समाचार

यसरी पुग्दैछ प्रधानमन्त्री देउवालाई विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको आइतबार बस्ने पहिलो बैठकबाटै विश्वासको मत लिने भएका छन् । आज प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।

संवैधानिक व्यवस्थाअनुसार संसद बैठक सुरु भएको एक महिना त्र विश्वसको मत लिनुपर्ने प्रावधान भए पनि देउवाले पहिलो दिन नै विश्वासको मत लिन लागेका हुन् ।

पाँच दलीय गठवन्धनमा कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र यादव पक्ष र राजमो सामेल छन् । अहिलेसम्म कांग्रेस, माओवादी केन्द्र, जसपा र राजमो मात्रै खुलेका छन् । एमालेको माधव समूहले अहिलेसम्म औपचारिक निर्णय गरेको छैन । एमालेको संस्थापन पक्षले देउवालाई विश्वासको मत नदिने निर्णय गरेको मात्र छैन, देउवालाई विश्वासको मत दिनेहरू एमाले हुनै नसक्ने आइतबारको स्थायी कमिटी बैठकले निर्णय गरेको छ ।

संविधानको धारा ७६ (५) अनुसार यसअघि राष्ट्रपति कार्यालयमा पेश भएको देउवाको दावी र तत्कालीन प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा समेत प्रतिनिधिसभाका बहुमत सदस्यहरुले हस्ताक्षर गरेका छन् । विपक्षी गठवन्धनमा अहिलेसम्म कुनै खटपट नदेखिएकाले यसअघि हस्ताक्षर भएको मत देउवाको पक्षमा विश्वासको मतका रुपमा जाहेर हुने सम्भावना देखिएको छ ।

जसपामा रहेका केही सांसद उपेन्द्र यादवको पक्षमा थपिएकाले यसअघिको मतमा देउवाले थप मत पाउने देखिएको छ ।

प्रतिनिधिसभाबाट विश्वासको मत हासिल गर्न एक सय ३६ मत आवश्यक छ। नेपाली कांग्रेसको ६३ सांसदमध्ये ६१ ले देउवालाई मत दिन पाउँछन्। विजयकुमार गच्छदार र मोहम्मद अफताव आलम निलम्बनमा छन्।

माओवादी केन्द्रका ४८ सांसदको समर्थन देउवालाई हुनेछ। विगतमा ५३ सांसद भए पनि लेखराज भट्ट र टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र प्रभु साह सांसद छैनन्। सभामुख अग्नि सापकोटाले बराबर भएको अवस्थामा मत दिन पाउने छन्। स्वतन्त्र रूपमा निर्वाचित छक्कबहादुर लामा पछिल्लो समय माओवादीमै फर्किसकेका छन् ।

जसपाका ३४ सांसदमध्ये उपेन्द्र यादव पक्षमा १८ सांसद पुगेका छन्। देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा रिट दायर गर्ने बेला यादव पक्षका सांसद १२ जनाले मात्र हस्ताक्षर गरेका थिए। तर ओली सरकारको विस्थापनसँगै यादवको पक्षमा १८ सांसद पुगेका छन्। राष्ट्रिय जनमोर्चाको एक मात्र सांसद दुर्गा पौडेलले देउवालाई मत दिनेछन्।

कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा, स्वतन्त्र सांसद लामाको संख्या जोड्दा देउवाको पक्षमा एक सय २९ सांसद पुग्छन्। यस्तो अवस्थामा माधव नेपाल पक्षका सात सांसद भए देउवालाई बहुमत पुग्नेछ। यसो गर्दा देउवाको पक्षमा विश्वासको मत दिने सांसदहरुको संख्या एक सय ५१ मत पुग्नेछ।

सर्वोच्च अदालतले संविधानको धारा ७६ को ५ बमोजिम प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रियामा दलीय ह्विप नलाग्ने ब्याख्या गरेकाले देउवालाई विश्वासको मतका लागि आवश्यक पर्ने सात मत दिएर विश्वासको मत पुर्याइदिने बाँकी नेपाल पक्षका सांसद तटस्थ बस्ने सम्भावना रहेको बुझिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट