अर्थ

कागती खेती अभियानमा गौरीगञ्जका ज्ञानहरि

चितवन । ‘देशको माटो रम्न सके रम्छ नेपाल’ यो नारासँगै यहाँका एक कृषक कागती खेतीमा जुटेका छन् । भरतपुर महानगरपालिका–८ गौरीगञ्जमा कुटो कोदालो कृषि बारी नामक संस्था दर्ता गरेर स्थानीय ज्ञानहरि कँडेल कृषि अभियानमा जुटेका हुन् ।

उनले अहिले आफ्नो सात कट्ठा जमिनमा कागती खेती गर्दै आएका छन् । कँडेलले विदेशको यात्रालाई रोकेर आफ्नै बारीमा कागती खेती गर्दै आएका हुन्। छ वर्ष पहिले विदेश जाने सोचमा रहेका कँडेल राहदानी (पासपोर्ट) बनाउनका लागि सिफारिस लिन जानुभन्दा अघिल्लो दिन साँझको टेलिभिजन कार्यक्रमले उनलाई कृषि कर्ममा आकर्षित गर्यो । टेलिभिजन कार्यक्रममा नेपालमा कागती लाखौँको आयात हुने सुनेपछि उनले विदेशको यात्रालाई पूर्णविराम लगाउँदै यस व्यवसायमा लागेका हुन् ।

उनले भने, “विदेश जाने रहर होइन । साथीभाइ सबै विदेशमा भएकाले केही समय विदेश जाउँ भन्ने लागेको थियो । तर पछि मन बद्लियो ।” टेलिभिजन कार्यक्रम हेरेर प्रभावित बनेपछि आफ्नै देशको माटोमा केही गर्नुपर्छ भन्दै उनले कागती खेती सुरु गरेको स्मरण गरे । कँडेलले सुरुआतमा आफ्नो सात कट्ठामा १०० वटा कागतीका बिरुवा लगाए । उनको बारीमा सुन कागती लगाएका छन् । उनले भने, “महिनामा चार क्विन्टल कागती बेच्छु, बजारको समस्या छैन ।” उनले करेसाबारीमै सुन फले जस्तो लाग्छ, खुसी लागेको छ भने । आजकल दैनिक २०–२५ केजी कागती टिप्ने गरेको उनले बताए । “कागती अमिलो भए पनि यसको आम्दानी भने निकै गुलियो हुँदो रहेछ”, उनले खुसी हुँदै भने ।

उनले भने, “पाकेका कागती टिप्दा सुन टिपेको महसुस हुन्छ ।” मासिक सरदर रु ५० हजार कागती बेचेर कमाउन सफल भएको उनको भनाइ छ । ग्राहक तथा व्यापारी घरमै आएर कागती लैजाने गरेका छन् । खपत नभएका बेला कहिलेकाहीँ तरकारी तथा फलफूल मण्डीमा पुर्याउनुपर्ने भए पनि खासै बजारको समस्या नभएको उनले बताए । उनले भने, “अन्य फलजस्तो केही दिनमै सड्ने, बिग्रने, चराले बारीमै सखाप पार्ने समस्या हुँदैन ।” खेती सजिलो छ, हेरचाह पुगे विदेशमा कमाइ हुने पैसा कागतीले यही दिन्छ ।

कागती खेती गर्नु अघि उनी हार्डवेयरको व्यापार गर्थे । हार्डवेयरको व्यवसाय छाडेर तरकारी खेती, मकै खेती गरेका उनी र उनको परिवार अहिलेको व्यवसायबाट सन्तुष्ट छ । यो व्यवसायलाई बढाएर एक बिघा पुर्याउने लक्ष्य उनको छ । उनले सम्झे, “पहिला मैले यो व्यवसाय गर्दा मलाई गाउँलेले काँडाघारी बनाउन थाल्यो भने । अहिले कृषि कर्म गर्नुपर्छ भन्ने सबैमा परेको छ ।” उनलाई पहिला बुद्धि बिग्रिएको भनियो भन्दै स्थानीय शोभाकर कँडेल अहिले व्यावसायिक रुपमा खेती गर्नुपर्छ भन्नेमा पुगेको बताउछन् । उनले भने, “हामीले पहिला नहुने काम गर्दै हुनुहुन्छ भनेका थियौँ । अहिले उहाँकै प्रगति देख्दा खुसी लागेर आउँछ ।”

अहिले उनले गरेको व्यवसायलाई कृषि अनुसन्धान निर्देशनालय लुम्ले कास्कीले अनुसन्धान केन्द्रको रुपमा विकास गरेको छ । केन्द्रका प्राविधिक अधिकृत (बागबानी) रेशमबहादुर बस्नेतले यहाँको उत्पादन भण्डारण क्षमताको अनुसन्धानका लागि काम भइरहेको बताए । यहाँ उत्पादित कागतीलाई स्याङ्जामा लगेर स्टोर गर्ने गरेको उनले भनाई छ । अहिले यसको भण्डारण क्षमता १० देखि १५ दिनको भए पनि यसलाई अझै कसरी बढाउन सकिन्छ भन्ने विषयमा अध्ययन सुरु गरिएको उनले बताए ।

केन्द्रले नेपालमा यही फार्ममा मात्रै अध्ययन सुरु गरेको उनले जानकारी दिए । कागती बहुगुण भएको सुन्तला प्रजातिको फल हो । भिटामिन सी प्रशस्तै पाइन्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन सघाउने भएकाले कोभिड–१९ को पहिलो र दोस्रो चरणका बेला कागतीको खपत निकै बढेको थियो । मोटोपन घटाउन, मुटु, रक्तचाप, पत्थरी नियन्त्रण गर्न, छालाको सौन्दर्य बढाउन कागती उपयोगी मानिन्छ । हरेक दिन कागती पानी पिउनु स्वास्थ्यका लागि राम्रो मानिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *