फिचर

पुस्तक समीक्षाः राजनीति, विद्यार्थी आन्दोलन र पर्यटन विषयको रूचिकर ग्रन्थ

काठमाडौँ ।बितेर जानेहरूका सम्झनामा स्मृतिग्रन्थ प्रकाशन गर्ने चलन बढ्दै गएको छ । वर्तमान र भावी पुस्तालाई तिनका योगदानबारे सम्झाउन गरिने यस सिर्जना कर्मले इतिहासको पनि संरक्षण गर्न भूमिका खेल्छ । प्रौढ व्यक्तिको लामो इतिहास होला, युवाको छोटो, तथापि ती समाजका सम्पत्ति हुन् र यस्तो प्रकाशन कठिन काम भए पनि अनिवार्य देखिन्छ ।    

नेपाली राजनीतिमा कमै मात्र राजनीतिक कार्यकर्ता वा राजनीतिकर्मी वा राजनीतिज्ञ विकासकाबारे बहस चलाउन रुचि राख्थे वा राख्छन् । धेरैजसो राजनीतिकर्मी राजनीतिक सिद्धान्त, वा दर्शन वा इतिहासमा रुचि राख्ने खालका हुन्छन् । राष्ट्रिय जनवादका प्रणेता तुल्सीलाल अमात्य अर्थशास्त्री भएकाले उहाँ पञ्चायती व्यवस्थाको विरोध अर्थतन्त्रका तथ्याङ्क प्रस्तुत गरेर गर्नुहुन्थ्यो ।    

पूर्वप्रधानमन्त्री तथा नेकपा(एकीकृत समाजवादी)का नेता झलनाथ खनालमा पनि त्यो खुबी थियो र छ । नेता डा रामशरण महत, डा प्रकाशचन्द्र लोहनी आदिको विद्यावारिधि नै अर्थशास्त्रमा भएकाले स्वाभाविक रूपमा अर्थतन्त्रमा बहस गर्न सक्नेमा परिहाल्नुभयो । छोटो समयमै दिवङ्गत नेकपा(एमाले)का नेता रवीन्द्रप्रसाद अधिकारी(२०२६-७५)ले पनि त्यो सम्भावना देखाइरहनुभएको थियो ।    

युवा वामनेता अधिकारीका सम्झनामा प्रकाशित ‘स्मृतिमा रवीन्द्र अधिकारी’ (रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान, पोखरा, २०७७)ले नेपालको वामपन्थी आन्दोलन र संसद् गतिविधिका धेरै कुरा समेटेको छ । त्यसभन्दा बढी नेपालको विकास र समृद्धिकाबारे निकै सूचना पस्केर राजनीतिलाई विकाससँग जोड्ने प्रयास गरेको छ । विद्यालय जीवनदेखि नै मेहनती र प्रतिभाशाली अधिकारी कलेज जीवनमा जुझारू भएर निस्कनुभयो र आफ्ना क्षेत्रमा आफ्ना समयमा केन्द्रविन्दु बन्न सफल हुनुभयो ।    

स्कूल र कलेजमा विभिन्न जिम्मेवारीका साथ विद्यार्थी र राष्ट्रिय राजनीतिमा सँगसँगै लाग्नुभएका अधिकारी कतिपय राजनीतिक, शैक्षिक र सामाजिक आन्दोलन चलाएबापत चर्चित हुनुहुन्थ्यो । विसं २०४५ मै भुर्जुङखोला बलात्कार प्रकरणका विरोधमा नेतृत्व लिनुभएका उहाँले २०५७ को गायक प्रवीण गुरुङ हत्याकाण्डका विरोधमा हस्ताक्षर सङ्कलन गरी राजदरबारमा बुझाउने कामको नेतृत्व लिएपछि त चर्चित नै हुनुभयो । त्यसअघि कालापानी मार्च अभियान(२०५५) र मेची महाकाली अभियान (२०५६)को नेतृत्व गर्नुभएका उहाँलाई यातायात, स्वास्थ्य र मनोरञ्जनका क्षेत्रमा विद्यार्थी सहुलियत दिलाउने श्रेय पनि जान्छ । विद्यार्थी सङ्गठनका पत्रिका प्रकाशन र नेताहरूको शालिक निर्माण, लेखरचना छपाइ जस्ता सिर्जनशील काम गर्ने उहाँ ‘समृद्ध नेपाल’(२०७२), द रोड टु प्रोसपेरिटी(२०७३) र ‘संविधानसभा, लोकतन्त्र र पुनर्सरचना’(२०६३) का लेखक पनि हुनुहुन्छ । जुन कृति नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली सरकारको ‘सुखी नेपाली समृद्ध नेपाल’ नाराकै जग बन्न पुग्यो ।    

अनेरास्ववियु, नेकपा(एमाले), माले र नेकपाका नेता उहाँ जनप्रिय हुनाको नाताले तीन पटक (२०६४, ०७० र ०७४) प्रतिनिधिसभामा निर्वाचित भई विकास समितिका सभापति (२०७०)बनेपछि झनै चर्चित हुनुभयो । “विकास समितिको सभापतिको भूमिकामा रहेर नेपालको विकास बहसलाई नयाँ उचाइमा पुर्‍याउने श्रेय स्वर्गीय रवीन्द्र अधिकारीलाई जान्छ”, पूर्वाधारविद् डा सूर्यराज आचार्यको तर्क छ । उहाँको पूर्वाधार विकासमा जोड थियो भने समन्वय गरेर मात्र काम अगाडि बढाउनुपर्ने मान्यता थियो । विकास समितिको सभापति भएका बेला गोरखा भूकम्पमा उद्धार, राहत र पुनःस्थापना, भारत र चीनसँग समानान्तर व्यापार तथा पारवहन सुविधा, कालीगण्डकी र कणर्ाली करिडोर, उत्तरदक्षिण सडक सञ्जाल, पोखरा-बेनी-जोमसोम-कोरोला, रसुवा, तातोपानी र किमाथाङ्का नाका, हुलाकी राजमार्ग, दु्रतमार्ग, मध्यपहाडी(पुष्पलाल)राजमार्ग, मेलम्ची खानेपानी आयोजना, पूर्वपश्चिम तथा चीन-भारत विद्युतीय रेल, विद्युत् चुहावट नियन्त्रण, सडक सुरक्षा कार्ययोजना, त्रिभुवन, पोखरा र भैरहवा विमानस्थल, पत्रकारको न्यूनतम पारिश्रमिक, कलाकारको सङ्गीत रोयल्टी, विद्यालय र उच्च शिक्षामा व्यावसायिक एवं प्राविधिक शिक्षा, ग्रामीण दूरसञ्चार विकास कोष, नेटवर्क विस्तार, सुधार र गुणस्तरलगायत विषयमा दिएका निर्देशन स्मरणीय छन् । मिडिया पनि काम नगर्नेको खोजी गर्दै हिँड्दैन, हलचल ल्याउनेकैपछि कुद्छ ।    

 ‘उत्कृष्ट सांसद’ अधिकारी समितिमा काम गरेकै कारण मिडियामा छाइरहनुभयो । आफ्नै योग्यताले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्नुभएका अधिकारी मन्त्रित्वकालका पनि केही अविष्मरणीय विषय छन् । आफ्नो नियुक्ति( २०७४ चैत ३)को केही दिनमै उहाँले हरेक जिल्लामा एउटा पर्ने गरी सय गन्तव्य घोषणा गर्नुभयो । तीन विमानस्थलका स्तरोन्नति तथा निर्माण र आयोजनालाई तीव्रता दिइयो । धनगढी, विराटनगर, भद्रपुरलगायत विमानस्थललगायत सातमा रात्रि उडान सुरु, बन्द भएका राजविराजलगायत दुई विमानस्थल पुनः सञ्चालन, चीनसँग नयाँ हवाई रुट, भैरहवा, जनकपुर सीमा वारपार हवाई प्रवेशविन्दु, फेक रेक्स्यु छानबिन, त्रिभुवन विमानस्थल बिहानदेखि २१ घण्टा चालु, सम्पदा पुनःनिर्माण, लुम्बिनीमा अन्तरराष्ट्रिय ध्यान तथा सभागृह शिलान्यास, आइकाओबाट नेपाललाई गम्भीर सुरक्षा सूचीबाट अन्त्य, अन्तरराष्ट्रिय उडान दुर्घटनामा नेपालीलाई विदेशीसरह बीमा रकम, नेपाल हवाई सुरक्षा योजना लागू, मानित पर्यटन विश्वविद्यालय स्थापनाको मस्यौदा, टुरिजम सेटलाइट एकाउण्ट तयार, फेक रेक्स्यु बीमा विवाद समाधान, नेपाल एयरलायन्सको रणनीतिक साझेदारमार्फत विकास योजना जस्ता कार्य अधिकारी कार्यकालका मुख्य उपलब्धि हुन् ।    

फ्रान्सबाट ल्याइएका दुई वाइड बडी जहाज खरिद प्रक्रियामा भएको भनिएको अनियमितताबारे उहाँका कार्यकालमा कुरो उठे पनि प्रायः सबै काम अघिल्ला सरकारकै पालामा भएको थियो र उहाँका पालामा अन्तिम किस्ता मात्र तिरिएको थियो । तैपनि अधिकारीलाई विवादमा तान्ने काम भइरह्यो । विवाद छिनोफानो नभइ अभियुक्तलाई दोषी सावित गर्ने एकथरि विरोधी प्रायः जहाँ पनि हुने गर्छन् । विवादको निष्पक्ष छानबिनपछि मात्र को दोषी हो भन्ने निक्र्योल होला । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभएको थियो, “त्यो वाइड बडी कान्ड रवीन्द्र अधिकारी मन्त्री हुनुभन्दा अगाडिका कुराको प्रसङ्ग ल्याएर उहाँको नाम बद्नाम गर्ने कोसिस गरे । …उहाँ त्यसमा निर्दोष हुनुहुन्छ । उहाँको त्यसमा कुनै संलग्नता रहेको छैन ।”    

युवा अवस्थामै चर्चित काम गरेर मुलुकलाई योगदान दिने योगेशकुमार भट्टराई, रामनाथ ढकाल, गोकणर्राज विष्ट, रामकुमारी झाँक्री, गगनकुमार थापाकै हाराहारीका अधिकारीले गर्नुपर्ने काम धेरै नै थिए । आफ्नो उमेरले भ्याउनेभन्दा बढी काम गर्नेलाई समाज र राष्ट्रले नसम्झनै कुरै भएन । राप्रपाका अध्यक्ष तथा पूर्वअर्थमन्त्री डा प्रकाशचन्द्र लोहनीले त उहाँको विचार र काम गराइ देखेर उहाँलाई ‘चीनका उदारवादी नेता देङ सियाओपिङ जस्तै लाग्ने’ बताउनुभएको छ ।    

अधिकारीको व्यक्तित्व निर्माणमा ठूलो योगदान गर्नुभएका उहाँकी पत्नी विद्या भट्टराई(उपप्राध्यापक, पछि सांसद) उहाँहरू दम्पतीभन्दा पनि साथी, मानव-मानवका रूपमा रहेको बताउनुहुन्छ । आफ्ना जीवनसाथीले आफूलाई सधैँ आदरार्थी शब्द नै प्रयोग गरेको, आदेश कहिल्यै नदिएको र विवाह गरेर अर्कै घरमा आएको भन्ने महसुस कहिल्यै नभएको बताउँदै आफूहरू आदर्श दम्पतीका रुपमा रहेको उहाँले उल्लेख गर्नुभएको छ ।    

नेपाली समाज कृतघ्न छैन । ‘आँखामा राखे पनि नबिझाउने लालगेडी’ अधिकारीका प्रशंसामा माधवकुमार नेपाल, केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाबुराम भट्टराई, वामदेव गौतम, सुवास नेम्वाङ, शङ्कर पोखरेल, गङ्गाप्रसाद उप्रेती, जगमान गुरुङ, जर्ज जोन, कनकमणि दीक्षित, किशोर नेपाल, कृष्णमुरारी भण्डारी, विन्दा पाण्डे, शिवानीसिंह थारूलगायतले समेत समय खर्चनुभएको छ । उहाँसँगका संस्मरणबाहेक उहाँले विभिन्न पत्रपत्रिकामा दिनुभएका अन्तर्वार्ता, उहाँलाई दिइएका शब्द श्रद्धाञ्जलि, तस्वीरआदि खोजेर ग्रन्थलाई पूणर्ता दिन सम्पादक प्रा डा हेमनाथ पौडेल, झलक सुवेदी, शार्दूल भट्टराई, सीता ओझा र ज्ञानराम श्रेष्ठ तथा कार्यकारी सम्पादक रश्मि आचार्यले निकै मेहनत गर्नुभएको छ ।    

विषयवस्तुको पुनरुक्ति, वणर्विन्यासका अशुद्धि, केही मितिमा गल्ती जस्ता सामान्य समस्या कृतिमा देखिएका छन् । नेपाली लेखमा अङ्ग्रेजी बाक्य पनि घुसाइएको सुहाउँदिलो भएन । ग्रन्थले उहाँको व्यक्तिगत जीवनका पाटा मात्र नभएर नेपालको राजनीति, विद्यार्थी एवं वाम आन्दोलनका केही कालखण्ड, पर्यटन तथा हवाई क्षेत्र पनि समेटेकाले सो विषयमा रूचि राख्नेलाई कृति निकै उपयोगी हुने छ ।

श्याम रिमाल

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *