शिक्षा / स्वास्थ्य

स्कुल तत्काल नखोल्न जिप्रका काठमाडौंको अनुरोध

काठमाडौं । कोभिड–१९ संक्रमणको अवस्था विश्लेषण गरी तथा स्वास्थ्य मापदण्ड पूरा भए नभएको महानगर अथवा नगरपालिकाको अध्ययन नगरी तत्काल स्कूल नखोल्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुरोध गरेको छ । आउँदो सोमबारदेखि स्कुल सञ्चालनको तयारी भइरहेका बेला जिल्ला प्रशासन कार्यालयबाट यस्तो सूचना जारी भएको हो ।

विद्यालयले भौतिक उपस्थितिमा पठन पाठन गराउने हो भने महानगरपालिका तथा नगरपालिकाले विद्यालय सञ्चालन गर्नुपूर्व आ–आफ्नो पालिकास्तरमा कोभिड–१९ संक्रमणको अवस्था विश्लेषण गर्ने, विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, सवारी चालक तथा सहचालक, क्यान्टिन सञ्चालक र सञ्चालन समितिका पदाधिकारीहरु सबैले अनिवार्य रुपमा कोभिड–ज्ञ९ विरुद्धको खोप लगाउनुपर्ने, अभिभावक तथा सरोकारवाला समूहहरुको छलफल र समन्वयमा स्थानीय तहमा विद्यालय सञ्चालनको विवरण तथा ढाँचा तयार गरी नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालय सञ्चालन गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी कोभिड-१९ को संक्रमण कायमै रहेको हुँदा अनावश्यक रुपमा मानिसहरु घर बाहिर निस्कने, जम्मा हुने, भिडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोज आदि नगर्ने/नगराउने।

यस अवधिमा पर्ने चाडपर्वहरु स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी न्यूनतम सहभागितामा साङ्केतिक रुपमा मात्र मनाउन पाउने तथा सर्वसाधारण व्यक्ति, समूह तथा संस्था लगायतका निकायहरुबाट आर्थिक, सामाजिक, व्यवसायिक तथा अन्य गतिविधिहरु संचालन गर्दा मास्कको अनिवार्य प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, पटक पटक साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने र नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरेर मात्र गर्न पाउने।

स्थानीय ढुवानी बिहान ९:०० बजे देखि ११:०० बजेसम्म र अपरान्ह ४:०० बजे देखि ७:०० बजेसम्म गर्न नपाउने, सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म, संचालन गर्न पाउने। कोभिड-१९ को लक्षण देखिएका तथा संक्रमितको सम्पर्कमा परेका व्यक्तिहरुले
नेपाल सरकारले निःशुल्क व्यवस्था गरेको एन्टिजेन तथा पिसिआर परीक्षणका लागि सम्बन्धित स्थानीय तह, जिल्ला अस्पतालसँग सम्पर्क गरी परीक्षण गराउन, भिडभाडबाट बच्न तथा बचाउन सतर्क रही स्वास्थ्य मापदण्डको प्रभावकारी पालना गर्ने/ गराउने।

कोभिड-१९ सम्बन्धी आदेशको प्रभावकारी पालना सम्बन्धमा सुरक्षा निकायबाट नियमित तथा आकस्मिक अनुगमन गरिनेछ। अनुगमनका क्रममा यस आदेशको अवज्ञा भएको पाइएमा संक्रमक रोग ऐन,२०२० अनुसार कारवाही हुनेछ। संक्रमण बढ्न गएमा यस आदेशमा भएका व्यवस्थाहरु कुनै पनि बेला पुनरावलोकन गर्न सकिनेछ विज्ञप्तीमा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *