समाचार

गाउँमा कसैको घर पहिराले पुर्यो, आगोले जल्यो, दुःखको सहारा ‘धर्मभकारी’

पर्वत । गाउँमा कसैको घर पहिराले पुर्यो, आगोले जल्यो वा सुत्केरी व्यथा लागेकालाई आर्थिक अभावमा अस्पताल पुर्याउन सकिएन भने फलेवास नगरपालिका–८ ठानामौला र आसपासका सर्वसाधारणहरू स्थानीय धर्मभकारीमा पुग्छन् ।

तत्कालीन समयमा गाउँमा वन नभएको अवस्थामा वृक्षरोपण गरी लोसेको वन संरक्षणका लागि वनका हेरालु राख्न स्रोत नभएकाले गाउँले मिली कोदो उठाएर ‘धर्मभकारी’ स्थापना गरेका थिए । अहिले सो धर्मभकारी सबैका लागि साहारा बनेको स्थानीयवासी श्यामबहादुर कुँवरले जानकारी दिएका छन् । धर्मभकारीमा रहेको अन्न प्रायः जेठ महिनामा बाँडिने हुँदा मङ्सिरसम्म भकारी खाली रहने र मङ्सिरमा सबैले अन्न फिर्ता गर्ने हुँदा भरिने गर्दछ । अन्न धेरै भएका अवस्थामा गाउँलेको भेलाले बिक्री गर्ने परम्परासमेत रहेको पाइन्छ । ठानामौलाका साविक वडा नं ३, ४ र ५ का गाउँले मिलेर सञ्चालन गरेको ‘धर्मभकारी’ दुःखका बेला सहारा बन्दै गएको छ ।

स्थानीयवासी रत्नबहादुर गुरुङका अनुसार चार÷चार मना अन्न सङ्कलन गरेर सुरुआत गरेको भकारीमा अहिले ४० मुरी अन्न पुगेको छ । वि.सं २०५८ मा स्थापना भएको यो भकारी अहिले स्थानीयजवासी विपन्नको सहारा बनेको गुरुङले बताएका छन् । भकारी स्थापना भएदेखि नै ठानामौला र आसपासका बासिन्दाले हरेक बाली पाकेपछि आफ्नो क्षमताअनुसारको अन्न यहाँ ल्याएर जम्मा गर्छन् । जम्मा गरेको अन्न गाउँमा जोसुकैलाई विपद् परेका बेला दामासाहीले बाँडिन्छ । अन्नमात्रै होइन, यहाँ पुग्ने जोसुकैले पनि आफ्नो गच्छेअनुसारको रकमसमेत दान गरेर फर्किने गरेका छन् ।

सहयोगवापत सङ्कलन भएको अन्न र अन्य सामान समस्या पर्नेलाई सहयोग गर्दै आइरहेका छन् । ‘अन्नभकारी’मा सहयोग गर्ने दाता पनि पछिल्लो समय बढ्दै गइरहेको उनले बताएका छन् । ‘धर्मभकारी’मा एक व्यक्तिले हरेक वर्ष पाँचदेखि १० पाथी अन्न नियमित दान गर्छन् । गाउँमा कतैकतै मात्र सुन्न पाइने ‘धर्मभकारी’ले साँच्चिकै धार्मिक काम गरेको भन्दै स्थानीयवासी पनि यसको प्रचार र सुदृढीकरणमा जुटेका छन्् ।

बर्खे खेती लगाउने समयमा घरमा अन्नपात सकिएमा गाउँले भेला भएर यही अन्न पैँचो लगेर काम चलाउँछन् भने हिउँदमा सबैले आफूले लगेको अन्नमा केही थपेर ‘धर्मभकारी’लाई फिर्ता गर्ने चलन अहिलेसम्म चलिआएको छ । धर्मभकारीबाट कोदो लाने व्यक्तिले १० पाथी कोदो लगेमा दुई पाथी थपेर मङ्सिरमा फिर्ता गर्ने गरेका छन् । भकारीबाट कोदो सापटी लगेपछि कोदो नै फिर्ता गर्नुपर्छ, पैसा तिर्न पाइँदैन । आफूले लगेको अन्न मङ्सिरमा फिर्ता गर्नुपर्ने भएकाले सदस्यले आफ्नो बारीमा कोदो फलाउनै पर्छ । यसो गर्दा स्थानीयस्तरमा कोदोखेती पनि लोप नहुने समितिका सदस्य रत्नबहादुर गुरुङको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *