रिबन

प्रचण्डलाई सत्तोश्राप गर्ने टोपबहादुर र प्रभु साहलाई किन चाहियो माओवादी ?

काठमाडौं । यतिबेला माओवादी केन्द्र छाडेर एमाले प्रवेश गर्ने चार निलम्बित सांसदको रोइलो सुरु भएको छ । पद गुमेपछि यसरी रोइलो सुरु गर्नेमा लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरिशंकर चौधरी छन् ।

ओली सरकारमा मन्त्री भइञ्जेल यी चारै नेतालाई सांसद पद गुमेकोमा पनि कुनै पश्चाताप थिएन । तर, जब एमाले विभाजनको डिलमा पुगेको देखे, तब केपी ओलीको राजनीतिक भविष्य सकिन लागेको बुझेरै यी चारै नेताले सर्वोच्च अदालतमा आफूहरू माओवादी केन्द्रमै रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । रिटमा बिहीबारदेखि सुनुवाइ सुरु भएको छ ।

यी चार नेतामध्ये पनि टोपबहादुर रायमाझी र प्रभु साह अलि जनाधार भएका नेता हुन् । यदि देश निर्वाचनमा गएमा यी दुवैले जित्ने सम्भावना पनि छ । तर, एउटा दरिलो पार्टी चाहिँ चाहियो । एमालेमा बसौं भने के हो के हो ? भोलि टिकट पाइने हो होइन भन्दै भविष्य अन्धकार देखेरै यिनीहरू फेरि माओवादी केन्द्रमै फर्कन खोजेका हुन् ।

जबकि चारैजनाको सांसद पद निलम्बनमा परिसकेको छ । अदालतले स्टे अर्डर जारी गरेमा आफ्नो सांसद पद कायमै रहने उनीहरूमा झिनो आश छ । तर, ओलीको पछि लागेर माओवादी केन्द्रलाई धोका दिएको भन्दै कार्यकर्ताले उनीहरूको कडा आलोचना गरेका छन् ।

यी चार नेतामध्ये रायमाझी र साह माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग निकै आक्रोशित थिए । एमाले प्रवेश गरेर मन्त्री भएपछि दुवैले शृंखलाबद्ध रूपमा प्रचण्डको उछितो काढेका थिए । दुवैले प्रचण्ड अवैधानिक अध्यक्ष भएको मात्र आरोप लगाएनन्, सर्वोच्च अदालतमा माओवादी केन्द्र अवैधानिक भएको भन्दै पार्टी नै खारेज गर्न भनी रिट दायर गर्नसम्म पुगेका थिए ।

अहिले उनीहरू आफैं आफूहरू माओवादी केन्द्रको सांसद रहेको र अर्को पार्टीको सदस्यता नलिएको दाबी गर्दै अदालत पुगेका छन् । यस्तो ढुलमुल चरित्रले उनीहरूलाई साथ दिने नेता कार्यकर्ताले पनि छाड्ने अवस्था आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *