गण्डकी प्रदेश

फेवाताल मिच्नेहरु चैनले सुत्न पाउँदैनन् – देवकोटा

पोखरा । नेकपा माओवादी केन्द्रको भ्रातृसंस्था योङ कम्युनिस्ट लिग (वाईसिएल) का केन्द्रीय संयोजक सुमन देवकोटाले भ्रष्टाचार गर्ने र फेवा मिच्नेलाई चैनले सुत्न नदिने चेतावनी दिएका छन् । तालको जग्गा हडपेर संरचना बनाउनेलाई सडकमा ल्याउने उनले बताए ।

‘सरकारसँग विनम्र आग्रह गर्छौं कि फेवाको सबै जग्गा राज्यको नाममा ल्याओस् । नभए कसले तालको जग्गा मिचेको छ, उसलाई सडकमा निकाल्छौं,’ उनले भने, ‘ताल मिचेर खानेहरूले चैनको निद्रा सुत्न पाउँदैनन् । वाईसिएलले उनीहरूलाई सुत्न दिँदैन ।’

पोखरामा शनिबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले सरकारी सम्पत्ति मिचेर व्यक्तिगत स्वार्थमा चलाउनेलाई नांगेझार पार्ने चेतावनी दिए । उनले सबै वडामा संगठन विस्तार गर्ने र पालिकाका सबै भ्रष्टाचार पर्दाफास पार्ने दाबी गरे । ‘पालिकामा भ्रष्टाचार धेरै भएका छन् । हाम्रो मुख्य एजेन्डा भ्रष्टाचार विरोधी काम हो,’ देवकोटाले भने, ‘कसले कति खायो, विकासको अवस्था कस्तो छ ? हामी खोज्छौं र निकाल्छौं ।’

उनले एमसीसी देशको स्वाधीनता र सार्वभौमविरुद्ध भएको तर्क गरे । ‘संविधान बन्धकी राखेर कुनै पनि देशको अनुदान नेपाललाई स्वीकार्य छैन । माओवादीले त्यो स्पष्टसँग भनिसकेको छ,’ उनले थपे, ‘वाईसिएल पनि एमसीसी यही हालतमा स्वीकार्न सक्दैन ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *