देश

गण्डकी सरकारमा दलितको प्रतिनिधित्व नगराइनु पार्टीले गरेको अक्षम्य भूल : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गण्डकी प्रदेश सरकारमा दलितको प्रतिनिधित्व नगराइनु पार्टीको अक्षम्य भूल भएको बताएका छन् ।

गण्डकी प्रदेश सरकार गठन प्रक्रियामा प्रदेश सभा सदस्य दोबाटे बिकलाई मन्त्री बनाउन भनी प्रतिबद्धता जनाएर अन्तिममा अरुलाई नै मन्त्री बनाइएपछि आलोचना हुँदै आएको छ । यही विषयमा कांग्रेस केन्द्रीय सदस्य कोइरालाले प्रतिक्रिया दिएका हुन् ।

नेता कोइरालाले आइतबार सामाजिक सञ्जालमार्फत गण्डकी प्रदेशको सरकारले पूर्णता पाउने क्रममा समावेशीता र दलित समुदायको प्रतिनिधित्वलाई जसरी लत्याइयो, यो दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्–

सन्दर्भः गण्डकी प्रदेशको सरकार गठन

लोकतान्त्रिक समाजवाद र समावेशीताबाट नेपाली कांग्रेस कहिल्यै पर जान सक्दैन र जानु पनि हुन्न । तर गण्डकी प्रदेशको सरकारले पूर्णता पाउने क्रममा समावेशीता र अझ दलित समुदायको प्रतिनिधित्वलाई जसरी लत्याइयो, यो दुर्भाग्यपूर्ण हो । पार्टीले गरेको अक्षम्य भूल हो। दलित समुदायप्रतिको अपमान हो।
सामाजिक कुरीतिका विरुद्ध व्यावहारिक रुपमा लडेको नेपाली कांग्रेसलाई गण्डकी प्रदेशको सरकार गठन प्रक्रियाले दुस्खित बनाएको छ । त्यति मात्र नभई सिंगो दलित समुदाय जसले लोकतन्त्र स्थापना र पार्टी संगठनमा महत्वपूर्ण भूमिका खेले, उनीहरुको शिर निहुरिएको छ ।
भोलि कुन मुखले उनीहरुको अगाडि जाने ? यो हेक्का राख्नु पर्दैन ? कि एकपटक सरकारमा गएपछि सधैंलाई पुग्यो ? सामाजिक न्यायका कुरा केवल ईतिहासको बखान र शब्द रटान मात्रै होइन व्यवहार र लोकतान्त्रिक आचरण पनि हो। वीपी स्मृति दिवस मनाउँदै र वीपीको तस्वीरमा चढाएको फूल नओइलिंदै गर्दा भएको यो निर्णयको जवाफ हामीले समाजलाई दिनैपर्छ । यसलाई तुरुन्त सच्याउनु जरुरी छ । भोलिका दिन यस्ता निर्णयहरु पार्टीको निम्ति निकै महंगो पर्न सक्छ । सबैले हेक्का राखौं ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *