समाचार

प्रतिनिधिसभा बैठकमा सांसद राजभण्डारीले भने– व्यवसायीले मन्त्री बन्न पाउने कि नपाउने ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले व्यवसायीले मन्त्री बन्न पाउने कि नपाउने ? भन्ने प्रश्न गरेका छन् ।

व्यवसायीलाई मन्त्री बनाउन हुन्छ कि हुँदैन भन्ने चर्चा चलिरहेका बेला प्रतिनिधिसभा बैठकमा यससम्बन्धी कानुन बनाएर विवाद निरुपण गर्नुपर्ने आवाज उठेको हो ।

सांसद राजभण्डारीले व्यवसायीलाई मन्त्री बनाउने विषयमा कानुन आवश्यक रहेको बताएका हुन् । ‘कानुनमन्त्री यहीँ हुनुहुन्छ, मन्त्री बनाउन मिल्ने नमिल्ने बारे सरकारले कानुन बनाओस्, यही सदनमा छलफल गरौं,’ उनले मंगलबारको प्रतिनिधिसभा बैठकमा भने ।

पछिल्लो समय स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठको नियुक्तिलाई लिएर टीकाटिप्पणी भइरहेका छन् । खासगरी सामाजिक सञ्जाल प्रयोगकर्ताले बढी टीकाटिप्पणी गरेपछि सांसद राजभण्डारीले यो विषय कानुन बनाएर टुंगो लगाउनुपर्ने बताएका हुन् ।

सांसद राजभण्डारी आफैं पनि व्यावसायिक पृष्ठभूमिका हुन् । र, प्रतिनिधिसभा सदस्य निर्वाचित भएलगत्तै उनले व्यवसायबाट अलग भएको घोषणा गरिसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *