शिक्षा / स्वास्थ्य

बेनी अस्पताललाई तीन लाख ७१ हजारको सहयोग

बेनी । म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङ्गेका यामबहादुर केसी र हरिकला केसीको परिवारले बेनी अस्पताललाई रु तीन लाख ७१ हजार मूल्य बराबरको सहयोग गरेको छ ।

दिवङ्गत छोरा डा मङ्गल केसीको १२औँ स्मृतिमा घरपरिवारले बेनी अस्पताललाई ६ थान सेमिफोल्डिङ बेड सेट, ६ थान फुट स्टेप, ६ थान डिलक्स बेड साइड लकर सहयोग गरेको हो । आज अस्पतालमा आयोजित कार्यक्रममा दिवङ्गत केसीका हजुरबुबा टेकबहादुर, आमा हरिकला, फूपु जुनेली थापा र मामा बेलबहादुर कटुवालले अस्पतालका प्रमुख डा जीतेन्द्र कँडेललाई उक्त सामग्री हस्तान्तरण गरेको थियो ।
‘‘पछि परेका समुदायका नागरिकको उपचार गरी सेवा गर्ने उहाँको चाहना थियो, तर चाहना पूरा हुन पाएन, कम्तीमा उहाँले राखेको उद्देश्यलाई घरपरिवारले पनि त पूरा गरिदिन सक्छौँ भनेर अस्पताललाई सहयोग गरिएको हो’’, बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका दिवङ्गत केसीका मामा बेलबहादुर कटुवालले भने ।

उक्त अवसरमा केसीका घरपरिवारले बेनी अस्पतालमा उपचाररत बिरामीलाई फलफूलसमेत वितरण गरेको थियो भने अस्पतालका प्रमुख डा कँडेलले नयाँ वार्ड सञ्चालनको लागि आवश्यक सामग्रीको बन्दोबस्त मिलाइदिएकोमा केसीका परिवारलाई धन्यबाद दिँदै प्राप्त सामग्रीको सही उपयोग र संरक्षण गरिने बताए । गण्डकी प्रदेश सरकारमार्फत उपलब्ध भएको रु ३५ लाख बजेटबाट बेनी अस्पतालमा १२ श्यया देखि १५ श्यया क्षमतासम्म वार्ड सञ्चालन गर्न सकिने भवन निर्माण भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *