समाचार

सुकुम्बासी आयोगकाे अध्यक्षमा निरौला नियुक्त

काठमाडौँ । सरकारले सुकुम्बासी समस्या समाधान आयोग गठन गरेको छ । नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय अध्यक्ष केशव निरौलालाई आयोगको अध्यक्ष नियुक्त गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले मोरङका निरौलालाई आयोगको अध्यक्षमा नियुक्त गरेको स्रोतले जनाएको छ ।

सिंहदरबारमा रहेकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको शपथ ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष निरौलाले सुकुम्वासीका समस्या हटाउने बताए । उनले सुकुम्वासी समस्याका नाममा धेरै समयसम्म देशमा जटिलता थपिँदै गएकाले आफ्नो नेतृत्वको टिमले ती समस्या हटाउने प्रयत्न गर्ने बताए ।

केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले २०७७ साल वैशाखमा एमाले नेता देवी ज्ञवालीको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन गरेको थियो । अहिलेको सरकारले कार्यकालको सुरुवातमै आयोग विघटन गरेको थियो । यससम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन छ ।

शपथ ग्रहण समारोहमा गृह मन्त्री बालकृष्ण खाणका साथै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल तथा मुख्य सचिव शंकरदास वैरागीसहितको उपस्थिति रहेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *