रिबन

ती गिरिजा,यी देउवा

प्रधानमन्त्री शेरवहादुर देउवाको तुलना अचेल गिरिजाप्रसाद कोइरालासँग हुन थालेको छ ।

गिरिजाप्रसाद कोइराला देउवाका राजनीतिक गुरु पनि हुन । उनले नै प्रथम पटक गृहमन्त्री र पछि प्रधानमन्त्री देउवालाई बनाएका हुन । थोरै बाेल्ने र निर्णय गर्ने देउवाको शैली कोइरालासँग मिल्दोजुल्दो छ । कुरा यति मात्र होइन,देउवा अहिले पाचौं पटक प्रधानमन्त्री भएका छन । कोइराला पनि पाँच पटक प्रधानमन्त्री भएका थिए । कोइराला तीन पटक पार्टी सभापति भए र देउवा पनि दुई पटक सभापति भइसकेका छन भने तेस्रो पटक सभापति हुने तरखरमा छन ।

माओवादी शान्ति प्रक्रियामा आउनु अघिसम्म गिरिजाप्रसाद कोइराला नेपाली राजनीतिमा राम्रो नाम थिएन । उनलाई धेरै मानिसले खराव नै ठान्थे । तर,जब शान्ति प्रक्रिया आरम्भ भयो र माओवादी शान्ति प्रक्रियामा आए तब कोइरालाको उचाई अचानक वढयो । राजनीतिक शक्ति क्षयीकरण हुने र पुन आर्जन गर्ने कोइरालाको इतिहास हेर्दा देखिन्छ । यहि कारण उनको देहान्त हुदा मानिसहरुको ओइरो लागेको थियो । दैनिक सयौं मानिसको लाश देख्नुपर्ने बाध्यता हटेर गयो अनि नेपाल आजको ठाउँमा आइपुग्यो । त्यस्ता गिरिजाप्रसादसँग देउवाको तुलना कसरी हुन सक्छ ?

तर,पार्टी र सरकारको नेतृत्व गरेको नाताले देउवाले कोइरालाकै जति नै स्थान पाइसके । तर,कोइरालाको जस्तो नाम भने कमाउन सकेका छैनन । हुनत कोइराला ७५ वर्ष पुरा भएपछि मात्र राजनीतिमा पुन: नाम आर्जन गर्ने बाटोमा हिडन सफल भएका थिए,देउवा आज सोही ठाउँमा छन ।

देउवा पाचौं पटक प्रधानमन्त्री भएका छन । हिजोको कोइरालाको उमेरमा देउवा आज छन । चार पटक प्रधानमन्त्री हुदासम्म अनेक वदनामीका दाग वोक्नु परेका देउवाले पाचौं पटक मिलिजुली सरकारको नेतृत्व गर्दा भने आफुलाई अलि फरक देखाउन थालेका छन । कोइराला जस्तै असाध्यै कम बाेल्ने देउवाको स्वभावै छ । छोटो र सुत्रमा उनी वोल्छन ।

यस्ता देउवाले तीन महिना लगाए मन्त्रीपरिषद बनाउन भन्ने बाहेक सरकार वनेपछि देशलाई अप्ठयारामा पार्ने अर्को काम गरेका छैनन । अर्थात उनी ठूलो आलोचनाको शिकार हुनुपरेको छैन । यो भनेको नै देउवाले फुकी फुकी पाइला चालेको संकेत हो । देउवा पाचौं पटक वालुवाटार प्रवेश गरेपछि पाएको पहिलो प्रशंशा हो–राष्ट्रिय योजना आयोगको उपाध्यक्ष चयन । विश्व पौडेललाइ योजना आयोगमा लगेपछि उनले प्रशंशा पाए । यसअघि चाहि उनले पार्टी प्रवक्तामा विश्वप्रकाश शर्मालाई चयन गरेर प्रशंशा पाए । यहाबाट उनले राम्रा मान्छे चयन गर्न थाले भनेर मानिसले देउवालाइ ध्यानपूर्वक हेर्न थाले ।

यो क्रम अहिलेलाई तीन जना राजदुतको नाम चयन गरेको अवस्थासम्म आइपुगेको छ । अमेरिका,वेलायत र भारतमा राजदुतको लागि जुन मानिसको नाम देउवाले सिफारिश गरेका छन,यसले उनीमा अलिकति भएपनि गम्भीरता बढेको देखिन्छ । किनभने श्रीधर खत्री,ज्ञानचन्द्र आचार्य र शंकर शर्मामा खोट लगाउने मानिस कम भेटिएका छन । उनले यो काम त्यतिवेला गरेका छन,जतिबेला उनी बेलायत यात्राको तयारीमा थिए । नेपालमा प्रधानमन्त्री भएपछि पहिलो भ्रमण भारतबाट गर्ने चलन नै थियो । यो चलन पनि देउवाले लामो समय पछि व्रेक गरेका छन । उनी बेलायत गएर भारत जाने तीर्थाटनको चलन व्रेक गरिदिए । यसलाई पनि उनी बदलिएको संकेत मान्न सकिन्छ । कतिसम्म भने त्यही बेलायत यात्रामा जादा पनि उनले भिभिआइपी कक्षको प्रयोग नगरि साधारण कक्षको प्रयोग गरेका छन । यसले पनि बदलिएको संकेत दिएको छ ।


देउवाले यसवीचमा वदनामको सामना गर्नुपरेको भनेको मन्त्रीपरिषद बनाउन गरेको ढिलाई र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटामा गजेन्द्र हमाललाई मन्त्री बनाएको आरोप नै हो । देउवाले यसलाई अस्वीकार गरेका छन र रोचक पक्ष चाहि हमाललाई मन्त्री बनाएको तेस्रो दिनमा नै देउवा स्वयमले पदबाट हटन अनुरोध गरे अनि हटे पनि । यसमा भन्नै पर्ने हुन्छ कि आरोप लागेपछि पनि जिरिह गर्ने अघिल्ला प्रधानमन्त्री केपी ओलीको बानी थियो भने देउवाले गलत भन्ने थाह पाएपछि पछि हटे । उमेश श्रेष्ठलाई मन्त्री बनाएको विषयमा पनि उनले गठवन्धनमा माफी मागेका थिए ।


यसरी देउवाले आफू बदलिएको संकेत दिएका छन तर राजनीतिक जीवनको उत्तरार्धमा उनी फेरि सभापति हुन किन खोजिरहेका छन ? कांग्रेस भित्रकै प्रतिपक्ष वामदल फुटेको अवस्थामा देउवा हटाउन सके पार्टीले चुनाव जितेको जश लिन पाइन्थ्यो भन्ने सोचिरहेका छन । र,देउवालाई सदाकालकाे असक्षम भन्न पाइन्थ्याे भन्ने दाउमा छन।यता, देउवा भने सानाे दल भएर पनि अनेक तरहबाट प्रधानमन्त्री मात्र भएनन,सात मध्ये सातै प्रदेशमा सरकारमा पार्टी प्रवेश गराउन समेत सफल भएका छन। सातै प्रदेश गुमाएकाे कांग्रेसले चुनावकाे मुखमा सरकारमा जाँन पाउदाकाे फाइदा कांग्रेसजन बाहेक अरूलाइ के थाह हाेला र ? तैपनि कांग्रेसकाे प्रतिपक्षले चितवनबाटै उदघाेष गरे-प्रचण्ड र माअेावादीलाई पस्न दिदैनाैं ।अर्थात,कांग्रेसकाे वामपार्टीसँगकाे सम्वन्ध विगार्ने र गठवन्धन भाँडने दाउमा नेकपा एमाले भन्दा बढता सक्रिय यतिवेला नेपाली कांग्रेसकै प्रतिपक्ष लागेकाे छ। यसाे भएमा देउवा थप असक्षम र असफल हुन्थे भन्ने उनीहरूकाे मुल्यांकन छ। तर,पहाडतिर एउटा उखान छ-सपांगले अरूलाई गाली गर्छ तर लाटाे अपांगले वावुलाई गाली गर्छ। कांग्रेस अहिले यहि राेगकाे शिकार भएकाे छ। तर देउवा भने हारेकाे पार्टीलाई प्रदेशदेखि केन्द्रसम्म सत्तामा ल्याउन सफल भएपछि अब पुन सभापति भएर पार्टीलाई पुरानै अवस्थामा फर्काएर राजनीतिक विश्रामको वाटोमा जाने सोचमा छन ।

यहि सोचमा आएको अन्तरले कांग्रेस अहिले पार्टी नभई माेर्चाहरूकाे महासंघ जस्ताे भएकाे छ। उसैपनि भनिन्छ-अभागीलाई खाने वेला रिस उठछ। कांग्रेसलाई चुनावकाे वखतमा कुमति र कुवुद्धिले वास नगराेस।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *