विचार

प्रधानमन्त्री देउवाको सामथ्र्यः विपक्षी पनि नतमस्तक

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट करिब दुई तिहाइ बहुमत हासिल गर्नुभएको छ । गत आमनिर्वाचनमा दुई सय ७५ मध्ये जम्मा ६३ सिट हासिल गरेको पार्टी नेपाली कांग्रेसका सभापति देउवा साढे तीन वर्षपछि असार २९ गते प्रधानमन्त्री नियुक्त हुँदै गर्दा मुलुकको राजनीतिमा एक खालको तरंग उत्पन्न भएको थियो । राष्ट्रपतिसमक्ष हस्ताक्षर बुझाउने एक सय ४९ र सर्वोच्च अदालतमा रिट निवेदन दिने एक सय ४६ सांसदहरूको बलमा प्रधानमन्त्री नियुक्त हुनु भएका देउवाले साउन ३ गते आइतबार प्रतिनिधिसभाको विश्वासको मत लिँदा एक सय ६५ जना सांसदहरूको साथ पाउनुभयो । निवर्तमान प्रधानमन्त्री केपी ओलीका अत्यन्त निकट मानिएका चारजना सांसदहरूको मतसमेत देउवाले प्राप्त गर्नुभयो ।

गत आमनिर्वाचनमार्फत करिब दुई तिहाइ बहुमतका साथ प्रधानमन्त्री नियुक्त भएका ओली ८३ सिटमा खुम्चिँदै पतन हुनु र ६३ सिट हासिल गरेको पार्टीका नेता देउवा एक सय ६५ सांसदहरूको समर्थनका साथ उदाउनुमा संयोग मात्रै भएको टिप्पणी गर्नेहरू पनि धेरै छन् । सरसर्ती हेर्दा यो घटना संयोग हो कि जस्तो पनि देखिन्छ । गत आमनिर्वाचनमा वाम गठबन्धन हुँदै बनेको नेकपामा बिग्रह आउनु, नेकपाको बिग्रहपछि सबैभन्दा ठूलो पार्टीका रूपमा अस्तित्वमा आएको एमालेमा फेरि बिग्रह आउनुलगायतका कारण देउवाले नसोचेको सफलता पाएको विश्लेषण गर्नेहरू पनि उल्लेख्य छन् । सरसर्ती हेर्दा यो विश्लेषणलाई गलत भन्न सकिन्न । तर मुलुकको राजनीतिमा नेपथ्यभित्र लुकेका परिघटनाका बारेमा थोरै विश्लेषकहरूको मात्रै ध्यान जाने गरेको देखिन्छ ।

गत आमनिर्वाचनको परिणाम सार्वजनिक भएपछि नेपाली कांग्रेसभित्र एउटा अनुमान निकै चर्चामा थियो । त्यो अनुमान थियो– ‘जसरी पार्टीको पराजयपछि २०५१ सालमा तत्कालीन नेता गिरिजाप्रसाद कोइरालाले संसदीय दलको नेता पदको दाबी छाडेर नयाँ पुस्तालाई सुम्पेका थिए, त्यसरी नै अब देउवाले पनि संसदीय दलको नेता पदको दाबी छाडेर नयाँ पुस्तालाई सुम्पने छन् ।’ यही अनुमानका बीच नेपाली कांग्रेसको संसदीय दलको नेता पदमा निर्वाचन हुने भयो । तर अनुमान गरिएको जस्तो भएन । सभापति देउवाले संसदीय दलको नेता पदमा आफ्नो दाबी प्रस्तुत गर्नुभयो । आफूभन्दा धेरै नै जुनियर प्रकाशमान सिंहसँग प्रतिस्पर्धा गर्ने क्रममा देउवाले १९ का विरुद्ध ४४ मत प्राप्त गर्नुभयो ।

आखिर देउवा केका लागि संसदीय दलको नेता बन्नुभयो त ? भन्ने प्रश्नमा पत्रकारहरूको एक जमघटमा छलफल हुँदै गर्दा एकजना भारतीय पत्रकारले नेपालका समकालीन नेताहरूबारे आफ्नो अनुभव सुनाउँदै भनेका थिए– ‘नेपालमा नेता भनेका तीनजना छन्, प्रचण्ड, ओली र देउवा । यीमध्ये प्रचण्ड बाठा पनि छन्, टाठा पनि छन् । ओली टाठा मात्रै छन्, बाठा छैनन् । देउवा टाठा छैनन्, तर बाठा छन् ।’ देउवाको बठ्याइँबारे भविष्यवाणी गर्दै उनले भनेका थिए– ‘देउवा संसदीय दलको नेता बन्नुको अर्थ हो, ओली सरकार बढीमा तीन वर्ष टिक्छ, त्यसपछि सरकारको नेतृत्व गर्ने अवसर नेपाली कांग्रेसको काँधमा आउँछ ।’

त्यतिबेला देउवाको सट्टा अर्को कुनै व्याक्ति संसदीय दलको नेता बनेको भए यतिबेला नेपाली कांग्रेसका लागि यो ऐतिहासिक अवसर प्राप्त हुन्थ्यो कि हुँदैनथ्यो होला ? भन्ने प्रश्नको उत्तर नेपाली कांग्रेसका हरेक कार्यकर्ताले जान्न जरुरी छ । यति उत्तर पनि नजान्नेहरूले कांग्रेसका कार्यकर्ता बन्ने योग्यता राख्दैनन् । विगतमा रामचन्द्र पौडेलले १७ पटकसम्म प्रधानमन्त्री पदमा चुनाव हारेको उदाहरण नै यो प्रश्नको उत्तर हो । यदि त्यतिबेला पौडेलको सट्टा नेपाली कांग्रेसले देउवालाई उम्मेदवार बनाएको भए पहिलो चरणको मतदानमै खेल फाइनल भइसक्थ्यो । १७–१७ पटक प्रयास गर्दा पनि हात लाग्यो शून्य हुँदैनथ्यो । त्यतिबेला देउवालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएको भए, संविधानसभाको दोस्रो निर्वाचनमा मुलुकलाई हुल्नु पर्दैनथ्यो । त्यही संविधानसभाअन्तर्गत नेपाली कांग्रेसको नेतृत्वमा संविधान जारी हुन्थ्यो ।

प्रधानमन्त्री बन्ने रहर त राजनीतिमा लाग्ने सबैलाई हुन्छ । आफ्नो बलबुत्ताले भेटेसम्म प्रयत्न सबैले गर्छन्, तर मुख्य कुरा बलबुत्ता र सामथ्र्यको हो । देउवाले कतिसम्म सामथ्र्य राख्नुभयो भने तनहुँका तिनै किसान श्रेष्ठ भन्ने व्यक्ति हुन्, जसले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्री ओलीको आडमा डेढ वर्षअघि गृहजिल्लाबाटै खेदे, तर तिनै किसान श्रेष्ठको मतसमेत देउवाले यतिबेला आफ्नो पक्षमा हासिल गर्नुभयो । नेताको व्यक्तिगत क्षमता राजनीतिमा सबैभन्दा महत्वपूर्ण हुँदोरहेछ भन्ने कुरा कांग्रेस सभापति देउवाले फेरि पनि प्रमाणित गरेर देखाउनुभएको छ ।

आगामी १४ औं महाधिवेशनमा देउवालाई सर्वसम्मत सभापति बनाउनुबाहेक अर्को विकल्प छैन भन्ने महसुस गर्न कांग्रेसका अन्य नेता तथा कार्यकर्ताले अब कत्ति पनि ढिलाइ गर्नु हुँदैन । तर प्रधानमन्त्रीका रूपमा देउवाका चुनौती कम छैनन् । उमेरका कारणले पनि देउवासँग अब धेरै समय छैन । विगतमा चारपटक प्रधानमन्त्री बन्दा राम्रा नराम्रा दुवै नजिर दोहोरिएका छन् । विगतका राम्रा मात्रै नजिर दोहो¥याउनु जरुरी छ । जसका लागि राम्रो टिम चाहिन्छ ।

प्रधानमन्त्री देउवालाई मत दिने एक सय ६५ मध्ये एक सय चारजना सांसद अरु पार्टीका हुन् । त्यसैले २५ वटा मन्त्रालयमध्ये नेपाली कांग्रेसले प्राप्त गर्ने भनेको बढीमा आठवटा हो । यी आठवटा मन्त्रालयमा पनि नेपाली कांग्रेसभित्र गुटगत भागबन्डा भयो भने ज्यादै दुर्भाग्य हुनेछ । आफ्नो पार्टीबाट आठजना मन्त्री छान्ने मामिलामा प्रधानमन्त्री एवं पार्टी सभापति देउवासँग बार्गेनिङ गर्ने हर्कत कांग्रेसको कुनै गुट वा उपगुटले नदोहो¥याओस् । यतिबेला कांग्रेसभित्र भागबन्डाको एजेन्डाले कुनै पनि हालतमा प्रवेश पाउनु हुन्न । देउवाको सत्तारोहणका हरेक पलपललाई नेपाली जनताले नजिकबाट नियालिरहेका छन् ।

मस्ती गर्नका लागि प्राप्त भएको अवसर होइन यो । यतिबेला मुलुक ज्यादै जटिल परिस्थितिमा छ । संविधानले रक्षाको भीख मागिरहेको अवस्था छ । जनताहरू शोक, भोक र महामारीले ग्रस्त छन् । आलो घाउमा मल्हम लगाउने एउटा अनुभवी नेता प्राप्त भएको महसुस जनताले गरेका छन् । देशले समृद्धिको यात्रा तय गर्न सकेको छैन, सुशासन कानुनका पानामा मात्र सीमित देखिएको अवस्था छ । पूर्ववर्ती ओली सरकारका चाङका चाङ आश्वासनहरूले जनताको जीवनयापन कठिन बन्दै गहिरहेको छ । देशी–विदेशी शक्तिहरूले नेपाल र नेपालीको कमजोरीमा खेल्ने चेष्टा गरिरहेका छन् । उत्तर दक्षिणका खेलहरू सलबलाउँदै गरेको अवस्था छ । नेपालीहरूको अपूरो र अधुरो सपना चकनाचुर हुनवाट बचाउने ठूलो जिम्मेवारी देउवाको काँधमा छ । भ्रष्टाचारको जरोले देश जकडिएको छ । कानुन उल्लंघनका घटनाहरू दिनानुदिन बढ्दै गहिरहेको अवस्था छ । राष्ट्रवादको बिल्ला लगाएर जनताको मनोभावनासँग खेल्ने प्रवृत्ति हाबी हुँदै गएको छ । आफू केही गर्न नसक्ने अनि देशी–विदेशी शक्तिहरूले केही गर्न दिएनन् भन्ने प्रवृत्ति हाबी हुँदै गएको छ ।

देशको सम्पूर्ण शक्ति एकत्रित गर्दै कोरोना संक्रमणसँग लड्दै रोग, भोक र शोकबाट नेपाली जनतालाई बचाउने पहिलो दायित्व हो । कूटनीतिक माध्यमबाट छिमेकी मुलुकहरूसँग सन्तुलित सम्बन्ध स्थापित गर्नुपर्ने अपरिहार्यता पनि त्यत्तिकै छ । कोरोना महामारीले थलिएको अर्थतन्त्रको सिकार बनेका नेपाली जनताहरूले शोक र भोकले अकालमा ज्यान गुमाउनुपर्ने अवस्थालाई तत्काल अन्त्य गर्नु जरुरी छ ।

लक्ष्मण चौधरीका सन्दर्भमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदै गर्दा तीनपुस्ते खोलिसक्नुभएको छ । भ्रष्टाचारजन्य क्रियाकलाप तथा आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोप लागेका र कानुनले सजाय तोकेका व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउने देउवाको प्रतिबद्धतालाई मूर्तरूप दिनु आजको आवश्यकता हो । नेपाली जनता महामारीमा शोक र भोकको पीडामा छन्, कम्तीमा पनि गरिबको भान्सामा चामल र दाउराको व्यवस्था गर्ने अभियान चलाउनुपर्नेछ । गरिब र निमुखाको पक्षमा बोल्ने तथा निर्णय गर्ने संस्कारको विकास गर्नुपर्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *