राजनीति

माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउन ओली तयार !

काठमाडौं । एमाले अध्यक्ष केपी ओली वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार भएको बताएका छन् । केन्द्रीय कमिटीको बुधबारको बैठकमा ओलीले पार्टी एकताका लागि आफू हदैसम्मको लचिलो हुने भन्दै नेपाललाई दोस्रो अध्यक्ष बनाउने संकेत गरेका हुन् ।

जबकि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको भन्दै एमाले केन्द्रीय कमिटीले बुधबार नै माधव नेपालसहित २२ सांसदलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ । तर, स्पष्टीकरणमा सर्वोच्च अदालतको परमादेशबाट बच्न विश्वासको मतबारे केही उल्लेख गरिएको छैन ।
एमालेमा विवाद मिलाउन सके निकट भविष्यमै सरकारमा जान सकिने रणनीति अनुसार ओलीले यस्तो नीति अख्तियार गरेको स्रोतले बताएको छ ।

एमालेले विभिन्न चार प्रस्ताव पारित गरेको छ । केन्द्रीय समिति बैठकले सर्वोच्च अदालतको फैसलाका सम्बन्धमा सहित चार प्रस्ताव पारित गरेको हो । प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार पहिलो प्रस्तावको रूपमा सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन प्रकरणमा दिएको परमादेशबारे पार्टीको दृष्टिकोण प्रष्ट पारेको छ । जसमा फैसलाले शक्ति पृथकीकरणको अवस्थालाई खलबल्याएको, पार्टी स्वतन्त्रता र दलीय प्रणालीलाई आँच पुर्‍याएको लगायतका ठहर एमालेको छ ।

यस्तै, ४१ महिने ओली सरकारको समीक्षा गर्दै सरकारले ऐतिहासिक काम गरेको ठहर गर्दै त्यसबारे दोस्रो प्रस्ताव बैठकले पारित गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट