रिबन

एमालेको देशव्यापी वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेकपा एमालेले करिब ६ हजार वडामा अधिवेशन सम्पन्न गरेको जानकारी दिएको छ ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बाढी, पहिराका कारण केही जिल्लाबाहेक करिब ६ हजार वडा कमिटीको अधिवेशन शनिबार सम्पन्न भएको जानकारी दिए । देशभर रहेका ६ हजार ७४३ वडामध्ये ६ हजारजतिमा अधिवेशन सकिएको र तथ्याङ्क आउने क्रम समेत जारी रहेको उनले बताए ।

एमाले विधानअनुसार वडा कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित ३१ जना निर्वाचित हुने व्यवस्था रहेको छ । गाउँपालिका र नगरपालिकामा ३१ सदस्यीय कमिटी, उपमहानगरपालिकामा ४१ सदस्यीय कमिटी र महानगरपालिकाका वडा कमिटीमा ५१ सदस्यीय कमिटी निर्वाचित हुने विधानको व्यवस्था रहेको छ ।

एमालेको विधान अधिवेशन पारित गरेको नयाँ विधानअनुसार वडा कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य रहने व्यवस्था गरेको छ । वडा अधिवेशनको उद्घाटन भने अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रुपमा गरेका थिए ।

मंसीर १० देखि १३ गतेसम्म चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको एमालेले कात्तिक ९ गते पालिका अधिवेशन गर्ने निर्णय गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *