समाचार

नेता बन्न खोज्नेहरुले जनताको पीडा बुझ्नुपर्छः नेता बस्नेत

बाह्रबिसे । जिल्लाका विपद् प्रभावितको सहयोगका लागि दीर्घकालीन नीति बनाउनुपर्ने नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सूचना तथा सञ्चार मोहनबहादुर बस्नेतले बताए । नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ ले आयोजना गरेको प्राकृतिक विपत्तीमा नेपाली कांग्रेसको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता बस्नेतले भने, ‘जनताको जीउ धनको रक्षा गर्नु राजनीतिक दलको पहिलो कर्तव्य हो । जनता नै नभए राजनीतिको अर्थ रहँदैन । नेता बन्न खोज्नेहरुले जनताको लागि सोच्नुपर्छ ।’

नेपाली कांग्रेस विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका बस्नेतले कोरोना र बाढी पहिराको त्रासमा जनता बसिरहेको बेला राहत बाढ्नुको सट्टा क्रियाशील सदस्य नै नभएकाहरुलाई जिल्ला सदस्य बाढ्दै हिडेकोप्रति आक्रोस पोखे । उनले भने, ‘हेलम्बु मेलम्चीका स्थानीयले बाढीको पीडा भोगेका छन् उनीहरुको लागि हामीले सोच्न पर्दछ । बाटो घाटो पुल पुलेसा निर्माण तत्काल गर्नुपर्ने र पीडित स्थानीयको लागि दीर्घकालीन कार्ययोजना बनाएर सहयोग गर्नुपर्दछ ।’

सिन्धुपाल्चोकमा बामपन्थी गठबन्धनले निर्वाचन जिते पनि जनताको लागि सिन्को भाँन्च नसकेको आरोप नेता बस्नेतले लगाए । सभामुखदेखि संघीय मन्त्री, प्रदेश मन्त्री हुँदासमेत कोरोना र बाढी पीडितले राहतसमेत नपाएको बस्नेतले बताए । नेपाली कांग्रेस खेलकुद विभागसमेत रहेका नेता बस्नेतले सिन्धुपाल्चोक मात्रै नभएर देशैभर काँग्रेसले प्राकृतिक विपत्तीमा अभिभावकीय भूमिका खेलेको बताए ।

कार्यक्रममा नेकपा माओवादी र एमाले त्याग गरेर कांग्रेसमा प्रवेश गरेका पाँच दर्जनभन्दा बढी युवालाई नेता बस्नेतले खाँदा लगाएर स्वागत गरेका थिए ।

केन्द्रीय सदस्य तथा पूर्व गृहराज्यमन्त्री बिष्णुविक्रम थापाले विपत्तीमा हरदम साथ दिन काँग्रेस तयार रहेको बताए । क्षेत्रीय सभापति बालकृष्ण बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा महाधिवेशन प्रतिनिधि प्रेमध्वज लामा, हरिशरण श्रेष्ठ, जिल्लाका पुराना नेता भोला बोहोरालगायतले बोलेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *