फिचर

हाइड्रोजन इनर्जीको अनुसन्धानमा काठमाडौँ विश्वविद्यालय

काठमाडौँ । पेरिस सम्झौताले निर्दिष्ट गरेका लक्ष्य हासिल गर्न विश्वका १९४ भन्दाबढी मुलुकले हरितगृह ग्यास उत्सर्जन घटाउन र जलवायु परिवर्तन अनुकूलनका लागि आक्रामक योजना अगाडि सारेका छन् । सन् २०१५ को पेरिस सम्झौताले सन् २०५० सम्म हरितगृह ग्यास उत्सर्जन शून्यमा झार्ने लक्ष्य लिएको छ । विकसित मुलुकले हरित ग्यास उत्सर्जन घटाउन महत्वकाङ्क्षी योजना अघि सारेका छन् ।

बेलायतले २०५० सम्म हरितगृह ग्यास उत्सर्जन शून्यमा झार्ने उद्देश्यका साथ सन् २०२५ देखि कोइलाको प्रयोगमा प्रतिबन्ध लगाएको छ । अमेरिका, चीन, जापान, युरोपेली मुलुकले पनि नवीकरणीय ऊर्जाको प्रयोगमार्फत कार्बन उत्सर्जन कम गर्ने उद्घोष गरेका छन् । उनीहरुले विभिन्न नियम, कानून बनाएका छन् । हाइड्रोजन, सौर्य ऊर्जालगायत नवीकरणीय ऊर्जामा लगानी बढाइरहेका छन् । जीवाष्म इन्धन ९फोसिल फ्यूल० को बढ्दो खपत र प्राकृतिक स्रोत साधनको अधिक दोहनले गर्दा विश्वव्यापी तापमानमा वृद्धि भएको छ । यसबाट प्राणी र वनस्पति जगत्का लागि आगामी दिन अझ कठिन बन्दै जाने देखिएको छ ।

जीवाष्म इन्धनको विकल्पका रुपमा विश्वभर नवीकरणीय ऊर्जाको प्रयोग बढ्दै गइरहेको छ । नवीकरणीय ऊर्जाको खोजीमा विश्वभरका वैज्ञानिक जुटेका छन् । मुख्यतः जीवाष्म इन्धनको प्रयोग ऊर्जा उत्पादनमा भइरहेको छ । प्राकृतिक इन्धनको सट्टा नवीकरणयीय ऊर्जाको प्रयोग बढाउने र हरितगृह ग्यास उत्सर्जन शून्यमा झार्ने लक्ष्यका साथ वैज्ञानिक अनुसन्धान भइरहेका छन् । त्यसको भरपर्दो विकल्पका रुपमा ‘हाइड्रोजन इनर्जी’ लाई लिइएको छ ।

हवाई जहाज उत्पादन गर्दै आएको बोइङ र एयरबस कम्पनीले सन् २०३५ भित्र हाइड्रोजन इनर्जीबाट जहाज उडाउने घोषणा गरेका छन् । युरोपेली मुलुकमा सन् २०१८ देखि नै हाइड्रोजन इनर्जीबाट चल्ने बस गुड्न थालेका छन् । त्यस्तै युरोपमै हाइड्रोजन इनर्जीबाट रेल चल्न थालेका छन् । चीनले पाँच वर्षभित्र पाँच ठूला हाइड्रोजन उद्योग खोल्ने योजना अगाडि सारेको छ । नर्वे २०२५ सम्ममा नयाँ पेट्रोल र डिजेल कार बिक्री बन्द गर्ने योजनामा छ ।

अहिले विश्वमा हाइड्रोजनको प्रयोग नगन्यमात्रामा भइरहेको छ । ऊर्जाका रुपमा सबैभन्दा बढी प्राकृतिक ग्यासको प्रयोग ४८ प्रतिशत, तेलको प्रयोग ३० प्रतिशत, कोइलाको प्रयोग १८ प्रतिशत र हाइड्रोजनको प्रयोग ४ प्रतिशतमात्र भएको छ ।

नेपाल पनि सन् २०५० सम्म हरितगृह ग्यास उत्सर्जनलाई शून्यमा झार्ने पेरिस सम्झौताको उद्देश्य हासिल गर्न जीवाष्म इन्धनको विकल्पमा हाइड्रोजन इनर्जीको सम्भाव्यता खोजीमा जुटेको छ । नेपाल आयल निगमको सहकार्यमा काठमाडौँ विश्वविद्यालयले हाइड्रोजन ऊर्जाको परीक्षण थालेको छ । काठमाडौँ विश्वविद्यालयले हाइड्रोजनबारे अध्ययन सुरु गरेको एक वर्ष भएको छ ।

परीक्षणका क्रममा आएका नतिजाले अनुसन्धानमा संलग्न विश्वविद्यालयका समूह उत्साहित देखिएका छन् । ग्रीन हाइड्रोजन ल्याबका प्रमुख डा विराजसिंह थापा हाइड्रोजनको परीक्षणका सिलसिलामा आएको नतिजाले जीवाष्म इन्धनको भरपर्दो विकल्प हाइड्रोजन बन्नसक्ने बताए । हाइड्रोजन प्रविधि करिब २०० वर्षअघि पत्ता लागेको हो । विकसित मुलुकले यसलाई प्रयोगमा ल्याइसकेका छन् । “हाइड्रोजन प्रविधि निकै पुरानो, सुलभ प्रविधि हो, विज्ञानले धेरै अघि प्रमाणित गरेको भए पनि समाजले स्वीकार्न नसक्दा पछि परेको हो”, उनले भने, “अबको विश्व जीवाष्म इन्धनबाट बाहिरिँदै गर्दा पछिल्ला दिन नेपालमा पेट्रोलियम पदार्थको प्रयोग बढ्दै जानु विडम्बना हो, यसलाई ‘क्र्याक डाउन’ गर्ने हाइड्रोजन इनर्जीले नै हो ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *