समाचार

पर्यटनको राजधानी मानिने गण्डकीकाे मिलेनियम ट्रेक सुनसान

तनहुँ । हिमाल छर्लङ्ग खुल्न थालेको छ । टारी खेत र बेसी फाँटभरी पहेँलपुर भएर धान झुल्न थालिसके । बेला बखत कुहिरोको घुम्टोले डाँडाकाडा ढाकेर रोमाञ्चक दृश्य बनाइदिन्छ । प्रकृति पनि निकै रमणिय देखिन्छ । यो समयमा प्रकृतिसँग रम्ने उद्देश्यले पदयात्रामा आन्तरिक पर्यटकको पदचाप लम्किरहेका छन् । 

पर्यटनको राजधानी मानिने गण्डकी प्रदेशमा लामो तथा छोटा दूरीको पदमार्ग प्रशस्तै छन् । धेरैजसो पदमार्ग हिमाली सेरोफेरोमा छन् । विश्वकै चर्चित अन्नपुर्ण पदमार्ग, अन्नपुर्ण सेरोफेरो, मनास्लु क्षेत्रको पदमार्ग हिमाली भेगमा छन् । यी लगायतका हिमाललाई फेरो मार्ने अधिकांश पदमार्गमा यतिबेला पदयात्री उक्लिरहेका छन् ।

कोरोना प्रभावले दुई वर्षपछि पदयात्री धमाधम उक्लँदा पदमार्ग क्षेत्रमा चहलपहल निकै बढेको छ । तर, पोखराबाट नजिकको दूरीमा पर्ने हिमाल हेर्दै पहाडी भूगोलमा पदयात्रा गर्न सकिने सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) भने सुनसान छ । पोखराबाट सबैभन्दा नजिक तनहुँ र स्याङजा दुई जिल्लालाई जोडेको ७२ किलोमिटर दूरी रहेको मध्यपहाडी क्षेत्रमा पर्ने यो पदमार्ग विश्वव्यापी रूपमा फैलिएको कोरोनाभाइरस संक्रमणका कारण दुई वर्षदेखि सुनसान बनेको हो । हिमाल हेर्दै पहाडको उकालो चढ्दै फेरि ओराली झर्दै ग्रामिण परिवेशमा रमाउन चहानेका लागि उपयुक्त सहस्राब्दी पदमार्ग पर्यटकको प्रतिक्षामा छ । 

पदमार्ग अन्तर्गत तनहुँ र स्याङजाका विभिन्न १७ गाउँमा सञ्चालन गरिएका होमस्टे पनि शून्यप्राय छन् । होमस्टे सञ्चालक पाहुनाको प्रतिक्षमा बसिरहेका छन् । फूलका गुच्छा र गाउँलेको न्यानो मायाले अतिथि सत्कार गर्न आतुर छन् उनीहरु ।  दुई वर्षदेखि पदयात्रामा पर्यटक नआउँदा होमस्टे सुनसान रहेको तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ मा सञ्चालित घरेडी सामुदायिक होमस्टेकी अध्यक्ष लक्ष्मी गुरुङले बताइन् । ‘पहिला पदयात्रामा पाहुना आइरहन्थे । दुई बर्षयता ठप्पै छ । होमस्टे पनि शुनसानछ’, उनले भनिन् । आर्थिकस्तर उकास्न होमस्टे सञ्चालन गरेपनि पाहुना नहुँदा आम्दानीको स्रोत बन्द भएको गुरुङले बताइन् ।

सहस्राब्दी पदमार्गले नै पर्यटक पर्खिरहेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङ बताउँछन् । ‘कोरोनाले सबैतिर प्रभाव पा¥यो । पछिल्लो समय अन्य गन्तव्यमा चहलपहल बढे पनि मध्यपहाडी क्षेत्रमा भएकाले सहस्राब्दी पदमार्गमा अझै चहलपहल बढ्न सकेको छैन् । लामो समय सुनसान रहेको पदमार्गमा पर्यटक भित्र्याउन हामी प्रचासप्रसारको तयारीमा छौँ’, उनले भने ।

गुरुङका अनुसार पदयात्रीविहीन पदमार्ग केही ठाउँमा भत्किएको छ । अधिकांश जंगल क्षेत्रमा पर्ने पदमार्ग घाँसपातको झाडीले ढाकिएको छ ।  व्यवस्थापन समितिले १०औँ वर्ष पुरानो पदमार्गको नक्सालाई पुसभित्र सक्नेगरी अध्यावधिकको काम थालेको उनले बताए ।  सन् २००० देखि पदमार्ग सञ्चालनमा आएको हो । 

६ रात ७ दिनको रुट रहेको पदमार्ग तनहुँको गाछेपानीबाट सुरु हुन्छ । तनहुँमा पृथ्वी राजमार्ग (गाछेपानी)बाट सुरु भएको पदमार्ग स्याङजाको सिद्धार्थ राजमार्ग (रामबाच्छा) पुगेर टुंगिन्छ । पदमार्गको सुरुवात विन्दुमा मिनी मुक्तिनाथको परिचय बनाएको मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम छ । सेती नदीको पानीको वहावले कुँदेर बनाएको ढुंगे बगैँचा हुँदै पदयात्री प्रसिद्ध धार्मिकस्थल ढोरवाराही मन्दिरको मन्दिरको दर्शनमा पुग्छन् । 

त्यसपछि उकालो चढेर रजस्थल होमस्टे हुदैँ ऐतिहासिक ढोर मुलकोट दरबार घुम्छन् । ढोर लामागाउँ, घरेडीको मिलेनियम गुफा, राईपुरको जन्तेढुंगा तनहुँ खण्डका गन्तव्य हुन् । स्याङजातर्फ कोल्मा वराहचौर, बहाकोट, राङभाङ, पेल्काचौर, बानेथोक देउराली, माझकोट, शिवालय र मनकामना आसपासका पर्यटकीय स्थललाई पदमार्गले जोडेको छ । 

हिमालका चुचुरा, हरियाली डाँडाकाडा, सूर्योदय र सूर्यास्तको मस्त दृश्य, नेपालमा मात्र पाइने चरा काँडे भ्याकुर, चराचुरुङ्गी, जंगली जनावार र ग्रामिण परिवेश सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) मा पर्यटक लोभ्याउने आधार हुन् । 

पदमार्गमा अधिकांश मगर र गुरुङ समुदायको वस्ती छ । कहीँकतै ब्राह्मण, क्षेत्री र भुजेल वस्ती भेटिन्छ । यहाँका वस्तीमा पदयात्री (पाहुना)लाई स्वागत गर्न कौराहा, सालैजो, झ्याउरे, झोर्रा, पेल्काचौरे ठाडो भाका, सोरठी, यानीमाया, घाटु, बालन लगायतका मौलिक लोक संस्कृति गुञ्जन्छ । पाहुनालाई होमस्टेले अर्गानिक खान्की खुवाएर फेरि आउन निम्तो बाँड्छ । 

गाछेपानीबाट सुरु भएको पदमार्गको पहिलो दिन रजस्थल पुगेर बास बस्न सकिन्छ । दोस्रो दिन साँधी खोला, तेस्रो दिन पोखरीछाप, चौथो दिन चन्द्रकोट, पाँचाँै दिन डाँडागाउँ, छैटौँ दिन सुन्तलाबारी होमस्टमा बास हुन्छ । पदमार्गले तनहुँ र स्याङजाका साविकका १३ गाविसको ऐतिहासिक, धार्मिक, सामाजिक र सांस्कृतिक पक्षलाई समेटेको छ ।

संघीयता कार्यान्वयनसँगै हाल तनहुँको शुक्लागण्डकी नगरपालिकासँगै स्याङजाको पुतलीबजार नगरपालिका, विरुवा गाउँपालिका, भीरकोट नगरपालिका र वालिङ नगरपालिकामा परेको छ पदमार्ग  । तर, कुनै पनि स्थानीय सरकारले पदमार्गलाई अपनत्व महशुस नगरेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङ बताउँछन् ।

उनी भन्छन्, ‘स्थानीय सरकारले पर्यटनलाई बुझे जस्तो लाग्दैन । पर्यटनलाई पहिलो प्राथमिकता भन्छन् । कार्यक्रम गर्दैनन् । हामीले गुरुयोजना बनाएर दिएपनि कार्यन्वयनमा चासो भएन ।’ पदमार्गमा लगानी गरे त्यहाँबाट आउने रोयल्टी स्थानीय सरकारको आम्दानीको स्रोत बन्ने उनले जनाए ।

पदमार्गमा पर्ने बस्तीहरू रित्तिन थालेपछि होमस्टे चलाउन मुस्किल देखेर मिलेनियम ट्रेक व्यवस्थापन समितिले तीन वर्ष अगाडि चार स्थानमा रिसोर्ट खोल्ने तयारी थालेको थियो । तनहुँको मगरनास सहित स्याङजाको कोल्मा, पेल्काचौर र सिगारकोटमा रिसोर्ट सञ्चालन गर्ने भनिएपनि काम अगाडी बढेको छैन् । गुरुयोजना तयार गरेपनि काम अगाडि बढाउन कोरोनाले प्रभाव पारेको समितिले जनाएको छ ।

विनोद ढुंगाना

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट