समाचार

माधव नेपालले ओलीप्रति लक्षित गर्दै भने– पार्टीभित्र घाउ खटिरा छन्, तिनलाई औषधिले निको पार्नुपर्छ

काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले कमीकमजोरी हटाएर शुद्धीकरण गरी पार्टीलाई नयाँ ढंगबाट अघि लैजानुपर्ने बताएका छन् । त्यसका लागि जिम्मेवारी अहिले आफूहरुको काँधमा रहेको उनको भनाइ छ ।

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसको अवसरमा बिहीबार बिहान पुष्पलाल स्मृति पार्क चम्पादेवीमा भएको कार्यक्रममा नेता नेपालले एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै भने, ‘नयाँ समाज निर्माण गर्ने सोचबाट अगाडि बढ्न सक्नुपर्छ । सबै कुरोको केन्द्र बिन्दु जनता नै हुन यसमा संवेदनशील हुनुपर्छ। सुध्रिन चाहनेले आफ्नो कमीकमजोरी सुधार गर्न सक्नुपर्छ त्यो आँट र शाहस चाहिन्छ । पार्टी भित्र घाउ खटिरा छन् भने तिनले पीडा दिन्छन् तिनलाई औषधिले निको बनाउनुपर्छ ।’

उनले अपमान र गलत कुरा सहेर कोही पार्टीमा बस्न नसक्ने पनि बताए । ‘कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनुपर्छ। जनताको पार्टी बन्न सक्नुपर्छ। एमालेलाई पनि त्यही बाटोमा लैजानुपर्छ । नेतृत्व सुध्रिने चाहन्छ भने ठिक छ । आफूले बनाएको घर त्यसै कसैले छाड्न चाहँदैन तर अपमान सहेर, गलत कुरो सहेर कोही बस्दैन। नयाँ विचार दृष्टिकोण बनाएर अगाडि बढ्न सकिन्छ। असम्भव भन्ने केही हुँदैन मानिस आफ्नो लक्ष्य विचार र दृष्टिकोणमा अगाडि बढेर गयो भने।’

नेता नेपालले कम्युनिष्ट दास हुनै नसक्ने पनि बताए । ‘अरुको अपमान गर्नेले कहिले राम्रो गर्दैन। त्यो प्रवृत्ति सबैले त्याग गर्न सक्नुपर्छ । हावादारी कुरोले केही परिवर्तन हुने वाला छैन । आन्दोलनलाई नयाँ हिसाबले लैजानुपर्छ । कम्युनिष्ट पार्टीको काँधमा ठूलो दायित्व आएको छ,’ उनले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *