देश

डेढ करोड खोप खरिद गर्ने सरकारको तयारी, अनुदानको १६ लाख डोज खोप एक साताभित्र ल्याइने

काठमाडौं । चीनसँग खरिद गरेको ४० लाख डोजमध्ये अन्तिम चरणको आठ लाख डोज खोप आज आउँदैछ । चीनबाट सरकारले कोभिड–१९ विरुद्धको ४० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो ।

नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट आठ लाख डोज खोप ल्याउन लागिएको हो । खोप दिउँसो काठमाडौ आइपुग्नेछ ।

चीन सरकारले नेपाललई थप १६ लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको छ । सो खोप चाँडै पठाइदिन अर्थमन्त्री जनार्दन शर्माले चिनियाँ राजदूत होउ यान्छीलाई आग्रह गरेका छन् । शुक्रबार भएको भेटमा अर्थमन्त्री शर्माले राजदूत यान्छीलाई खोप सहजीकरणका लागि आग्रह गरेका हुन् । नेपालले चीनसँग थप ६० लाख खोप खरिद गर्ने तयारी गरेको छ ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले कोरोनाविरुद्ध डेढ करोड डोज खोप खरिद गर्न लागेको बताएका छन् । उनले खोप खरिद र व्यवस्थापन आफ्नो सर्बोच्च प्राथमिकतामा रहेको भन्दै सरकार तेस्रो लहरको तयारीमा जुटिसकेको बताएका छन् ।

रोटरी क्लब काठमाण्डपद्धारा शुक्रवार आयोजित सम्मान कार्यक्रममा उनले भने, ‘१२ बर्षभन्दा माथिका सबै नेपालीलाई करिब पाँच करोड ५० लाख डोज खोप जरुरी छ, त्यसको व्यवस्थापनमा म सक्रिय छु । खोप व्यवस्थापन गर्न सक्छु भन्ने हिम्मतसाथ काम गरिरहेको छु ।’
राज्यमन्त्री श्रेष्ठका अनुसार हालसम्म नेपालमा भारत, चीन र अमेरिकाबाट ९७ लाख डोज खोप आइसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *