रिबन

कार्गाे रेलमा भारतबाट आयाे वीरगञ्जमा सामान

काठमाण्डाैं । नेपालमा पहिलो पटक निजी रेलले भारतबाट सामान ल्याएको छ । भारतको हल्दिया बन्दरगाहबाट वीरगन्जस्थित सिर्सिया सुख्खा बन्दरगाहमा भारतीय ढुवानी कम्पनी हिन्द टर्मिनल प्रालिले आफ्नै रेलमा सामान ल्याइपुर्याएको हो ।

बुधबार बिहान १० बजे वीरगन्जस्थित सुख्खा बन्दरगाहमा ९० कन्टेनर सामान निजी रेलले ल्याएको छ । सन् २०२१ को जुलाईमा नेपाल भारतबीच भएको रेल सेवा सम्झौता पुनरावलोकनपछि सामान आयात निर्यातमा निजी रेल सेवासमेत प्रयोग गर्न सकिने गरी रेल सम्झौता भएपछि यसरी सामान ल्याइएकाे हाे ।

रेलले नेपाली व्यवसायीले मगाएको खाद्यान्न सामग्री ल्याएको छ। निजी रेलले पनि नेपालमा सामान ढुवानी गर्न पाउने भएपछि ढुवानीमा प्रतितिस्पर्धा बढ्ने र २० प्रतिशतसम्म ढुवानी भाडा सस्तो हुने नेपाली व्यावसायीले ठानेका छन ।

रेल सेवा संशोधनपछि निजी कार्गाे

नेपाल भारतबीच सन् २००४ मा भएको रेल सेवा सम्झौताले रेलमार्फत हुने ढुवानीमा भारतीय रेल्वेको भगिनी संस्थाको रुपमा रहेको कन्टेनर निगम (कोन्कर) लाई एकाधिकार दिइएको थियो । १७ वर्षपछि भारतीय कन्टेनरको एकाधिकार तोड्दै गत असार २५ गते सम्झौता संशोधन गरिएको थियो ।

रेल सेवा संशोधनको करिब दुई महिना पश्चात पहिलो पटक निजी कार्गाे रेल वीरगन्जस्थित सुख्खा बन्दरगाहामा आएको हो । गत असार २५ गते रेल सेवा सम्झौता संशोधनमा नेपालका तर्फबाट वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराई र भारतका तर्फबाट भारतीय रेल मन्त्रालयअन्तर्गतको परिचालन एवं व्यवसाय विकास विभागका सदस्य सञ्जयकुमार मोहान्तीको नेतृत्वमा भर्चुअल समारोहमा कूटनीतिक पत्र तथा दुवै पक्षले हस्ताक्षर गरेको लेटर अफ एक्सचेन्ज आदानप्रदान गरिएको थियो ।

नेपाल लक्षित पारवहन कार्गो ढुवानीका लागि नेपाल रेल्वे कम्पनीको स्वामित्वमा रहने रेल तथा वागनले वीरगञ्ज र विराटनगरदेखि कोलकाता÷ हल्दियासम्म रेल सेवा दिनसक्ने गरी सम्झौता संशोधन गरिएको थियो । यस्तै, नेपालको वीरगञ्जसम्म रेल सेवा उपलब्ध भएकोमा विराटनगर, भैरहवा र इनरवामा रेलसम्बद्ध पूर्वाधार तयार भएपछि रेल सेवा विस्तार गर्दै जाने समेत सहमति गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *