देश

आगामी पाँच दिनभित्र चीनबाट थप ३२ लाख डोज खोप आउँदै

काठमाडौं । आगामी पाँच दिनभित्र चीनबाट थप ३२ लाख डोज खोप आउने भएको छ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार चीनबाट दैनिक रूपमा गरी कुल ३२ लाख भेरोसेल खोप आउनेछ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी भन्छन्, ‘बुधबार नेपालबाट विमान गएर शनिबारसम्म खोप ल्याउँछौँ। अब तत्कालै आउँदा ३२ लाख जति खोप आउँछ, लगातार दैनिक रूपमा आउँछ ।’ सरकारले चीनबाट ४० लाख मात्रा खोप ल्याउने सम्झौता गरेको छ। यसअघि आठ लाख डोज खोप आइसकेको छ ।

सुरुको साता आठ लाख मात्रा खोप आए पनि त्यसपछिका हप्तामा भने खोप ल्याइएको थिएन। आगामी पाँच दिनभित्र हरेक दिन उडान गरेर ठूलो मात्रामा खोप ल्याउन लागिएको सरकारी अधिकारीको भनाइ छ। खोप ढुवानीका लागि पहिले चीनमा साप्ताहिक उडान तालिका बनाएको नेपाल वायुसेवा निगमले पनि खोप दिने कम्पनीसँगको छलफलपछि उडान तालिका परिवर्तन गरिसकिएको जनाएको छ।

निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल भन्छन्, ‘जुन समयमा फ्याक्ट्रीले दिने भनेको थियो त्यसमा केही परिवर्तन गरेको हुँदा यता हामीले पनि उडान तालिका परिवर्तन गर्न बाध्य भयौँ। एकैचोटि तीनवटा लगातार उडान गरेर ३२ लाख डोज ल्याउने हो। त्यसमा पहिले छुटेको दुई लाख मात्रा पनि हामी ल्याउँछौँ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट