रिबन

एमाले संसद अवरोध असर ‘बजेट होलिडे’ : कर्मचारीले तलव खान र कोरोनाविरुद्धको खोप आयातमा असर

काठमाडौं । नेकपा एमालेको लगातार संसद अवरोधका कारण सरकारी कोषबाट पैसा गर्न नमिल्ने अबस्था सिर्जना भएको छ ।

यसअघिको एमाले नेतृत्वको सरकारले अध्यादेशबाट बजेट ल्याएको र अहिलेको सरकारले त्यही अध्यादेश प्रतिस्थापन विधेयक संसदमा पेश गर्न एमालेले नै नदिएका कारण नेपालको इतिहासमा पहिलोपटक बजेट शुन्यताको अबस्था आएको हो ।

सरकारले बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विेधेयक ससदमा पेश गरेको भएपनि पारित गर्न एमालेले नदिएका कारण बजेट होलिडेको अबस्था आएको हो । जसका कारण सरकारी कर्मचारीको तलब सुविधा समेत रोकिने भएको छ ।

बुधबारसम्म प्रतिस्थापन विधेयक पारित गर्नुपर्ने भएपनि एमालेको निरन्तरको अवरोधका कारण विनियोजन विधेयक पारित हुन सकेको छैन । एमालेसँ संवाद गर्नका लागि सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक समेत एमालेले बहिस्कार गरेको थियो ।

त्यसबाहेक सत्तारुढ गठबन्धनले समेत एमालेसँग वार्ता गर्ने निर्णय गरेको थियो । त्यसैअनुसार संसलदको गतिरोध हटाउन कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमाल संसदीय दलका उपनेता सुवास नेम्वाङलाई आग्रह गरेका थिए । तर एमाले संसदको गतिरोध हटाउन तयार नभएका कारण प्रतिनिधिसभाको आगामी बैठक असोज ४ गतेका लागि बोलाइएको छ ।

सरकारले नियमित रुपमा गर्नुपर्ने कामका लागि रकम खर्च नपाउने भएपनि कर उठाउन पाइने व्यवस्था रहेको छ । त्यसबाहेक विदेशी ऋणको सावाँ र ब्याज, स्वदेशी ऋणको सावाँ र ब्याज, संवैधानिक निकायहरूको नियमित खर्च भुक्तानी गर्न मिल्ने व्यवस्था भने रहेको छ ।

बजेट होलिेडेका कारण सरकारले कोरोनाविरुद्धको खोप समेत आयात गर्न नसक्ने अबस्था सिर्जना भएको छ । देशभित्रको खर्च चलाउन उधारो कारोबार हुनसक्ने देखिएपनि विदेशबाट आयात गर्नुपर्ने खोप आयात समेत प्रभावित हुनसक्ने देखिएको छ ।

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा बजेट पारित हुन ढिला भएर एक महिनासम्म सरकारी कार्यालयहरू नै बन्द गरिएका थिए । नेपालमा समेत त्यस्तै अबस्था आउनसक्ने आशंका समेत उत्पन्न भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *