समाचार

चैनपुरमा महिला उद्यमशीलता तथा खाद्य सुरक्षासम्वन्धी त्रिदिवसीय तालिम सम्पन्न

चैनपुर । संखुवासभाको चैनपुरमा महिला उद्यमशीलता तथा खाद्य सुरक्षासम्वन्धी तीन दिने तालिम सम्पन्न भएको छ । टेवा नेपाल ललितपुरको सहकार्यमा सिद्धकाली महिला सशक्तिकरण समिति चैनपुरले २०७८ भदौ ३१ गतेबाट सुरु गरेको तालिम शनिबार सम्पन्न भएको हो ।

तालिमको पहिलो दिन खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख अनुप हलुवाइले खाद्य सुरक्षासम्वन्धी तालिम दिएका थिए । तालिममा हलुवाइले मात्रा मिलाएर खानपान गर्ने, खानेकुरा भण्डारण विधिका साथै खाद्य सुरक्षासम्वन्धी सहभागीलाई जानकारी गराएको महिला सशक्तिकरण समितिकी सचिव नमिता काफ्लेले जानकारी दिइन् । सचिव काफ्लेका अनुसार दोश्रो र तेस्रो दिनको महिला उद्यमशीलतासम्वन्धी सहभागीहरुलाई तालिम दिइएको थियो । महिला उद्यमशीलता तर्फको उद्यम विकास संघ झापा जिल्ला अध्यक्ष निर्मला भण्डारी र झापा नमुना लघु उद्योगकी अध्यक्ष सकुन्तला प्याकुरेलले तालिम दिएकी थिइन् ।

तालिममा प्रशिक्षकले महिलाहरुलाई उद्यमशील बन्न प्रेरित गरेका थिए । आफ्नो उत्पादन ब्रान्डिङ गरेर बजारीकरण गर्ने टिप्सहरु सहभागीहरुलाई दिइएको थियो । तालिममा सिद्धकाली महिला सञ्जालद्वारा सञ्चालित महिला समुहका १० जना र सख्खर, डल्ले खुर्सानी उत्पादन क्षेत्रका १० जना महिलाहरुसहित २५ जनाले सहभागिता जनाएका थिए । महिला सशक्तिकरणका क्षेत्रमा अग्रसर सद्धकाली महिला सशक्तिकरण समितिले प्याकिङ मेसिनसमेत खरिद गरिसकेको अध्यक्ष हेमकुमारी चाैहानले बताइन् ।

महिला सशक्तिकरणका क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको सिद्धकाली महिला सशक्तिकरण समिति चैनपुरले समय समयमा महिलामैत्री कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सिद्धकाली महिला सशक्तिकरण समितिकी अध्यक्ष हेमकुमारी चौहानको अध्यक्षतामा भएको तालिमको समापन समारोहमा चैनपुर नगर उपप्रमुख मुना श्रेष्ठले प्रमुख आतिथ्यता ग्रहण गरेकी थिइन् । सिद्धकाली महिला सशक्तिकरणकी कोषध्यक्ष जापानी गुरुङले कार्यक्रममा स्वागत मन्तव्य राखेकी थिइन् । समापन कार्यक्रममा चैनपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण ढकाल, बोधी जागृति महिला समुहकी सचिव कमला श्रेष्ठ, एमालेका पार्टी प्रतिनिधि चन्द्रमणी दाहाल, कार्यपालिका सदस्य लक्ष्मी अधिकारीलगायतले धारणा राखेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *