मुख्य समाचार

सहमहामन्त्री डा.महतले भने- रोकिएका जिल्लाकाे अधिवेशन छठपछि हुन्छ

चितवन । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गतका रोकिएका जिल्ला अधिवेशनहरु छठपछि सुरु गरिने बताएका छन ।    

चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले जिल्लाको सदस्यताको विवाद तिहार अघि नै समाधान हुने बताए । उनले भने “विभिन्न कारणले रोकिएका जिल्ला अधिवेशनहरु छठपछि हुन्छ र तिहारअघि सबै जिल्लाको सदस्यतासम्बन्धी विवाद समाधान भइसक्छ ।”    

सहमहामन्त्री डा महतले स्थानीय तह, प्रदेश र सङ्घीय निर्वाचनमा नेपाली कांग्रेसले नै बहुमत प्राप्त गर्ने गरी पार्टी अघि बढ्ने बताए ।    

उनले भने,“अब कांग्रेस एकल बहुमत प्राप्त गर्ने गरी अघि बढ्छ, पार्टीको आगामी महाधिवेशनमा पार्टी एक ढिक्का हुन्छ र यसले आगामी सबै तहका निर्वाचनमा पार्टीमा बहुमत हासिल गर्न पूरा सहयोग पुग्छ ।”    

पार्टीलाई महाधिवेशन केन्द्रीत मात्रै नभएर तीन तहको निर्वाचन केन्द्रीत भएर अघि बढाउने उनको भनाइ थियो । गठबन्धनको सरकार सञ्चालन गर्न सहज नभएको भन्दै उहाँले सबैलाई मिलाएर अघि बढ्ने बताए ।    

सरकारको एक सय दिन सफल रहेको भन्दै उनले सरकारले अरु धेरै कामका अतिरिक्त चार वटा महत्वपूर्ण काम गरेको बताए । उनले भने ,“सरकार गठन भएपछि जनतालाई कोभिडविरुद्धको खोप, पराराष्ट्र नीति, भ्रष्टाचार नियन्त्रण र संवैधानिक आयोगमाथिको हस्तक्षेप रोकिएको छ ।”    

वर्षाका कारण भएको क्षतिको व्यवस्थापनमा सरकार लाग्नुपर्ने बताउँदै उनले उचित राहतको व्यवस्था गर्नुपर्छ भने । उनले हालैको बाढीपहिराका साथै चाडपर्वको समयमा भएका दुर्घटनाका मृतक र घाइतेलाई उचित क्षतिपूर्ति दिन आफूले प्रधानमन्त्रीलाई आजै भेटेर आग्रह गरेको पनि बताए ।    

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *