ताजा समाचार

आजदेखि कक्षा १२ को परीक्षा शुरू, ४ हजार ३१५ होम सेन्टरबाट पौने ४ लाख विद्यार्थीले परीक्षा दिँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज बुधबारबाट कक्षा १२ को परीक्षा शुरू गर्दै छ । कोरोना माहामारीले दुईपटक स्थगित गरिएको परीक्षा आजबाट शुरु हुन लागेको हो ।

असोज ८ गतेसम्म सञ्चालन हुने परीक्षामा ३ लाख ७४ हजार ४ सय १३ परीक्षार्थी सहभागी हुँदै छन् । परीक्षा समय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ । परीक्षामा सहभागी सबै विद्यार्थीलाई कोभिडविरुद्धको खोप लगाएपछि परीक्षा सञ्चालन हुने भएको हो । पछिल्लोपटक परीक्षा शुरु हुनु ८ दिनअघि साउन २३ गते परीक्षा स्थगित गरिएको थियो ।

आजबाट शुरु हुने परीक्षामा आफ्नै विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार ४ हजार ३ सय १५ विद्यालयमा होम सेन्टर कायम गरिएको छ ।

त्यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले परीक्षा स्थगित गर्न सिफारिस गरेपछि बोर्डले परीक्षा स्थगित गरेको थियो ।

राष्ट्रिय परीक्षा बोर्डले कोभिड–१९ संक्रमित विद्यार्थीलाई पछि परीक्षा दिने व्यवस्था गरेको छ । नियमित परीक्षा सकेलगत्तै अर्को सूचना जारी गरी एकपटकका लागि परीक्षा दिने व्यवस्था गरेको बोर्डले जनाएको छ । त्यस्तै कोभिड संक्रमणकै अवस्थामा परीक्षा दिन चाहने विद्यार्थीका लागि आइसोलेसन कक्षको व्यवस्था गर्न सबै केन्द्रलाई निर्देशन दिइसकेको छ । तर, संक्रमित परीक्षार्थीले पछि परीक्षा दिन चाहेमा प्रमाणसहित प्रक्रिया पूरा गरे एकपटकका लागि व्यवस्था मिलाइएको बोर्डले जनाएको छ । बोर्डको बैठकले संक्रमितलाई निको भइसकेपछि परीक्षा दिने व्यवस्था गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *