खेलकुद

१३ औं साफ च्याम्पियनसिप आयोजना गर्न नेपाललाई प्रस्ताव

काठमाडौं । नेपाललाई १३ औं संस्करणको साफ च्याम्पियनसिप आयोजना गर्न औपचारिक प्रस्ताव आएको छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नेपाललाई पत्र लेख्दै आगामी अक्टोबरमा साफ आयोजनाको प्रस्ताव गरेको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार साफबाट प्रतियोगिता आयोजनाका लागि औपचारिक प्रस्ताव आएको जनाएको छ । साफका महासचिव अनवारूल हकले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेख्दै साफ आयोजनाको औपचारिक प्रस्ताव गरेको एन्फाले जनाएको छ।

महासचिव तुलाधरले साफ आयोजनाका लागि नेपालले बिस्तृत प्रस्ताव तयार गरि अनुमोदनका लागि साफलाई पठाइने बताएका छन् । प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको बंगलादेशले कोभिड–१९ का कारण साफ गर्न नसक्ने जानकारी दिएपछि नेपालले आयोजनाको दाबी प्रस्तुत गरेको थियो।

नेपालसँगै श्रीलंका, भारत र माल्दिभ्सले समेत आयोजनाका लागि दाबी गरेका छन्। नेपालले यसअघि दुईपटक साफ च्याम्पियनसिपको आयोजना गरिसकेको छ। नेपालले सन् १९९७ मा र २०१३ मा साफ च्याम्पियनसिपको आयोजना गरेको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *