रिबन

असोज १५ देखि कोरोनाको तेस्रो लहर आउन सक्छः स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमणको तेस्रो लहर असोज १५ देखि आउन सक्ने जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेका प्रयासहरूको संक्षिप्त विवरण तथा आगामी कार्यदिशा समेत प्रस्तुत गरेको छ ।

मन्त्रालयका सहसचिव गंगा लोहनीका अनुसार मंसिरमा पुनः संक्रमण बढ्न सक्ने सम्भावनालाई आँकलन गरिएको हो । तर भेरियन्टको स्वरुप र प्रकृति, खोपको उपलब्धता र प्रयोग, सामाजिक गतिविधि तथा जनस्वास्थ्यका आधारभूत मापदण्डहरूको पालनाको स्तरले यसलाई अगाडि वा पछाडि धकेल्नसक्ने उनको भनाई छ ।

विदेश जाने कामदार र विद्यार्थीका लागि खोप केन्द्र छुट्टै
यस्तै विदेश जाने कामदार र विद्यार्थीका लागि सरकारले कोरोनाविरुद्धको खोप लगाउन दुई अस्पताललाई तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै अब विदेश जानेहरूले उपत्यकाको प्रहरी अस्पताल र सैनिक अस्पतालमा खोप लगाउन सक्ने जनाएको छ ।

खोप लगाउन जाँदा पासपोर्ट र भिसा भने देखाउनुपर्ने व्यवस्था छ । यसअघि भने सबै केन्द्रबाट विदेश जानेहरूका लागि खोप दिइराखिएको थियो ।

अब विदेश जाने कामदार वा विद्यार्थीले आफूलाई पायक परेको समयमा यी अस्पतालमा गएर खोप लगाउन सक्नेछन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *