देश

बागलुङमा सुतेकै ठाउँमा चार मजदुरको मृत्यु, घरेलु मदिरा सेवन कारण भएको आशंका

बुटवल । बागलुङको गलकोटमा चारजना मजदुरको मृत्यु भएको छ। गलकोट नगरपालिका–७ गैराखर्कमा सुतेकै ठाउँमा चार मजदुरको सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले यो घटनालाई शंकास्पद भनेको छ ।

मृत्यु हुनेमा रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नम्बर ५ का २१ वर्षीय दिपेन्द्र पुन, सोही ठाउँका ३९ वर्षीय दुधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रबिन घर्ती रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हजारीले बताए।

त्यस्तै रोल्पाको सुनिल स्मृति गाउँपालिका– ५ गजुलका ३८ वर्षीय खेमराज घर्ती र सोही ठाउँका २६ वर्षीय रवीन्द्र पुनको अवस्था गम्भीर छ। उनीहरुले गलकोट बृहत् खानेपानी आयोजनामा काम गर्दै आएका थिए।

गैराखर्कमा मजदुरी गर्दै आएका ६ जनाको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि धौलागिरी अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको र दुईजनाको उपचार भइरहेको बताइएको छ। प्रहरीले घरेलु मदिरा सेवनका कारण उनीहरुको मृत्यु भएको दाबी गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *