ताजा समाचार

गोइतलाई पटनाबाट पक्राउ गर्न सफल प्रहरी गृह र प्रहरी प्रधान कार्यालयले समन्वय नगर्दा नेपाल ल्याउन असफल

काठमाडौं । नेपाल प्रहरीको टोली जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का अध्यक्ष जयकृष्ण गोइतलाई भारतको पटना पुगेर पक्राउ गर्न सफल भए पनि स्वदेश ल्याउन भने असफल भएको छ। नेपाल प्रहरी, प्रदेश २ कार्यालयबाट खटिएको टोलीले पाँच महिनाअघि पटना पुगेर गोइतलाई पक्राउ गरेको थियो।

तर उनलाई नेपाल ल्याउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले आवश्यक समन्वय र सहयोग नगरिदिँदा उतै छाडेर फर्कनुपरेको स्रोतले बतायो। नेपालबाट खटिएको प्रहरी निरीक्षकको टोलीले भारतीय प्रहरीको सहयोगमा गोइतलाई उनी बसेकै ठाउँबाट पक्राउ गरेको थियो।

गोइत नेतृत्वको समूहले तराईमा लामो समयदेखि भूमिगत सशस्त्र गतिविधि गर्दै आएको छ। पछिल्लो पटक २०७७ चैतमा सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोटको जिम्मेवारी जनतान्त्रिक तराई मुक्ति मोर्चा (जयकृष्ण गोइत समूह) ले लिएको थियो। विस्फोटको जिम्मेवारी लिएपछि प्रहरीको निगरानीमा परेका गोइतको खोजीमा सहयोग गर्न प्रदेश २, प्रहरी कार्यालय प्रमुखले भारतीय प्रहरीको विशेष टोलीलाई आग्रह गरेका थिए। उनलाई वैशाख पहिलो साता पक्राउ गरिएको थियो।

भारतीय प्रहरीको विशेष टोलीको सहयोगमा पक्राउ परेका उनलाई नेपाल पठाउन पटना प्रहरीले आनाकानी गरेपछि नेपाल प्रहरीको नेतृत्वले आवश्यक समन्वय र सहयोग नगर्दा रित्तै फर्कनुपरेको हो। पटना प्रहरी कार्यालयले गोइतलाई पठाउन आनाकानी गरेपछि तुरुन्तै प्रहरी प्रधान कार्यालयलाई यसबारे जानकारी गराएर सहयोग मागिएको थियो।

प्रहरी महानिरीक्षक शैलेश थापाले यसबारे गृहसचिव महेश्वर न्यौपानेलाई जानकारी गराए। न्यौपानेले परराष्ट्र मन्त्रालय र भारतीय दूतावाससम्म कुरा पुर्‍याए। ‘धेरै ठाउँमा कुरा पुग्यो। हल्ला भयो। उनलाई औपचारिक रुपमा हस्तान्तरण गर्नुपर्ने वा भारतमा अपराध गरेको ठहर गरेर थुन्नुपर्ने अवस्था सिर्जना भएपछि भारत सरकारले पठाउन चाहेन।

प्रहरी महानिरीक्षक वा उहाँको सचिवालयले समन्वय गरेको भए तुरुन्तै ल्याउन सकिन्थ्यो तर उहाँले धेरै ठाउँमा रिपोर्ट गरेपछि ल्याउन सकिएन’, पक्राउमा समन्वय गरेका एक प्रहरी अधिकारीले भने। ती अधिकारीका अनुसार निकै मेहनत गरेर गोइतलाई पक्राउ गरिए पनि प्रहरीको मूल नेतृत्वकै कारण ल्याउन नसकिएको हो।

२०७७ चैत १ मा मालपोत कार्यालय लहानमा बम विस्फोट हुँदा ८ जना घाइते भएका थिए। मालपोत कार्यालयमा विस्फोट हुनुअघि त्यसै दिन गोइत समूहका मुख्य नेता रामविलास यादवले जिल्ला प्रशासन कार्यालयमा आत्मसमर्पण गरेका थिए। उनले आत्मसमर्पण गरेको केही घण्टामै विस्फोट भएको थियो। सोही दिन साँझ गोइत समूहले विस्फोटको जिम्मेवारी लिएको थियो। तराईमा क्रियाशील सबैजसो भूमिगत समूह आत्मसमर्पण गरी शान्तिप्रक्रियामा आउँदा पनि गोइत समूहले भूमिगत सशस्त्र संघर्ष जारी राखेको छ।
नागरिक दैनिकमा खबर छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *