अर्थ

आजदेखि अनलाइनबाटै राजस्व भुक्तानी र ब्लुबुक नवीकरण गर्न सकिने

काठमाडौं । आजदेखि राजस्व भुक्तानी, ब्लुबुक नवीकरण, सवारी कर, जरिवानालगायत अनलाइनबाटै गर्न सकिने भएको छ ।

बागमती प्रदेश सरकारले यी सबै सेवा लाइनमा बसेर गर्नुपर्ने झन्झटलाई मुक्त गर्दै अनलाइनबाट सेवाको सुरुवात गर्न लागेको हो । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज (शुक्रबार) हेटौंडामा अनलाइन सेवाको औपचारिक शुभारम्भ गर्ने भएका छन् ।

कार्यक्रममा अनलाइन प्रणालीमा आबद्ध सेवाहरुको परीक्षण एवं डेमो प्रस्तुत गरी औपचारिक रूपमा यसको सुरूवात गरिने भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । यी सेवा मन्त्रालयको वेबसाइट र नागरिक एपबाट उपलब्ध हुने छ ।

यसका लागि प्रदेश सरकारले छुट्टै यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआईएस) तयार पारेको छ । यससँगै बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयमार्फत प्रवाह हुने सेवाहरू अबदेखि यही प्रणालीमार्फत अनलाइनमा उपलब्ध हुनेछन् ।

सेवाग्राही आफैंले सूचना प्रणालीमा आफ्नो सवारी साधन तथा अनुमति पत्रको दर्ता, नवीकरण, जरिवाना उल्लंघनन तथा राजस्व बाँकी बक्यौताको अवस्थाको विवरण हेर्न मिल्नेगगरी नागरिक एप तथा सम्बन्धित भुक्तानी सेवा प्रदायकको मोवाइल एप्स तथा वेब पोर्टलमार्फत जानकारी दिन सकिने व्यवस्था गरिएको छ ।

मोबाइल बैंकिङ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भुक्तानी कार्ड (डेबिट तथा क्रेडिट कार्ड), ई–मनी (वालेट) र अन्तरबैंकिङबाट विद्युतीय भुक्तानी गर्न सकिने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *