रिबन

सरकारले पूर्णता पाउन के बाधक बन्यो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली झापामा पुगेर भने, ‘दुई महिनादेखि चार जनाले सरकार ¥याइँ¥याइँ पारिरहेका छन्, यो सरकारबाट नेपाली जनताले के आशा गर्नु ?’

ऊर्जामन्त्री पम्फा भुसालले सरकारले छिट्टै पूर्णता पाउने बताएकी छन् । उनले यसो भनेको यो चौथो पटक हो । सरकारको पूर्णताबारे सत्ता गठबन्धनका शीर्ष नेता बेला–बेलामा बोल्छन्– ‘मलाई अप्ठ्यारो छ ।’

विभाजन भएको नेकपा एमाले र संघीय समाजवादी पार्टीका नेता कार्यकर्ता को–कता जाने भनेर भदौ २२ गतेसम्म निर्वाचन आयोगको समयसीमा तोकेको थियो । त्यस अवधिमा सरकारलाई पूर्णता दिँदा गठबन्धन सरकार संकटमा पर्ने अनुमान लगाइएको थियो । त्यसैले भदौ २२ गतेसम्म सरकार गठनका लागि सम्भावना थिएन ।

अहिले सरकार गठनका लागि त्यस्तो ठूलो बाधा अवरोध देखिँदैन । तर, पनि सरकारले पूर्णता पाउन सकेको छैन । तर, गठबन्धन दलबीचको सम्बन्ध विस्तारै टाँढिदै गएको आभार राजनीतिक वृत्तमा हुन थालेको छ । यसको मूल कारण संसद अधिवेशन बनेको छ ।

संसद कम्युनिष्टहरुका लागि फाप्दैन भन्ने गरिएको छ । केपी ओली सरकारले दुई पटक विघटन गर्न खोज्दा पनि नसकेपछि पद छाडेर हिड्नु परेको दुई महिना मात्र बित्दैछ । अब देउवा सरकारले पूर्णता नपाउँदै दुई कम्युनिष्ट घटक सत्ताबाट बाहिरिने हो कि भन्ने आशंका गर्ने बलियो आधार तय हुँदै गएको छ ।

गठबन्धनमा रहेका माओवादी केन्द्र, नेकपा (एस) र संघीय समाजवादी पार्टीले मन्त्रीको नाम उपलब्ध गराउन नसक्दा सरकारले पूर्णता नपाएको जगजाहेर छ । संसद चलूञ्जेल उनीहरुलाई सरकारमा जान अप्ठ्यारो देखियो । यो अप्ठ्यारो प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माण गरिदिएका हुन ? होइन, यो अप्ठ्यारो उनीहरु आफैले तयार गरेका हुन् । चालू संसद अधिवेशन बन्द गरेर अध्यायदेश ल्याइयो । त्यो अध्यायदेशलगायत समसामयिक विषय छलफल गराउन पुनः संसद डाकियो ।

अध्यायदेशसँगै अमेरिकी सहयोग परियोजना (एमसीसी) पनि छलफलका लागि संसदमा प्रस्तुत गर्नुपर्ने बाध्यता सरकारसँग छ । एमसीसीले गर्दा माओवादी केन्द्र र नेकपा (एस) मा विभाजन हुने देखियो । एमसीसी संसदमा छलफलका लागि ल्याइए चिनियाँ आर्थिक लगानीमा खुट्टा टेकेका कम्युनिष्ट सांसदले एमसीसीको नाम सुन्न चाहेनन् । पार्टी बरु भाँडमा जाओस् एमसीसी पास हुन नदिने रणनीति अख्तियार गरेपछि यसका शीर्ष नेताहरु अप्ठ्यारोमा परेका हुन् । संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दुई चरणका लागि मन्त्रीको नाम खल्तीमा बोकेर हिडेको दुई साता बितिसकेको छ ।

पार्टीको आन्तरिक कारणले सरकारलाई पूर्णता दिन नसकिरहेको अवस्थामा माओवादी केन्द्र र नेकपा (एस)ले सम्पूर्ण दोष प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएर पानीमाथिको ओभानो हुन खोजेको देखिन्छ । कुरा एउटा र व्यवहार अर्कै गर्ने कम्युनिष्ट चरित्रबाट जानकार प्रधानमन्त्री देउवाले बरु गठबन्धन नटिके पनि केही छैन भन्ने मनस्थितिमा पुगेको बताइन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *