राजनीति

क्रियाशील छानबिन समितिले प्रतिवेदन मंगलबार सभापति देउवालाई बुझाउने

काठमाडौं । नेपाली कांग्रेस गठन गरेको क्रियाशील सदस्यता छानबिन समितिले तयार पारेको प्रतिवेदन मंगलबार पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने भएको छ । सभापति देउवालाई मंगलबार बिहान ९ बजे बुझाउने समय तालिका तय भएको छ ।

क्रियाशील सदस्यता छानबिन समितिले आफ्नो काम सकेपछि मात्रै तल्लो तहको अधिवेशनको मितिबारे छलफल हुने भएको छ । आज शनिबार बसेको पदाधिकारी बैठकले साउन १२ गते तय भएको वडा अधिवेशन स्थगित गरेको छ ।

यता, नेपाली कांग्रेसको निर्वाचन समितिले भदौ १६ गतेदेखि १९ गतेसम्म १४औँ महाधिवेशन गर्न नसकिने प्रष्ट पारेको छ ।

शीर्ष तहका नेताको बैठकमा समिति संयोजक महादेव यादवले समयाभाव हुने कारणलाई पुनः दोहोर्याएका छन् । यादवले पार्टीका सबै संरचनाको अधिवेशन सक्न निर्वाचन समितिलाई ५२ दिन बढी लाग्ने बताएका थिए ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेर बहादुर देउवानिवास बूढानिलकण्ठमा बसेको बैठकले तल्लो संरचनाको अधिवेशनको मिति टुंग्याउन समेत सकेन । तल्लो संरचनाको अधिवेशनको मिति केन्द्रीय समितिले तय गर्ने नेता अर्जुननरसिंह केसीले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *