देश

अबदेखि संसद् सचिवालयको सम्पूर्ण कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत

काठमाडौं । अबदेखि संसद् सचिवालयको सम्पूर्ण कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने भएको छ ।

संसद् सचिवालयले आइतबार विज्ञप्तिमार्फत निजी बैंकबाट हुँदै आएको संघीय संसद् सचिवालयको सम्पूर्ण सरकारी कारोबार पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रारम्भ गरिएको जनाएको छ ।

यसअघि संघीय संसद्को बैठकमा सांसदहरूले पटक पटक सरकारी खाता निजी बैंकमार्फत सञ्चालन गरिएको बिषय उठाएको र अन्य सार्वजनिक कार्यक्रम र सञ्चारमाध्यमहरुमा समेत यो विषय उठान भएको जनाउँदै संसद् सचिवालयले राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने जनाएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाको निर्देशनअनुसार संघीय संसद सचिवालयले २०७७ मंसिर १८ गते सरकारी कारोबार गर्ने बैंक परिवर्तन गरी पूर्ण सरकारी स्वामित्व भएको बैंक, राष्ट्रिय वाणिज्य बैंक मार्फत गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई पत्राचार गरेको थियो ।

२०७७ माघ ११ को पत्रबाट आर्थिक बर्षको बिचमा खाता परिवर्तन गर्न कठिनाई हुने जनकारी अर्थ मन्त्रालयबाट प्राप्त भएको थियो । सचिवालयले २०७८ असार ३१ गते पुनस् ताकेता गरी खाता परिवर्तनका लागि अनुरोध गरेको थियो । सभामुखको यो पहलपछि अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंक तथा महालेखा नियन्त्रकको कार्यालय मार्फत हालै सिंहदरबारस्थित सबै कार्यालयका सरकारी खाताहरू सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक मार्फत सञ्चालन गर्न निर्देशन दिएको छ ।

त्यसैगरि राष्ट्रिय बाणिज्य बैंकलाई समेत सिंहदरवार शाखाको स्तरोन्नति र सेवा सुबिधा विस्तारका लागि समेत अनुरोध गरिएको छ । यसअघि सरकारी खाताहरु एभरेष्ट बैंकमार्फत सञ्चालन गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *