समाचार

‘पहाडकी रानी बन्दीपुर’काे बयान

तनहुँ । भक्तपुरे शैलीमा बनेका इँट्टाका घर । बुट्टा भरेका आँखीझ्याल । कलाले सिँगारेका टुँडाल । शान्त बजार, त्यहीँ बजारको बीचमा ढुंगाको छपनीले चिठेको बाटो, जहाँ मोटर गाडी गुडाउन बन्देज छ । भीमसेनको मन्दिर । थानीमाई, खड्गदेवी । तीनधारेको चिसो पानी । एक हजार ३० मिटरको उचाइमा फराकिलो टुँडिखेल, जहाँबाट उत्तरतर्फ फर्कंदा आँखै अगाडि देखिन्छन् अन्नपूर्ण, धौलागिरि, लमजुङ, मनास्लु, बौद्ध, फिस्टेल हिमालसँगै १९ वटा हिम चुचुरा ।

मर्स्याङ्दी नदीले बनाएको सुन्दर उपत्यका पनि । हिम चुचुराबाट आएको हावाको झोँक्काले मुटुमा स्पर्श गर्छ र फेरि आउन निम्तो दिन्छ । यिनै विशेषताले २५० वर्षे लामो इतिहासमा पहिले व्यापारिक गढी कहलिएको बन्दीपुर अहिले पर्यटकीय शहर बनेको छ । घुम्न आउने घुमन्तेले यो शहरलाई उपमा दिए ‘पहाडकी रानी बन्दीपुर,’ जुन विश्वभर प्रख्यात छ ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण थाल्दै थिए । गोरखाबाट मर्स्याङ्दी पूर्वतर्फका राज्यमा उनको बहादुरी हावी हुँदै गयो । पश्चिमतर्फका राज्य पनि कब्जा गर्दै गए । काठमाडौं आक्रमणका बेला बन्दीपुर उक्लिएछन् भक्तपुरे नेवारहरू । 

भक्तपुरबाट आएका प्रधान, पिया, श्रेष्ठ, मल्ल र जोशीले बन्दीपुरलाई थातथलो बनाए । नेवारी कला, संस्कृति र श्रमले सिँगारे बन्दीपुरलाई । नेवारहरूले जानेकै व्यापार गर्न, बन्दीपुरमा पनि सुरु भयो व्यापारको खेती । डाँडाकाँडामा कपासको खेती हुन थाल्यो । इस्ट इन्डिया कम्पनीसित बन्दीपुरे नेवारले सम्पर्क राखे ।  वीरगंजको छोटी अड्डा हुँदै माल सामान ल्याएर ल्याएर बेच्न थाले, नुनदेखि सुनसम्म । 

तनहुँ, गोरखा, धादिङ, लम्जुङ, मनाङ, कास्कीको मुख्य बजार थियो रे ऊ बेला बन्दीपुर । बाग्लुङको बुर्तीबाङ हुँदै रुकुम, रोल्पासम्म पनि बन्दीपुर हुँदै मालसामान लैजान्थे रे ! रगतमै व्यापार भएका नेवारहरूले बन्दीपुरलाई चम्काए । भारत र तिब्बतलाई जोड्ने व्यापारिक गढीसमेत बनाए बन्दीपुरलाई । 

बन्दीपुरको इतिहासबारे जानकार मणिकुमार प्रधान सुनाउँछन्, ‘भारतबाट नुनदेखि सुनसम्म ल्याएर बेच्थे । कस्तुरी, बोझपत्र, बाघका छाला, भालुका पित्त तिब्बत मनाङतिरबाट ल्याउने गरेको सुनिन्थ्यो ।’

प्रधानका अनुसार व्यापारी र भरियाको लावालस्कर हुन्थ्यो बन्दीपुरमा । ‘बटौलीतिरको बाटो तताएका र माल सामान बोकेर फर्किएकाको दुई लाइन हुन्थ्यो । व्यापारी र भरियाको लाइनबाट जो निस्किन्थ्यो, ऊ दुई दिन ढिला हुन्थ्यो रे’, मणिकुमार भन्छन् ।

भारततिर गल्लासँग छाती नपाउन जानेहरू पनि बन्दीपुरे उकालो चढेर बटौलीतर्फ झर्थे । व्यापारीका भारी बोक्नेहरू बन्दीपुर नजिकका धरमपानी, छिम्कालेक, केशवटार, सेतीपारि छिपछिपेका हुन्थे । मनाङतिरबाट बन्दीपुर किनबेच गर्न आउजाउ गर्नेहरू घोडा, खच्चड प्रयोग गर्दा रहेछन्  । घोडा खच्चडको ताँती हुन्थ्यो रे त्यस बेला । 

बन्दीपुर चम्किरहँदा दक्षिणको नारायणगढको अस्तित्व थिएन् । बन्दीपुरे हिउँदमा व्यापार गर्न नारायणगढ ओर्लिन्थे । बर्खामा औलोको भयंकर डरले फेरि बन्दीपुर उक्लन्थे । अहिलेको गण्डकी प्रदेशको राजधानी पोखरा बन्दीपुरको दाँजोमा थिएन, पुगेन । 

जब व्यापारको साम्राज्य भत्कियो

चम्किरहेको बन्दीपुरको व्यापारिक साम्राज्य २०२५ सालपछि भने भत्कियो । बन्दीपुरमा रहेको सदरमुकाम सबैलाई पायक पर्ने गरी दमौलीमा सर्‍यो । बन्दीपुरको व्यापार पनि ओराली लाग्यो । ठूला व्यापारी चितवनतिर झरे । साना व्यापारी डुम्रे, विमलनगर, दमौली । व्यापारी मात्र होइन, काम गरेर गुजारा चलाउनुपर्नेले पनि थातथलोलाई चटक्कै माया मार्नुपर्ने बाध्यता आइपर्‍यो । 

२०२५ सालपछि एउटा उखान पनि बनेछ ‘अब डाँडा र राणाका दिन गए ।’ जहानियाँ राणा शासनको अन्त्य त पहिल्यै भइसकेको थियो । राणाहरू कमजोर हुँदै थिए । डाँडाको व्यापारको साम्राज्य पनि भत्किएको थियो । भारत र तिब्बत (भोट)लाई जोड्ने व्यापारिक गढी बन्दीपुर बजारको व्यापार पनि ओरालो लाग्यो । फाँटहरूमा भने व्यपारको चक्र फस्टाउन थाल्यो ।

एकातिर सदमुकाम सरेको थियो, अर्कोतिर २०२६ सालमा पृथ्वी राजमार्गको रेखांकन भएपछि त बन्दीपुरे उकालो चढ्नुपर्ने बाध्यता किन रहन्थ्यो र ! गुल्जार बन्दीपुर एक्लियो, सुनसान भयो । ‘त्यसपछि त बन्दीपुर एकदम सुस्त हुँदै गयो । व्यापारमा जिल्लाका मान्छेहरू नआउने । दोस्रो, २६ सालदेखि पृथ्वी राजमार्गको नक्सा रेखांकन भयो र मोटर चल्न थाल्यो । डाँडामा कुनै किसिमको विकास हुन सकेन । त्यस बेला एउटा उखान पनि बन्यो, डाँडा र राणाका दिन गए’, प्रधान भन्छन् । 

२०२८ सालपछि त बन्दीपुर भग्नावशेष भुतबंगला जस्तै बन्यो । ९० प्रतिशत मानिस यहाँबाट बसाइँ झरेका थिए । मणिकुमारले सुनाए, ‘यहीँ जन्मिएँ, अब यहीँ मर्छु भन्नेहरूबाहेक सबै झरे ।’

बुढापाका घर रुङेर बसे । जो शारीरिक र आर्थिक अवस्थाले बन्दीपुर छाडेर काम गर्न सक्दैनथे, उनीहरूको मात्र पाइला रोकियो । ‘घुमफिर बन्दीपुर’ पुस्तकका लेखक चिजकुमार श्रेष्ठको शब्दलाई सापटी लिने हो भने व्यापारको चक्रले चम्किएको बन्दीपुर ‘मृत शहर’मा परिणत भयो ।

त्यसपछिका दुई दशकभन्दा बढी बन्दीपुर एक्लियो । थातथलो छाडेकाले बरु बिरानो शहरलाई आफ्नो बनाए । परिश्रम र पसिना सिञ्चित गर्दै चितवनको नारायणगढ, डुम्रे, विमलनगर, दमौली बजारमा व्यापारको जग बसाले । यी बजारहरू गुल्जार बन्दै थिए, बन्दीपुर भने एक्लो । बन्दीपुरे उकालो चढ्ने चेष्टा कसैले गरेनन् ।

२०४९ सालमा काठमाडौं बस्ने बन्दीपुरे जुर्मुराए । पिकनिकको बहानामा भेला भए ८०-८५ जना बन्दीपुर मूल थलो भएकाहरू । बन्दीपुरमा केही गरौँ भनेर भेला हुनलाई कसैले चासो नदिने भएपछि बहाना बनाइयो पिकनिक । मृत शहर बन्दीपुरको सुधारका लागि केही त गर्नुपर्छ भन्ने साझा उद्देश्यले पिकनिकको बहानामा उनीहरू भेला भए । शिक्षा, स्वास्थ्य र पर्यटनलाई केन्द्रित गर्ने गरी चिजकुमार श्रेष्ठको नेतृत्वमा बन्दीपुर सामाजिक विकास समिति गठन भयो । 

संस्थाले काठमाडौंमा भएकालाई कम्तीमा वर्षको एक पटक बन्दीपुर पुग्नुपर्ने बाध्यकारी नियम बनायो । ‘बन्दीपुर फर्कंदा हरेकले आफ्नो खुबीअनुसार केही गरौँ भन्ने निर्णय भयो । डाक्टर छ भने नि:शुल्क क्याम्प गर्ने । शिक्षकले पढाउने । महिलाहरूले महिला सशक्तीकरण बढाउने भन्ने थियो’, चिजकुमार सम्झन्छन् ।

त्यसपछि पर्यटन फस्टायो

२०५३ सालताका सरकारले पर्यटनको अवधारण बनाएको थियो । त्यसैको आधारमा ‘इको टुरिज्म बन्दीपुर’ प्रोजेक्ट सुरु भयो । ‘इको टुरिज्म बन्दीपुर’ प्रोजेक्टले बन्दीपुरका पुराना पुरातात्त्विक महत्त्वका घरको संरक्षण थालेको चिजकुमार श्रेष्ठ बताउँछन् । 

‘त्यस बखतसम्म बजारभित्रै ट्याक्टर, ट्रक, बस सबै जान्थे । पहिला छापिएका ढुंगा पनि खत्तम थिए । बर्खामा हिलैहिलो, हिउँदमा धुलो हुन्थ्यो । त्यस्तो अवस्था भएपछि यहाँ पूरै ढुंगा छाप्ने, गाडीहरू बन्द गर्ने भन्यौँ । सुरुसुरुमा त खुब विरोध सहनुपर्‍यो’, उनी सम्झन्छन्, ‘आफ्नै घर अगाडि आफ्नै गाडी किन ल्याउन नपाउनु भनेर विरोध पनि गरियो । काम गर्न माओवादीको सहारा लिन बाध्य भयौँ ।’

सशस्त्र माओवादी जनयुद्ध उकालो लागिरहेको समयमा माओवादीकै साथ लिएपछि विरोध गर्नेहरू शान्त भएको उनले सुनाए । बजारमा ढुंगा छाप्ने त्यो निर्णयले धेरै फरक पार्‍यो । नभए ती घरहरु सबै भत्किन्थे होला । तिनै पुरातात्त्विक महत्त्वका घरको संरक्षण हुँदा विदेशी पर्यटक भित्रन थाले ।  

हरिकुमार श्रेष्ठको ‘बन्दीपुर पर्यटन अतिथि गृह’ स्तरीय होटलमा गनिन्थ्यो । बन्दीपुर मृत शैय्याबाट बौरिँदा त्यो बन्द भइसकेको थियो । फाट्टफुट्ट पर्यटक भित्रन थालेपछि सन्तकुमार श्रेष्ठले माउण्टेन भ्यू रिसोर्ट खोले । बन्दीपुरबाट झरेर सौराहामा होटल चलाएका सन्तकुमारले बन्दीपुर पर्यटनमा फस्टाउने दूरदर्शी दृष्टिले नियालेर लगानी खन्याए ।

त्यसबखत त्यहाँ सीमित चिया पसल पनि थिए । पछि बजारमा अर्को होटल ‘ओल्ड इन’ खुल्यो । देश, विदेशबाट पर्यटक बढ्न थालेपछि बन्दीपुरमा होटलमा लगानी गर्ने लहर नै चल्यो । पुरातात्त्विक महत्त्व बोकेका पुराना घर पनि होटलमा परिणत भए । अहिले बन्दीपुर बजारमा मात्र नभएर नजिकका डाँडामा पनि होटलका गगनचुम्बी भवन ठडिएका छन् । ७० वटाभन्दा बढी ठूलासाना होटल बन्दीपुरमा छन् । बजार छेउछाउमा होमस्टे पनि आधा दर्जनको हाराहारीमा चलेका छन् ।

व्यापारमा उँधो लगाएको शहरमा पर्यटन भने उँभो लाग्यो । त्यसपछि बल्ल बन्दीपुर पर्यटकीय शहर बन्न सफल भएको हो । कोरोना सुरु हुनसभन्दा पहिलेका वर्षहरूमा एक लाखभन्दा बढी पर्यटक बन्दीपुर उक्लिएको रेकर्ड छ । पृथ्वी राजमार्गको डुम्रेबाट आठ किलोमिटर उकालो चढ्ने रहर जोकोहीलाई हुन्छ ।

पर्यटनमा बन्दीपुर जाग्नुको कारण यहाँको मौलिकता नै हो । मौलिकतालाई जोगाई राख्नुपर्ने चुनौती बन्दीपुरे र स्थानीय सरकारलाई छ । मौलिक शहरलाई कायम राख्ने प्रयासमा सदैव रहेको बन्दीपुर गाउँपालिकाले जनाएको छ । बजारमा घर बनाउँदा अनिवार्य मौलिक बनाउनुपर्ने गाउँपालिकाले मापदण्ड बनाएको छ । गाउँपालिका अध्यक्ष पूर्णसिंह थापा भन्छन्, ‘घर बनाउनलाई मापदण्ड बनाएका छौँ । रिङरोडको ५०० मिटरभित्रका घरका लागि गारोमा प्राचीन प्रकारको इँट्टा देखाउनुपर्नेछ । छानो स्लोप गर्नै पर्ने । कौशी निकालेर टुँडाल राख्नुपर्ने नियम छ ।’ बन्दीपुरलाई भविष्यसम्म मौलिक शहरकै रूपमा जीवन्त राख्ने योजना रहेको उनले बताए ।

बन्दीपुरमा पर्यटक अझै बढाउन डुम्रे-बन्दीपुर केबलकार निर्माणधीन अवस्थामा छ । चीनको ग्रेटवालको झल्को दिने गरी मिनी ग्रेटवाल बन्दै छ । अहिलेसम्म एक हजार ४०० मिटर दूरीको काम पूरा भएको अध्यक्ष थापाले जानकारी दिए । साहसिक पर्यटक डाक्न सिसाको दृश्यावलोकन केन्द्र, स्काई ग्लास ब्रिज, जिप लाइनको अवधारण पनि गाउँपालिकाले बनाएको छ ।

यसरी नामकरण भयो बन्दीपुर

इतिहासबारे जानकारहरूका अनुसार मगरले बस्ती बसालेका हुन् रे बन्दीपुरमा पहिले । त्यसैले मगर भाषामै नामकरण भएछ बन्दीपुर । जंगलमा पानी भएकाले बन्दीपुर । ‘वन’ भनेको जंगल र मगर भाषमा ‘डी’ भनेको पानी । 

घाँसे मैदानमा भएको डाँडोमा पछि लम्जुङका गौलीहरू आएर वस्तुभाउ पाल्न थालेछन् । भट्टराई, भण्डारीको पनि थलो भनिन्छ । त्यसपछि पाल्पाका राजा मणिमुकुन्द सेनको नजर पर्‍यो यहाँ । तनहुँलाई राजधानी बनाएर बन्दीपुरलाई छोटी राजधानी बनाई शासन गरेका थिए मणिमुकुन्द सेनले । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *