समाचार

भारतमा कालोढुसीको प्रकोप, अहिलेसम्म ४३ सयले गुमाए ज्यान

काठमाडौं । कोभिड महामारीसँगै भारतमा कालोढुसीको प्रकोप फैलिएको छ । भारतमा पछिल्लो २४ घन्टामा कोरोनाबाट ४१ हजार संक्रमित र पाँच सय बढीको मृत्यु भएको छ ।

कोभिडका बिरामीलाई संक्रमण गर्ने कालोढुसीबाट भारतमा ४३ सयजनाभन्दा बढीको मृत्यु भएको भारतीय समाचार एजेन्सीहरूले जनाएका छन् ।

भारतमा प्रायः दुर्लभ र घातक मानिने म्यूकोमाइकोसिस संक्रमण भएका ४५ हजार ३७४ बिरामी फेला परेको स्वास्थ्यमन्त्री मनसुख मांडवियाले बताएका छन्। यो ढुसीले नाक र आँखामा प्रभाव पार्छ। संक्रमण फैलिएर कहिलेकाहीँ मस्तिष्कसम्म पुग्ने ढुसी अहिले प्रायः कोभिडबाट निको भएको १२ देखि १८ दिनमा देखापर्छ।

सङ्क्रमण भएकामध्ये झन्डै आधाले अझै उपचार गराइरहेको बीबीसीले उल्लेख गरेको छ । चिकित्सकहरूले ढुसीको कोभिड उपचारका लागि प्रयोग गरिने स्टेरोइड औषधिसँग सम्बन्ध छ र मधुमेह भएका मानिसमा यसको बढी जोखिम छ।

सबैभन्दा बढी प्रभाव महाराष्ट्र र गुजरात राज्यमा देखिएको छ। त्यहाँ म्यूकोर्माइकोसिसबाट १७ सय ८५ जनाको मृत्यु भएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *