देश

राष्ट्रपतिद्वारा सिन्धुलीगढीमा पहिलो युद्ध संग्रहालयको उद्घाटन

सिन्धुली – राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढीमा नेपालकै पहिलो सिन्धुलीगढी युद्व संग्रहालयको उद्घाटन गरेकी छन्। संग्रहालय उद्घाटनको लागि राष्ट्रपति भण्डारी बुधबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत सिन्धुलीगढी आएकी थिइन्।

कमलामाई नगरपालिकासँगको सहकार्यमा नेपाली सेनाले युद्व संग्रहालय निर्माण गरेको हो। २०७६ कात्तिक २४ गते संग्रहालयको शिलान्यास गरिएको थियो।

६ करोड ५० लाख रूपैयाँको लागतमा निर्माण भएको संग्रहालय ६ हजार २७५ स्क्वायर फिटमा फैलिएको छ। संग्रहालयमा वीर योद्वाको परिचय, तत्कालीन समयमा प्रयोग भएका हातहतियारलगायत राखिएका छन्।

यसैबीच प्रधानसेनापति पूर्णचन्द्र थापाले विसं १८२४ असोजमा मातृभूमिको सुरक्षा र अखण्डताका लागि अङ्ग्रेज सेनालाई परास्त गर्ने चार वीर योद्धाको शालिक अनावरण गरेका छन्।

सिन्धुलीगढीमा भएको युद्धमा नेपालले इष्टइन्डिया कम्पनीको अङ्ग्रेज सेनालाई परास्त गरेको थियो। ऐतिहासिक युद्धस्थलमा आज आयोजित कार्यक्रममा प्रधानसेनापति थापाले १८२४ को युद्धमा फिरङ्गी शत्रुलाई परास्त गर्ने काजी वंशीराज पाण्डे, श्रीहर्ष पन्त, शिकारी अफिसर वंशी गुरुङ र खजाञ्ची वीरभद्र उपाध्यायको शालिक अनावरण गर्नुभएको हो। नेपाली सेनाको समन्वयमा कमलामाई नगरपालिकाले शालिक निर्माण गरेको हो।

सिन्धुलीगढीमै निर्माण भएको नेपालकै पहिलो युद्ध सङ्ग्रहालयको आजै राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ। उद्घाटनपछि सङ्ग्रहालय कमलामाई नगरपालिकालाई हस्तान्तरण गरिने जनाइएको छ। सङ्ग्रहालयमा अङ्ग्रेज सेनासँगको युद्धका महत्वपूर्ण हातहतियार तथा दस्तावेज सङ्ग्रह गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *