कला/साहित्य

भाटहरू

भाटहरू जहिल्यै जिउ र हजुर चढाउँछन्
लोलोपोतो चोचोमोचो बढाउँछन्
सधैं कालो चस्मा ढल्काएर सेतो रोगन रँँगाउँछन्
अघि लाग्छन् पछि लाग्छन् हजुरियाको साथ
हाँस्तै मुसुक्क बोली भरिको रचाउँछन् बकबास
भैदिन्छन् असामान्य, खप्पिस र अट्टहास
नलाउँदै झाडु फेरेर पर्दा सिनिक्क पार्छन्
जिउ हजुरले पटकपटक सिंगार पेटार भर्छन्
टल्काउँदै हजुरको शिर उपर स्वर्ण गजुर
गर्छन् कुर्नेस र सलाम मार्छन्
मुसार्दै हात गर्दै मर्दन
गाएर स्तुतिगान ठान्छन् भाग्यवान्
फुस्ल्याउने कर्खामा काइदाका हुन् वेगवान्
देख्तादेख्तै टक्टक्याउँछन् धुलो मयलपोसको
जतनले मिलाउँछन् कठालो कोटको
कहिले झुक्तै कहिले उठ्तै
सान र मान उठाउँछन् पाउपोस शिरपोसको
उचालिरहन्छन् भाटहरू तामदान
फुसफुसाइरहन्छन् मन्त्रणा गरिरहन्छन् मन्त्रदान
थाक्तैनन् बखानेर नायकको गुणगान
चलिरहन्छ भजन, तारिफ र स्तुतिगान
चिन्न सकिन्न भाटका जातहरूलाई
बुझ्न सकिन्न पानीघाटका आलापहरूलाई
ती फरमान या दरबान खै के हुन् ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *