कला/साहित्य

कविता र कलाको जीवन्त प्रयोग गर्ने चित्रकार नेपाली

काठमाडौँ । चित्रले धेरै कुरा भनिरहे झैँ वा बोलिरहे झैँ लाग्ने गरी क्यान्भास रङ्ग्याउन सिद्धहस्त नेपाली आधुनिक चित्रकलाका मुर्धन्य व्यक्तिको नाम हो उत्तम नेपाली । 

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान गठनका बेला प्राज्ञसभा सदस्य छनोट सिफारिस समितिको सदस्यसमेत भएका नेपाली जीवनको उत्तराद्र्धमा लाग्दा रोगले थलिए । सकुञ्जेल जीवनलाई क्यान्भासबाट टाढा जान दिएनन् । क्यान्भासलाई त्यही युवा जोशमा रङ्गाउन नसके पनि अन्य कलाकारका लागि प्रेरणाको स्रोत नेपाली रङ्गिएका क्यान्भास ललितकला क्षेत्रलाई छाडेर आज सदाका लागि बिदा भएका छन् । 

कला, साहित्य र चलचित्रमासमेत राम्रो दख्खल राखेका उनको मुख्य पेशा भने आधुनिक चित्रकला नै थियो । शुरुशुरुमा मानिसले बहुलठ्ठीपन भनेर हेला गर्ने अमूर्तकलालाई स्थापित गर्नमा उनको महत्वपूर्ण योगदान छ । नेपाली ललितकला क्षेत्रको विकासमा अमूल्य योगदान पु-याएका नेपालीको ८४ वर्षको उमेरमा आज बिहान ४ः३० बजे काठमाडौँस्थित शिक्षण अस्पतालमा निधन भएको परिवारले जनाएका छन् । श्वासप्रश्वास समस्याका कारण निधन भएको ज्वाइँ सुनिल रञ्जीतले राससलाई जानकारी दिए । उनमा मुटुलगायत अन्य रोगसमेत थियो ।

काठमाडौँ महानगरपालिका–३ बाँसबारी घर भएका नेपालीका श्रीमती मन्दिरासहित दुई छोरा उद्यमप्रसाद र सुुद्यमप्रसाद तथा दुई छोरी ममता र प्रकृति छन् । अमेरिकामा रहँदा पाँच वर्षअघि उनीमा हुदयघात भएको थियो । अमेरिकामा उत्कृष्ट उपचार सेवा प्राप्त हुँदा बाँच्न सफल भएको सुनिलले सुनाए । त्यसपछि शरीर विस्तारै कमजोर हुँदै गएको थियो । 

बीचमा नेपाल आएर केही समय बसेपछि पुनः अमेरिका फर्किएका थिए । अमेरिकामा रहँदा फोक्सोको श्वासप्रश्वासमा समस्या देखिएपछि बिना अक्सिजन बस्न नसक्ने भए । आफ्नै भूमिमा मृत्युवरण गर्ने उनकै इच्छाअनुसार तीन महिनाअघि उपकरणको सहायतामा नेपाल ल्याइएको थियो । गएको २० दिनअघि स्वास्थ्य समस्या थप बढेपछि चिरायु अस्पताल, शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्र हुँदै उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको थियो । 

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले ललितकलाको विकासमा उहाँले दिएको योगदान महत्वपूर्ण रहेको र उनको निधनले कला क्षेत्रमा ठूलो क्षति पुगेको बताए । कलासँगै, चलचित्र र साहित्यमासमेत उनको योगदान छ । उनले गीत र भजनसमेत लेखेका छन् । साहित्यकार ध्रुवचन्द्र गौमत र शङ्कर लामिछानेसँग धेरै नजिक भएर काम गरेका नेपालीले नेपालको पहिलो चलचित्र ‘आमा’ र अर्को चलचित्र ‘हिजो आज भोलि’ मा अभिनय गरेका थिए । हिजो आज भोलिमा प्रमुख खलनायक भएर खेलेका ज्वाइँ सुनिलले सुनाए । उनको मुख्य पेशा भनेको चित्रकला नै हो । मुलुकमा नेपाली आधुनिक कला भित्र्याउनमा उनको ठूलो भूमिका रहेको चित्रकार स्मरण गर्छन् ।
 
उनको पहिलो चित्रकला प्रदर्शनीको उद्घाटन राजा महेन्द्र वीरविक्रम शाहले गरेका थिए । कलाकार तथा कला समीक्षक मुकेश मल्लले उनको कला जीवनीको बारेमा पुस्तक नै लेखेका छन् । उनी जिउँदै हुँदा उक्त पुस्तक विमोचन गर्ने प्रतिष्ठानको योजना अधूरै भए पनि पछि विमोचन गर्ने कुलपति कर्माचार्यले बताए ।

उनी नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य थिए । कला लेखक उनलाई क्यान्भासका बादशाह तथा आधुनिक कलाका शिखर पुरुष भनेरसमेत स्मरण गर्छन् । उनीलगायत कलाकारका समूहले दिग्गज कविका रचनाको आधारमा चित्रकलासमेत गरेको थियो । कलामा कविता उतार्ने छुट्टै पहिचानसमेत उनमा थियो । क्यान्भासमा धेरै श्रष्टालाई उतारेका छन् । कलामा नविनता हासिल गर्ने कलाकारमध्ये उनी पर्छन् । 

विसं २०६१ मा ‘उत्तम नेपालीका कविता’ पुस्तकसमेत प्रकाशित छ । कविताको भाव, श्रष्टा, लेखकलाई समेत चित्रमा उतारेर उनले नयाँनयाँ प्रयोग गरेका छन् । आधुनिक अमूर्त चित्रकलालाई नेपालमा विस्तार गर्नमा उनको योगदान ठूलो छ । बुबा व्यापारको सिलसिलामा भारतको लखनउ बस्ने भएकाले  लखनउबाट परम्परागत ‘वाश पेन्टिङ’ सिकेका थिए । उनले बनाएको शिवको ताण्डव नृत्यको चित्र महत्वपूर्ण मानिन्छ । 

भारतबाट विसं २०१८/१९ तर्फ नेपाल आएपछि धार्मिक चित्र बनाएको नेपाली त्यसपछि अमूर्तकलामा लागेकाे कला समीक्षक रमेशनाथ खनालले बताए । उनले भने, “उहाँले कविता र कलाको जीवन्त प्रयोग गर्नुभएको छ, नेपालको साहित्य र कलासम्बन्धी प्रतिष्ठित व्यक्तिका मुहार चित्र बनाएर ख्याती कमाउनुभएको छ, त्यसमा उहाँको आफ्नै शैली थियो ।” उनका २५ एकल चित्रकला प्रदर्शनी भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायले संस्मरणात्मक निबन्ध र कविता लेखेका नेपालीले विदेशमासमेत कला प्रदर्शनी गरेका छन् । दरबार तथा संयुक्त राष्ट्रसङ्घलगायत ठाउँमा पनि उनको कला सङ्ग्रहित छ । उनले टेली डकुमेन्ट्री बनाएर प्रदर्शनसमेत गरेको पाइएको उपाध्यायले बताए । उनको आज दिउँसो १ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *