समाचार

महालक्ष्मीको १६ दिने व्रत समापन गरिँदै

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिन लामो महालक्ष्मी व्रत आज समापन गर्दै छन् ।

धनधान्यकीदेवी महालक्ष्मीलाई प्रसन्न गराउने अवसरका रुपमा यस पर्वलाई लिइन्छ । भाद्र शुक्ल अष्टमीदेखि १६ दिन अर्थात् आश्विन कृष्ण अष्टमीसम्म विधिपूर्वक यो व्रत गरिन्छ । यसवर्ष भदौ २८ गते सोमबारदेखि सुरु भएको यो व्रत आज विधिपूर्वक समापन गरिँदै छ । यो व्रतका क्रममा ब्रह्मचर्यमा रहनुपर्ने, भूमिमा सुतेर व्रत पूरा गर्नुपर्ने नियम छ ।

प्रत्येक दिन हविष्य भोजन अर्थात् एक छाक फलाहार र दिनमा एक पटकमात्र नून खाएर महालक्ष्मी व्रत गरिन्छ । १६ दिनसम्म प्रत्येक दिन बेलुकी चन्द्रमालाई अघ्र्य दिने गरिन्छ । यसरी व्रत गरेमा धन, सम्पत्ति, वैभव प्राप्त हुने विश्वास छ । यो व्रत विशेष गरेर नारीले गर्ने गरेका छन् । यो व्रतले घरमा महालक्ष्मीको बास भई दुःख दारिद्रय नाश भई सुख शान्ति मिल्ने धार्मिक विश्वास छ ।

साक्षात् भगावन शङ्करले यो व्रतविधि भगवती पार्वतीलाई बताएका विभिन्न ग्रन्थमा उल्लेख गरिएको वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले राससलाई जानकारी दिएका छन् । यो व्रतका प्रभावले मृत्युपछि पनि दिव्यधाम प्राप्त हुने, अलक्ष्मी नाश हुने शास्त्रीय मान्यता छ ।

देवराज इन्द्रलेसमेत महालक्ष्मीको व्रत एवं पूजाआराधना गरी महालक्ष्मी अष्टकम् नामक स्तोत्रसमेत रचना गरेका महालक्ष्मी व्रतविधिमा उल्लेख गरिएको छ । बिहान, मध्यान्ह र साँझसमेत तीन पटक महालक्ष्मी अष्टकम् पाठ गरेमा धनधान्य, सुख वैभव प्राप्त गर्नुका साथै शत्रुसमेत नाश हुने उनले बताए ।

प्रत्येक वर्ष भाद्र शुक्ल सप्तमीदेखि आश्विन कृष्ण सप्तमीसम्म १६ दिन, आश्विन शुक्लपूर्णिमा र कात्तिक कृष्ण आमावास्या गरी तीन पटक विशेष रुपमा महालक्ष्मीको पूजा आराधना गर्ने वैदिक परम्परा छ । आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्मको दुर्गा पक्षका क्रममा पनि महाकाली र महासरस्वतीसँगै महालक्ष्मीको पनि विशेष पूजा आराधना गरिन्छ ।

आज बिहान विधिपूर्वक महालक्ष्मीको पूजा आराधना गरी बेलुकी चन्द्रमालाई अघ्र्य दिएर यस वर्षको महालक्ष्मी व्रत समापन हुन्छ । यो व्रतविधि पहिले जस्तो प्रचलनमा नरहेकाले यसको संरक्षण गरिनुपर्ने धर्मशास्त्रविद् प्रा डा.रामचन्द्र गौतमले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *