राजनीति

फिर्ता लिनकै लागि भीम रावलले सांसद पदबाट किन दिए राजीनामा ?

काठमाडौं । अन्ततः एमाले सांसद भीम रावलले आफूले पदबाट दिएको राजीनामा फिर्ता लिने भएका छन् । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत दिने दिन रावलले सांसद पदबाट राजीनामा दिएका थिए ।

एमाले एकतामा वरिष्ठ नेता माधवकुमार नेपालले असहयोग गरेको आरोप लगाउँदै रावलले सांसदबाट राजीनामा दिएका हुन् । उनको राजीनामा सभामुख अग्निप्रसाद सापकोटाले स्वीकृत गरेका छैनन् ।

एमाले अध्यक्ष केपी ओलीले केन्द्रीय कमिटी बैठकमै र वरिष्ठ नेता नेपालले टोखास्थित रावलको निवास पुगेर सांसद पदबाट राजीनामा फिर्ता लिन आग्रह गरेका थिए । त्यसबेला रावलले आफूले एकपटक पुनर्विचार गर्ने बताएका थिए । सम्भवतः रावलले आजको प्रतिनिधिसभा बैठक चलेकै बेला पदबाट दिएको राजीनामा फिर्ता लिनेछन् ।

उनको राजीनामा स्वीकृत गर्न सभामुखले फेरि एकपटक बोलाएर रुजु गर्नुपर्ने व्यवस्था भएकाले पनि स्वीकृत नगरिएको हो । अब रावलले राजीनामा फिर्ता लिन्छु भनेमा स्वीकृत हुने छैन ।

तर, रावलले कसलाई घुक्र्याउन पदबाट राजीनामा दिएका हुन् ? राजीनामा दिइसकेपछि किन फिर्ता लिने निर्णयमा पुगे ? भन्ने विश्लेषण सुरु भएको छ । स्रोतका अनुसार रावल अहिले ओली गुटमा पसिसकेका छन् । ओली पक्षका नेताले रावललाई आफूतिर गन्न थालेका छन् । ओलीले माधव नेपालको शेखी झार्न रावललाई कार्यबाहक अध्यक्ष दिने प्रतिबद्धता जनाएकाले पनि उनले नेता नेपाललाई अप्ठेरो पार्न सांसदबाट राजीनामा दिएको पुष्टि भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *