्, त्यो हेर्न धैर्यता नै गर्नुपर्छ ।

तर कांगे्रस सभापति देउवालाई इतिहासमा विरलै पाइने अवसर प्राप्त भएको छ । यसअघि गिरिजाप्रसाद कोइरालालाई माओवादीलाई शान्ति प्रकृयामा ल्याई गणतन्त्रसम्मको यात्रा गर्दा विगतको छवी सुधार गर्ने मौका प्राप्त भएजस्तै देउवालाई पनि आफ्नो राजनीतिक जीवनको उत्तरार्धमा सच्चाउने सावित गर्ने र प्रमाणित गराउने मौका मिलेको छ । ज्योतिषीले भनेजस्तै सात पटक प्रधानमन्त्री हुने योग भएजस्तो नै देखिन्छ । सवाल प्रधानमनत्री कतिपटक हुनेभन्दा पनि आफूलाई कसरी देश र जनताप्रति समर्पित र इमान्दार भएको प्रमाणित गराउने भन्ने मुख्य चुनौति प्रधानमन्त्री देउवाका सामु खडा भएको छ । प्रधानमन्त्रीको रुपमा विगत सन्तोषजनक छैन । थुप्रै आरोप, आशंका तथा बेइमानीको फेहरिस्ता प्रस्तुत भएको छ । त्यसलाई सच्चाउने र आफ्नो राजनीतिक जीवनलाई सार्थक बनाउने अन्तरिम अवस्था हो भन्ने देउवाले बुझे र उनलाई उनका सहयोगी, परिवार र नातागोताले त्यही अर्थमा सहयोग पु-याए भने विगतको बिग्रिएको छवी सुधार हुनसक्छ ।

सरकार सञ्चालन निश्चय नै सजिलो छैन । विश्वासको मत प्राप्त गर्न नै असजिलो देखिन्छ । राष्ट्रपति कार्यालय र सर्वोच्च अदालतमा हस्ताक्षर गर्ने एमालेका सांसदहरुले विश्वासको मत दिएनन भन्ने संसदले पूरा समय काम गर्न सक्ने छैन । एमालेभित्रको आन्तरिम शक्ति सन्तुलनले आश्वस्त हुने अवस्था देखिँदैन । सन्तुलन मिलाएर सरकार बनाउन र चलाउन कठिन छ । ओलीले अस्तव्यस्त बनाएको राज्य सञ्चालन समाल्न यसै सजिलो छैन, त्यसमा पनि कोरोना महामहारी यसले थिलथिलो भएको अर्थतन्त्र, खोपको व्ययवस्थापन सम्भावित बाढीपहिरो र आफ्नै पार्टीको महाधिवेशन सम्पनन गर्ने विषय जटिलतम छन् । यसको व्यवस्थापनमा सरकार कसरी लाग्छ, सहयोगी दलहरुको भूमिका के कस्तो हुन्छ ? तयसले धेरै कुरा निर्धारण हुनेछ । यसका अतिरिक्र देउवा आफैले व्यक्तिगत, दलगत र पारिवारिक सन्तुलन र व्यवस्थापन अनि राजकाजमा हुने हस्तक्षेपलाई कसरी नियन्त्रण गर्छन् त्यसले भोलिको परिणाम देखिने छ । यसमा सल्लाहकारहरुको छनोटले पनि भूमिका निर्वाहा हुनेछ ।

निश्चिय नै देउवा सुदूरपश्चिमका शेर नै हुन् । जानकारहरु भन्छन्, जोगबुढाको शेर आजकल शिवपुरीतिर बाघिनीसँगको सहवासमा छन् त्यसले आफ्नो थाँतथलो र विगत अली भुलेको हो कि भन्ने लाग्छ । विक्रम सम्वत्को दोस्रो दशकतिर डडेलधुराबाट काठमाडौं आउनु नै ठूलो छलाङ थियो, त्यसमाथि पञ्चायतका विरुद्ध आन्दोलित हुनु र जेलजीवन व्यतित गर्नु सामान्य थिएन । देउवालाई साथ दिने घरेलु कार्यालयमा काम गर्ने जोशी परिवारको अहिले के अवस्था छ ? थाहा भएन । बहुदल आउनु, सुदूरपश्चिममा १९ मध्ये १८ सिट जित्नु, गृहमन्त्री हुनु, तत्कालीन अमेरिकी राजदूत जुलिया चाङ ब्लकको सिफारिसमा डा. आरजु राणासँग विवाह हुनु कोइरालाको विश्वास पात्र भएर काम गरेका देउवाविरुद्धमा उत्रनु र देशको प्रधानमन्त्री हुँदै कांग्रेसको सभापतिसमेत बन्नु वास्तवमा उनको जीवनका छलाङ नै छन् । पाँच पटकसम्म प्रधानमन्त्री बन्नु र थप दुई पटक हुने योग सुनाउनु इतिहास रच्ने सन्दर्भ र प्रसँग हुन् । तर यसबाट देशले जनताले र कांगे्रस पार्टीले के पायो, कस्ता प्रभाव प¥यो, परिणाम कस्तो आयो ? देउवाप्रतिको आस्था, विश्वास र बुझाई के कस्तो छ ? त्यो सबैभन्दा महत्वपूर्ण र यस घडीमा सुक्ष्म विश्लेषण गरी अगाडिको यात्रा तय गर्नुपर्ने सन्दर्भ हो ।

जनाधार भएका इमान्दार, निष्ठावान र राम्रो चरित्र भएका व्यक्तिहरुको सहयोगी समूह निर्माण पहिलो आवश्यकता हो । आर्थिक चलखेलको विषयमा आम मानिसले बुझने र देख्ने गरी कदम चाल्नु दोस्रो अपरिहार्यता हो भने नातेदार, परिवार र विशेष गरी श्रीमति आरजु राणा देउवार्ला राजकाजमा महत्वपूर्ण विषय, नियुक्ति, सिफारिस र हस्तक्षेपबाट टाढा राख्नु र रहनु अर्को अत्यावशयक विषय हो । हरेक नियुक्ति, निर्णय र सिफारिसमा लेनदेनको आरोप लाग्नु राम्रो हुँदै होइन । देउवालाई सफल बनाउने हो र विगतका आरोपबाट मुक्त गर्ने हो भने श्रीमति आरजु राणा देउवाले समेत अहस्तक्षेपको पारदर्शी उदाहरण प्रस्तुत गर्नसक्नु पर्नेछ । नेपाल र दाहालले मायाले बोकेका होइनन भन्ने सबैले बुझेका छन् । दाहालले त सहकार्य नै तोडी ओलीसँग एकता गरेका हुन् ।

माधव नेपालको ओलीविरोधी अभियान र कदमको उपजको रुपमा देउवाको तालुमा आलु फलेको हो । उनीहरुको बाध्यता र देउवाको आवश्यकताको सुन्दर संयोजन भएन भने सरकार सञ्चालनमा कठिनाइ आउने छ । सच्चाउनुपर्ने विषयमा देउवा कठोर भएनन् भने आम जनताको बुझाइमा फरक आउने छैन । यो दुर्लभ अवसर हो, यसको सदुपयोग गरी विगतको गल्ती र त्रुटिबाट पाठ सिक्ने अठोट र संकल्प आवश्यक छ । परिवारले, नातेदारले, घरले र निकटका साथीहरुले देउवालाई सफल बनाउन चाहेका हुन वा थप बद्नाम गर्न खोजेका छन् ? त्यसको स्पष्ट जवाफ यो पटक आउने नै छ । तीतो सत्य के हो भने देउवा धेरै आशा गरिएका पात्र होइनन, सहयोग गर्ने अन्य दलहरुले भीरबाट लड्न लागेको भएर सिस्नो समातेका हुन् । देउवालाई प्रधानमन्त्री बनाएर भीरबाट लड्नु परेन तर हात पोलिरहेको छ भनी रातो डाबर देखाइरहेका छन् । त्यसको उचित राजनीतिक उपचार इमान्दारिता, निष्ठा र निस्कलंक राजकाज नै हो । त्यसतर्फको याामा एकाग्रह भएर अगाडि बढ्ने संकल्प आजको चुनौति हो । गम्भीरतापूर्वक सबैले हेरेका छन्, स्वार्थ समूह, व्यापारी, ठेकेदार लम्पट कार्यकर्ता मौकामा चौका हान्न तम्तयार देखिन्छन् । बद्नाम बनाउने देउवालाई फाइदा लिने स्वार्थ समूह हुने नियति नदोहोरियोस् । कांग्रेस सभापतिलाई बद्नाम गर्ने काम घर परिवार, नातेदार र नजिकका कार्यकर्ता, नेता कसैबाट नहोस् । प्राप्त अवसरलाई देश र जनताको हित र शासन प्रणालीको विश्वसनीयता कायम राख्न सदुपयोग गर्न सफलता मिलोस् । उत्तरार्धमा प्राप्त मौकाको बढीभन्दा बढी प्रयोग राजनीतिक विश्वसनीयता स्थापितमा खर्च होस्, देउवालाई शुभकामना !

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *