विचार

संसदमा प्रदर्शित राजनीतिक संस्कार !

हाम्रो देशका राजनीतिक दलहरु र दलको नेतृत्व आफैले बनाएको र हस्ताक्षर गरेको संवैधानिक व्यवस्था, शासन प्रणाली र दलीय मूल्य र मान्यताप्रति इमान्दार, जिम्मेवार र उत्तरदायी बन्न सकेनन् । जसको परिणाम स्वरुप निराशा, कुण्ठा र आक्रोस पैदा भएको छ । कोही कसैप्रति आश्वस्त र विश्वास हुने अवस्था छैन । नेतृत्वपंक्ति सबैभन्दा बढी अविश्वासनीय ठहरिएको छ । जुनसुकै दलको नेतृत्व पनि जनताको नजरमा उस्तै उस्तै हो भन्ने परेको छ । फरक किसिमको कार्यशैली, सोच र व्यवहार देखाउन नसक्नु नै असफलता र अविश्वानीयताको कारण हो । व्यक्तिको परिवर्तनले समाधान दिन नसक्ने रहेछ भन्ने घटनाक्रमले पुष्टि गरेको छ ।

जनताले दिएको जिम्मेवारी इमान्दारीताका साथ पूरा गर्न नसक्ने राजनीतिक नेतृत्वबाट धेरै आशा राख्नु मुर्खता नै हो । कम्तीमा आफूले प्रतिबद्धता जाहेर गरेको र हस्ताक्षर गरेको विषयमा त इमान्दार बन्न सक्नुपर्छ । त्यो पनि नेपालका राजनीतिक दल र यसको नेतृत्वमा पाइएन । आफ्नो अनुकूलता र प्रतिकूलतामा आधारित भएर घटनाक्रमको साक्षी बस्नेसम्मको भूमिकाका लागि त परिवर्तन आवश्यक नै छैन । जनअपेक्षा अनुरुप समयसापेक्ष भएर प्रस्तुत हुनुपर्ने आवश्यकतातर्फ ध्यान दिन नसक्नेहरुकै कारण संविधान, प्रणाली तथा दलीय व्यवस्थामाथि नै प्रहार र अन्तुष्टि बढेको हो । यसप्रति कुनै पनि दल र दलको नेतृत्व गम्भीर छैन । जनतामा आधारित व्यवस्था स्थापनार्थ भएका आन्दोलनहरु सफल हुने तर त्यसको व्यवस्थापन असफल हुने निर्यातबाट सिक्ने क्षमता नै नेतृत्वमा देखिएन । अस्वभाविक प्रभावप्रतिको आकर्षणबाट निर्देशित भएर अस्वस्थ र बेइमान अभ्यासको मोह राख्ने प्रवृत्ति राजनीतिमा हाबी हुने र त्यसको स्वार्थ बुझेर चल्ने नोकरशाहीतन्त्रकै कारण नेपालले प्राप्त गर्नुपर्ने उपलब्धी हासिल भएन । यसको निरन्तरताबाट बाहिर निस्कने र निकाल्न सक्ने नेतृत्वको अभाव सबैभन्दा बढी खड्किएको छ ।

पटक पटक संसद विघटन गर्ने, अदालतले पुनस्र्थापना गरिदिनुपर्ने, अध्यायदेशमार्फत् शासन चलाउने सोच कहाँबाट आयो ? यही हो हामीले परिकल्पना गरेको शासन व्यवस्था र अवस्था ?

संविधानसभाबाट संविधान जारी गरेपश्चातको छ वर्षलाई समीक्षा गर्दा यसको स्वामित्व सबै राजनीतिक दलको हुन्छ, त्यहाँ जनताको अपनत्व पनि देखिन्छ भन्ने दृष्टिकोण राखिएको हो । तर त्यसको दायरा पनि त्यत्ति धेरै फराकिलो भएन । संविधान जारी गर्ने समय सन्तोषजनक थिएन । देशभित्र पनि देखिएन, छिमेकीहरु पनि खुलेरै असन्तुष्ट देखिए । नाकाबन्दीसम्मको अमानवीय व्यवहार नेपालले सामना गर्नुप¥यो । त्यसमा हाम्रो कमजारी ज्यादा रहेको छ । छिमेकीहरुलाई हारगुहार गरेर सहयोग माग्ने अनि उनीहरुको सल्लाह, सुझाव र सरोकारप्रति बेखबर हुने हाम्रो रबैयाले यहाँसम्म पु¥याएको हो । आन्तरिक मामिलामा खोजिएको सहयोगका कारण नेपालको संविधान शासन प्रणाली र शासकीय स्वरुपमा बाह्य स्वार्थ वा चाहना सलबलाएको हो । यो तथ्यलाई मनन गरी घरेलु नीति तय गर्न समेत हाम्रा दल र दलको नेतृत्व असफल भएकाले सरकार र यसको नेतृत्व असफल भएको हो ।

नेकपा दुईतिहाइ नजिकको सरकार विघटन भएर नेपाली कांगे्रसको नेतृत्वमा सरकार बनाउनु पर्ने परिस्थिति बन्नुमा हाम्रा घरेलु नीतिले धेरै हदसम्म भूमिका खेलेको छ। कस्तो सोच, चिन्तन र दृष्टिकोणबाट निर्देशित छ नेतृत्व ? तयसले धेरै कुरा निर्धारण गर्दोरहेछ । नेकपा विभाजित भएर एमाले र माओवादी कायम हुने, एमाले विभाजित भएर समाजवाी बन्ने, जसपा विभाजित भइ लोकतान्त्रिक हुने जस्ता घटनाक्रम हाम्रो नेतृत्वको स्वार्थपरक नीति, सोच र दृष्टिकोणको कारण विकसित भएको हो । जनताले यस्तै अवस्था आउँछ वा आउँला भन्ने ठानेर भ्रामक आन्दोलनमा सहयोग र सहभागिता जनाएका थिएनन् । परिवर्तनको प्रतिफल महसुस हुने आशा र विश्वासका साथ आन्दोलनको सारथी बनेका थिए । खै त दलहरुले दलहरुले यसप्रति गम्भीरता देखाएको ?

छिमेकीहरुलाई हारगुहार गरेर सहयोग माग्ने अनि उनीहरुको सल्लाह, सुझाव र सरोकारप्रति बेखबर हुने हाम्रो रबैयाले यहाँसम्म पु-याएको हो ।

नेकपा जनताले विभाजित गरिदिएको त होइन । एमाले किन अलग थलग भयो ? यसमा असजिलो महसुस हुनुपर्ने होइन नेताहरुलाई ? विभाजन जनताका निम्ति भएको हो कि आ–आफ्ना स्वार्थका निम्ति ? जनताको चाहना, आवश्यकता र मुद्दा कही कसैले उठाएको छ त ? घन्टौं भएका छलफलमा जनसरोकारका विषय उठेनन् । आफ्ना निजी स्वार्थ र सरोकारले मात्र प्राथमिकता पायो । आफूहरु मिल्न नसकेर हरेक ठाउँमा समस्या सिर्जना भएको प्रति थोरै नि खेद, चिन्ता वा आत्मालोचना छैन । एकले अर्को पक्षलाई अर्घेलो देखाएर संविधान, शासन प्रणाली र जनताको अपेक्षाको तेजोबध गर्न मिल्छ ? हुँदाहुँदा संसद चल्न नसकेर, संसद छलेर जननिर्वाचित संस्थाको हुर्मत लिएर सरकार बेखर्ची बन्ने अवस्थामा आइपुगेको छ । के जनताले यस्तै अवस्थाको परिकल्पना गरेर आन्दोलनमा सहभागिता जनाएका थिए ? ‘हलो अड्काएर गोरु कुट्ने’ उखान चरितार्थ भएको छैन ? के यही हो लोकतान्त्रिक संस्कार र संस्कृति ? यसको जवाफ दिनु पर्दैन ? पटक पटक संसद विघटन गर्ने, अदालतले पुनस्र्थापना गरिदिनुपर्ने, अध्यायदेशमार्फत् शासन चलाउने सोच कहाँबाट आयो ? यही हो हामीले परिकल्पना गरेको शासन व्यवस्था र अवस्था ?

कहि पनि उत्तरदायी र जवाफदेही बन्नु नपर्ने ? संसदमा देखिएको तान्डप नृत्य अर्को अमर्यादित दृष्टान्त हो । हंगामा, भागाभाग र लिगलिगे दौडले हामीलाई कहाँ पु¥याउँछ ? राजनीतिक क्षेत्रका मुर्धन्य व्यक्तिहरुले प्राज्ञिक क्षेत्रका प्रभावशाली व्यक्तित्वले, सञ्चार क्षेत्रले, नागरिक समाजका अग्रणीहरुले हस्तक्षेप गर्नुपर्ने अवस्था आएको छ । असफल राजनीतिक नेतृत्वलाई विस्थापन गरेर जनताप्रति उत्तरदायी हुने राजनीतिक संस्कार र संस्कृतिको विकास गर्न गराउन सक्ने नेतृत्वको आवश्यकता तड्कारो भएको छ । सबैले खबरदारी गर्दै त्यस दिशातर्फको यात्रा आरम्भ गरेमा सकरात्मक परिवेश निर्माण हुनेछ । बोल्नु प-यो र निस्किएर सचेत गराउनु प¥यो, त्यो नै चेतनशील नागरिकको कर्तव्य हो । विधि विधान, प्रणाली र प्रक्रियाप्रति इमान्दार बन्न सकेऔं भन्ने सन्देश प्रवाह गरौं ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *