खेलकुद

चितवनले पहिलोपटक जित्यो ईपीएल उपाधि

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको चौथो संस्करणको उपाधि चितवन टाइगर्सले जितेको छ । शनिबार दिउँसो भएको फाइनल खेलमा पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै चितवनले पहिलोपटक उपाधि आफ्नो पोल्टामा पारेको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पोखराले दिएको ११२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको चितवनले १५.५ ओभरमा ६ विकेट गुमाउँदै पुरा गरेको हो । चितवनका लागि भीम सार्कीले सर्वाधिक अर्धशतकिय इंनिग्सको योगदान दिए । ४५ बलको सामना गर्दै उनले ६३ रन जोडे । त्यस्तै, दिलीप नाथले १८ रन बनाउँदा मोहम्द साहजद ११ रनमा क्याच आउट भए । राजेश पुलामीले १४ रन बनाउँदा कप्तान सोमपाल कामी ४ रनमा अविजित रहे ।

पोखराका लागि भने किशोर महत्तोले ४ विकेट लिँदा नन्दन यादवको नामा २ विकेट रह्यो ।

त्यसअघि टस हारेर व्याटिङको निम्तो पाएको पोखरा १७.५ ओभरमा १११ रन बनाउँदै अलआउट भएको थियो । पोखराका लागि एसेला गुणरत्नेले सर्वाधिक ३४ रन बनाए । त्यस्तै, रिचार्ड लेभीले २६ रन बनाउँदा विपिन रावलले १७ रन जोडे । कप्तान विनोद भण्डारीले २२ रनमा क्याच आउट भए । मध्यम सुरुवात गरेको पोखराका खेलाडी ठुलो सट खेल्ने धुनमा क्रिजमा टिक्न सकेनन् ।

पोखरालाई सस्तैमा समेट्न चितवनका लागि कमलसिंह ऐरीले सर्वाधिक ४ विकेट लिए । त्यस्तै, करिम जनत र शेकुगे प्रसन्नाले समान २/२ विकेट लिँदा कप्तान सोमपाल कामी र सागर ढकालको नामा १/१ विकेट रह्यो ।

अब ईपीएलको विजेता चितवनले ५० लाख पाउनेछ भने उप-विजेता पोखराले १५ लाख रुपैयाँमा चित्त बुझाउनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *